Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

मान पदवीकै बेइज्जत

२५ सोमबार , भाद्र २०७५७ बर्ष अगाडि

मादपदवी इज्जत र सम्मानका लागि दिइने हो । जसले मान पदवी पाउँछन्, गर्व गरेर लगाउन्, जसले लगाएर समाजमा निस्कन्छन्, देख्ने र लगाउने दुबैलाई गर्ववोध होस् न । त्यस्तो हुनुपर्छ मानपदवी । पञ्चायतकालमा पछिल्लो समय सामाजिक सेवा कार्यका लागि चन्दा बढी दिनेलाई ठूलो तक्मा दिने प्रचलन ल्याइयो, जनस्तरबाटै यसको विरोध भयो, निन्दा गरियो र मानपदवीको बेइज्जत हुनबाट जोगाउन सुधार हुनथालेको थियो, पञ्चायत सकियो । पञ्चायत गयो, गलत परम्परा पनि गयो ।
तर, लोकतान्त्रिक परिपार्टीमा उही मण्डले प्रवृत्ति हावी भएको छ । उनै गलत व्यक्तिहरुको सिफारिस हुने र तिनैलाई मानपदवी दिने चलन चलाइएको छ । यो खोटो परम्पराको यसपाली पनि व्यापक बिरोध भएको छ । माद पदवी पाउने अपराधीका नाम देखेर आमनागरिकले नाक खुम्च्याएका छन्, यतिमात्र होइन, जसले यसपल्ट मान पदवी, अलंकार पाएनन्, ती लुकेका र लुकाइएका, देखिएका र नदेखिएका सबै प्रकारका अपराधीहरुले आगामी वर्ष राष्ट्रपति निवास शितल निवासबाट तक्मा छातीमा झुण्ड्याएर निस्कनेछन् भनेर गिज्याइएको छ ।
प्रधानन्यायाधीशबाट ५ थरि नागरिकता र कीर्ते प्रमाणपत्र भनेर निकालिएका गोपाल पराजुलीमात्र होइन, त्रिविमा अर्काको थेसिस चोरेर डाक्टर भएको आरोप लागेका तीथ खनियाँले समेत यसपल्ट छातीभरिको तक्मा लगाउन पाएछन् । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारी र हत्यारालाई बचाउने एसपी विद्यानन्द माझीलाई पनि ओली सरकारले छातीभरिको नाङ्गले तक्मा दिएछ, राष्ट्रपतिले स्यावासी दिइन् ।
राज्यले तक्मा, मानपदवी, पुरस्कार भनेको त राम्रो काम गर्नेलाई, जनसेवा र राष्ट्रसेवामा निस्वार्थ खटिएकालाई दिने हो । जसरी गरीवीको प्रमाणपत्र धनीहरुले हत्याउन सफल भए, त्यसैगरी राष्ट्रले दिने मानपदवी, अलंकार पनि अपराधी मनोवृत्ति भएकाले पो पाएछन् । यसबाट के स्पष्ट हुन्छ भने राज्यको मूल्यांकन गर्ने पदमा बसेका पदाधिकारीहरु हिंस्रक छन्, हिंस्रक प्रवृत्तिका छन् भन्ने स्पष्ट हुन्छ । प्रधानमन्त्री सुशासन र समृद्धिको भाषण गरिरहेका छन्, उनले चलाउने सकारका सञ्जाल भने अपराधी बोकेर, पालेर, तिनलाई तक्मा दिइरहेका छन्, सरकार यस्तो अपराध कर्ममा सही ठोकिरहेको छ । गृहले गर्ने सिफारिसमा पार्टीका नेताहरुका मान्छे पर्नु, प्रधानमन्त्रीले सदर गर्नु र अपराधीहरुलाई तक्मा, अलंकार दिलाउनुले प्रधानमन्त्रीको कथन गलत छ, काम गर्ने शैली गलत छ, सरकारभन्दा अपराधी मनोवृत्ति शक्तिशाली छ भन्ने देखिन्छ । जबसम्म अपराधी प्रवृत्ति यसरी राज्य संयन्त्रमा हावी हुन्छन्, तवसम्म सुशासन र समृद्धि भन्ने कुरा गफमा सिमित हुनेछ । यति कुरा प्रधानमन्त्रीले बुझ्नु जरुरी छ, प्रधानमन्त्रीले बुझ्दैनन् र कर्मचारीतन्त्रलाई घुस्याह, हिंस्रक सोच भएकाहरुलाई उनको नेतृत्वको सरकारमा हावी भइरहन दिन्छन् भने ६ महिनामा केही गर्न नसकेको ओली सरकारले आगामी दिनमा पनि केही गर्न सक्नेछैन । शक्ति दुई तिहाईको भएरमात्र केही नहुने रहेछ । मनोवृत्ति चोखो र केही राम्रो गर्छु भन्ने इच्छाशक्ति चाहने रहेछ । गफ ठूला ठूला गर्ने केपी ओली उही रित्तो भाँडो बढी बज्छ भनेजस्तोमात्र देखिए ।