Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

युवा निर्यात गरेर कहिलेसम्म देशले पेट भर्ने

२५ सोमबार , असार २०७५८ बर्ष अगाडि

हामी हरेक दिन युवाशक्ति निकासी गरेर कमाएको धनले खाद्यान्न पैठारी गरेर पेट भरिरहेका छौं । पहाड नाङ्गै छ, पहाडमा बसोबास पातलिएको छ, त्यसो त मधेसका युवासमेत विदेशीने क्रमले नेपालको खाद्यान्न भण्डार कमजोर बनेको छ । यही कारण हो, हामी आयातमुखी बनेका छौं । विगत १० महिनामा १० अर्वको चामलमात्रै किनेछ मुलुकले । यसबाहेक अन्य खाद्यान्न देखि राष्ट्रिय र जनजीवनमा आवश्यक पर्ने हरेक चिज हामी विदेशबाट पैठारी गरिरहेका छौं । हामीले निकासी गर्ने के ? उत्पादन नै नभएपछि केको निकासी ? यहीकारणले हामी युवा निकासी गरिरहेका छौं र तिनको जीवन जोखिममा पारेर देश चलिरहेको छ ।
खोला तर्ने पुल छैन, तुइनबाट आवतजावत गर्छन् आमनागरिक । साना साना बालबालिकाहरु तुइनमा तुर्लुङ्ग झुण्डिएर स्कूल जान्छन्, घा“स दाउरा गर्छन्, मेलापर्व, समाज चलाइरहेका छन् । छोराछोरी निकासी गरेर आयातमुखी अर्थतन्त्र चलाउन थालेको लामो समय भइसक्यो । ६२ लाख नेपाली विदेशमा काम गरिरहेका छन्, दिनदिनै मरिरहेका छन् । कतिको बाकसमा लाश आउ“छ, कतिले कमाइ पठाउ“छन् र घरव्यवहार चल्छ, देश चल्छ । यसरी युवा युवती निकासी गरेर घर, समाज, देश चलाउनु भनेको देशकै अपमान हो, पद्धतिकै अपमान हो, नेतृत्वकै असफलता हो।
पद्धतिले, पद्धति चलाउने संविधानले, संविधान कार्यान्वयन गर्न सक्रिय हुनुपर्ने सरकारले, सरकार निर्माण गर्ने संसदले, संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले, जनप्रतिनिधि चुन्ने जनताले समेत देशको यो गम्भीर विषयमा छलफल गर्न जरुरी छ । दोष धेरै नेतृत्वको हुन्छ, जनतलो त राम्रो काम गर भनेर प्रतिनिधि चुन्ने मात्र हो । निश्चय नै नेपाल गरिब छ र गरिब मुलुकका जनताले पार्टीका प्रतिनिधिलाई चुनाव जिताउने गर्छन् । असल को र खराव को भनेर छुट्याउन सक्ने ताकत जनताले राख्न सक्देनन् । गरिबीकै कारण धनी नेताहरुले जनतालाई दिग्भ्रमित पारेर चुनाव लटपट्याउने गर्छन् र चुनाव जितेपछि जनताप्रतिको, देशप्रतिको दायित्व निर्वहन गर्दैनन् जसले गर्दा राष्ट्रिय समस्याहरु ओझेलमा पर्छन्, राष्ट्रिय जीवनमा गर्नैपर्ने काम गर्दैनन् । यही राजनीतिक रोग हो, भ्रष्टाचार र अनैतिकता भनेको । यही भ्रष्टाचारी र अनैतिकताको रोगले गर्दा नेपाल आज युवा युवती निकासी गरेर पेट भर्ने, देश चलाएजस्तो गरिरहेका छन् । देश चल्न देश जिवन्त हुनुपर्छ, जुन देश युवायुवती निकासी गरेर दैनिकी चलाइरहेको छ, त्यो देशले गर्ने विकास भनेको अर्काले दान दिएको विकासमात्र हुनसक्छ । जो यतिबेला नेपालमा भइरहेको छ । सबै कुरा भएर पनि नेपालले मगन्ते चरित्र देखाइरहेको छ । यसको मूलकारण युवायुवती निकासी गर्नु र देशमा रोजगारीको सिर्जना गर्न नसक्नु हो । राजनीतिमा पहु“च भएकाहरुले देशलाई लखनौं लूट गर्ने अड्डा बनाउन सक्नु हो । नेतृत्व जो जिम्मेवार हुनुपथ्र्यो, लुटाहहरुको साधन बनिदिनुले गर्दा देश बर्बादीको कृष्णभीरमा पहिरोको जोखिममा  पुगेको छ । देश बचाउन, देश बनाउन युवाशक्तिलाई स्वदेशमा टिकाउन, विदेश गएकालाई फर्काउन र उत्पादनमुखी नीति लिन जरुरी छ ।