Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

प्रधानमन्त्रीको चीन भ्रमण

०४ सोमबार , असार २०७५७ बर्ष अगाडि

प्रधानमन्त्री आज चीन भ्रमणमा जाँदैछन् । देशका प्रधानमन्त्री विदेश भ्रमणमा जानुपर्छ, नेपालको स्थिति बुझाउन, नेपालको अपेक्षा जाहेर गर्न र नेपालको वैदेशिक सम्बन्ध बिस्तार गर्न पनि प्रधानमन्त्रीको विदेश भ्रमण अति आवश्यक छ । त्यसमाथि पनि दुई ठूला देशका वीचमा रहेको तरुलजस्तो नेपाल, समदूरी र समभाव विकासका लागि समेत यस्ता भ्रमणको अर्थ व्यापक हुनु स्वभाविक पनि हो । यसकारण यो भ्रमणको महत्व छ ।
पहिले तातोपानी नाका थियो, यो नाकालाई मितेरी पुलले जोडेको र खोलेको थियो । भूकम्पपछि यो नाका बन्द । यो नाका चीनले बनाइदिने र खोल्ने भएको छ । नयाँ र विकसित गर्न थालेको रसुवागडी नाकालाई चीनले अन्तर्राष्ट्रिय नाकाका रुपमा विकसित गरे पनि यो नाकालाई समेत चीनले थप सुविधासम्पन्न बनाइदिने भएको छ । प्रविधि चीनको, लगानी चीनको र यही नाकासँगै चीनले केरुङ, काठमाडौं रेलसेवा जोडिदिने अध्ययनसमेत पूरा गरिसकेको छ । सम्बन्ध सुधारको यो उदाहरण प्रशंसनीय छ ।
भारतले नाकावन्दी लगाइदिदा चीनसँग पारवहन सन्धिमात्र भएन, चीनले बन्दरगाहको सुविधा दियो र १० बुँदे सम्झौता गरेर रेल र तेल ल्याउने आधारसमेतको सुविधा नेपाललाई दिएको छ । चीनले नेपाललाई सहयोग गरेको छ, सहयोग अन्य मुलुकहरुले पनि गरेका छन् तर चीनको परिणाममुखी सहयोग नेपालले बिर्सन सक्दैन । खासगरी चीनको वान बेल्ट वान रोडको अवधारणालाई सार्थक पार्न नेपालले समर्थन गरेको छ र चीनले पुरानो सिल्करोडलाई आधुनिक स्वरुपमा ढाल्न जुन योजना ल्याएको छ, नेपाल त्यसको समर्थक मुलुक बनेको छ । यद्यपि भारत र भुटानले यसमा सहमति जनाएका छैनन् र बाँकी विश्व चीनको यो महत्वाकांक्षी योजनामा सहभागी भएका छन् । अव हेर्नुछ, चीन यस योजनामा विश्वलाई कसरी जोड्नेछ ।
नेपाल पछि परेको कारण कनेक्टिभिटी नभएर हो । नेपालमा पानी र प्रकृतिको सुन्दरता कति छ छ । नेपाल इतिहास, भूगोल, प्राकृतिक सम्पदामात्र होइन, धर्मसंस्कृति र परम्पराले पनि धनी छ । यही धनलाई सदुपयोग गर्नसके नेपालको उन्नति कसैले रोक्न सक्दैन । तर सहज कनेक्टिभिटीका कारण नेपाल कहिले नाकावन्दीमा, कहिले सीमा अतिक्रमणमा, कहिले सीमा र अन्य विवादमा अल्झिरहनु परेको छ । राजनीतिक अस्थिरताका कारण पनि यही नै हुनपुगेको छ । अव राजनीतिक स्थायित्व दिन सकिने भएको छ । स्थिर सरकार आएको छ । स्थिर सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री चीन भ्रमणमा निस्कन लागेकाले पनि यो भ्रमण बढी प्रभावशाली हुनसक्ने देखिन्छ ।
कनेक्टिभिटीको अभावका कारण नेपाल परजीवी, आयातमुखी र व्यापारघाटामा उकुसमुकुसिएको छ । नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी, निर्यातमुखी र व्यापार विविधिकरण गर्नका लागि समेत अव सरकार वाह्यजगतका साथ सकारात्मक सहभागितामा लाग्नुपर्छ । सिंहदरवार गाउँसम्म पुगेकाले तिनलाई प्रभावकारी पार्ने र केन्द्र सरकार आर्थिक उन्नतिमा लाग्ने हो भने प्रगति सम्भव छ । चीन वर्तमान विश्वको प्रभावशाली आर्थिक, सामरिक शक्ति हो । चीनसँगको सम्बन्ध विकासले व्यापार बिस्तार, आर्थिक उत्पादकत्व बृद्धिका साथ लगानी बिस्तार तथा अन्य मुलुकसम्मको पहुँच सहज हुनसक्छ । यसकारण पनि प्रधानमन्त्रीको चीन भ्रमण स्वागतयोग्य छ ।