
र, ६० लाख युवायुवती बाँच्नका लागि रोजगारी खोज्दै विदेशीएका छन् । तिनलाई नेपालमा फिर्ता ल्याएर रोजगारी दिने योजना के छ ? उडेर विदेश गएकाहरु हरेक दिन बाकसमा बन्द भएर फर्किरहेका छन्, खानलाई यसरी मर्नु पर्छ कि पर्दैन ओलीजी ? जहानबच्चा पाल्ने सपना बोकेर रोजगारी खोज्दै विदेशीएका युवाहरुको बेहाल विदेशमा पनि छ, कति जेलमा छन्, कति यौन र श्रम शोषणमा परेका छन् । राज्यले राजदूत बनाएर पठाएका व्यक्तिहरुले आफ्नो जिम्मेवारी पूरा नगर्दा धेरै युवायुवती दलालको फन्दामा परेर अनावश्यक दु:ख पाइरहेका छन् ।
प्रधानमन्त्री कसैले माँगेर खान पर्दैन भन्ने, युवायुवतीहरुले गरेर पनि खान पाएनन् । खानका लागि मरिरहेका छन् । तिनलाई अकालमा मर्न नपर्ने बन्दोबस्त गर्न ओली सरकारले कुनै निर्णय गरेको प्रकाशमा आएको छैन, यति राम्रो भाषण गर्ने प्रधानमन्त्रीले राम्रो कामको सुरुआत गर्दा हुन्थ्यो, उनी सिंहदरवारमै रंगमगिएका छन्, भाषणमा भुलेका छन् ।
संविधान कार्यान्वयन, सुशासन र सम्बृद्धिको कालिगडका रुपमा देखिएका छन् केपी ओली । भ्रष्टाचारले थलथल पारेको शासन र समाजालाई मुक्ती दिलाएर निराशामा आशा जगाउने कर्तव्यको बोझ बोकेका छन् ओलीले । चीनमा सिजिन पिङले ओविओआरसहितका विश्वपरिवर्तनका सम्भाबनाहरु बोकेर अगाडि सरेका छन् । नेपालमा कम्युनिष्ट पार्टी शक्तिशाली बनेर उदाएको छ र परिवर्तन हाम्रो लक्ष्य भनेका छन् । त्यो परिवर्तन युवायुवतीलाई देशमै गरिखान र खानका लागि मर्न नपर्ने वातावरणको सिर्जना गरिदिनु हो ।
एउटा खड्ग, विकृति र बिसंगति काट्न सक्ने, अर्को पुष्प देशलाई बगैंचा बनाउन सक्ने ताकत राख्छन् । यो ताकत स्वार्थ त्यागेर राजनेता बन्नेतिर लगाउन उनीहरु उद्दत भएकै हुन् भने देश परिवर्तन हुन्छ । त्यसको संकेत भाषणमा देखियो, अव काम गरेर देखाउनु पर्छ । अहिलेसम्म नेतामा विश्वास गरिहाल्न जनता तैयार छैनन्, तर ओली र प्रचण्डले जुन उत्साह जगाएका छन्, यो संयुक्त प्रयत्नमा कसैले अमिलो निचारेर फटाउन नसकोस् र यिनले तत्काल आफ्ना उद्देश्यमा खरो उत्रने प्रयास गरे भने सकारात्मक नतिजा आउन सक्छ, जनविश्वास बढ्नसक्छ । चुनाव त गुण्डाले पनि जित्यो, अपराधीले पनि जिते, सज्जनले पनि जिते । चुनाव जित्नु जनआस्था होइन, जनआस्था आर्जन गर्नका लागि राम्रो काम गर्नैपर्छ र काम गर्नका लागि यी दुईजनासँग, दुई पार्टीका साथमा जनबलको कुनै कमी छैन । त्यो जनबल कार्यरुपमा उतार्नु जरुरी छ ।
स्वावलम्बन र आत्मनिर्भरता बिना माँगेर खाने बाध्यता रोकिन्न । स्वावलम्बन र आत्मनिर्भरताका लागि योग्यता र क्षमताको कदर हुनुपर्छ, गरिखाने वातावरण बनाइदिनुपर्छ । सरकार जनताको हो, जनताको अपेक्षा पूरा गर्ने कर्तव्य हाम्रो हो भन्ने बुझ्नासाथ परिवर्तन देखिनथाल्छ ।