
सबैलाई थाहा छ, १२ अर्बको बजेट भएको नेपालको ९ खर्बभन्दा बढी त व्यापार घाटा नै छ । यसको अर्थ उत्पादन र निकासी छैन, आयातमुखी अर्थतन्त्र छ । आयातमुखी अर्थतन्त्र भएको मुलुकको प्रतिव्यक्ति आय कसरी रातारात हजारौं डलरमा पुग्नसक्छ ? लाटोले पनि नपत्याउने कुरा गरेर सरकारले अन्तर्राष्ट्रिय समुदायलाई छक्याउन खोजेको ?
रोजगारी छैन । उद्यम, व्यवसाय साँघुरिदैछ । युवायुवती वैदेशिक रोजगारीमा जानका लागि लामवद्ध छन् । रोजगार मन्त्री अव चीनलाई समेत युवायुवतीलाई काम देउ भनेर वैदेशिक रोजगारीको खोजिगर्न थालेको छ । यस्तो सरकारले प्रतिव्यक्ति आय बढेको छ भनेर खोक्नुको अर्थ छैन । नेपालीको यथार्थ आर्थिक स्तर साह्रै तल झर्दैछ ।
त्यसमाथि कृषि उत्पादनसमेत खस्केको छ । सिंगो पहाड नांगै छ, खेती गर्ने श्रमशक्ति नै छैन । पहाडमा बुढाबुढी र केटाकेटीमात्र छन् भने मधेसका युवाहरु पनि धमाधम विदेशीन थालेका छन् । मधेसमा पनि श्रमशक्तिको कमी हुन थालिसकेको छ । वर्षको ९ अर्वको चामले किन्नुपर्नै मुलुक बनिसक्यो । यस्तो मुलुकको आर्थिक प्रगति ओह्रालो लाग्दैछ र सरकार भन्छ– प्रतिव्यक्ति आय हजार डलरबाट नाघिसक्यो ।
अर्थविदहरु आर्थिक सूचकांक सकारात्मक छैनन्, अतासलाग्दो नकारात्मक देखिन्छ । समष्टिगत आर्थिक सूचकांकहरू सीवीएसद्वारा नेपालीको प्रतिव्यक्ति आय बढेर १४ सय डलर पुगेको दावी गरिएको छ । यो तथ्यांकको होइन, मिथ्यांकको चमत्कारबाहेक केही पनि हुनसक्दैन । जब देशका अधिकांश समुदाय विहान खाए, साँझ भोकै सुत्छ, साँझ खाए विहान भोकै काममा जान्छ । शिक्षा र स्वास्थ्यको स्थिति पनि नाजुक छ । भूकम्पग्रस्त समुदाय ३ वर्षपछि पनि च्यातिएको त्रिपाल र प्वाल परेको जस्तामुनी बाँचिरहेका छन् । उद्योगधन्दा, बन्दव्यापारमा कुनै परिवर्तन आएको छैन । यो स्थितिमा, यस्तो भोकानांगाको मुलुकमा सरकारले हावादारी गफ गरेर प्रतिव्यक्ति आय बढ्यो भन्नु भ्रममात्र हो ।
हुनसक्छ, केही नवधनाध्य जन्मेका छन् । राजनीति र जागीरदारहरु नवसामन्त बनेका छन् । राष्ट्र बैंकका अनुसार चलनचल्तीमा पठाएका नोटहरु बजारबाट गायब छन् । केही व्यक्तिको हातमा अर्थतन्त्र छ, तिनैले अकूत सम्पत्ति कमाएका छन् । एउटै डालोमा हुनेखाने केही र हुँदा खाने अधिकांशलाई हालेर प्रतिव्यक्ति आय बढ्यो भनेको होला, यो गलत छ ।