
हाम्रा प्रधानमन्त्री ओलीले दिल्ली भ्रमण गर्दा सीमाका समस्या उठाएनन् । ३६ हजार हेक्टरभन्दा बढी नेपाली भूभाग भारतले अतिक्रमण गरेको छ, दिनहुँ भारत पस्ने र नेपाल फर्कने नेपालीलाई सीमामा लुट्ने गरिएको छ, सीमा अतिक्रमण गर्न रोक्ने किसान सप्तरी तिलाठीका देवनारायण यादव हुन् कि कैलालीका गोविन्द गौतम, सबैमाथि भारतले दमन नै गर्यो, गोविन्दको हत्या नै गर्यो । तैपनि नेपालका प्रधानमन्त्रीले दिल्लीको स्वागत स्वीकार गरेपछि सम्बन्ध सुधार भयो, अव समस्या छैन, कसैले यो सुध्रेको सम्बन्ध बिगार्ने काम नगरोस् भनेर पनि भने ।
राम्रो सम्बन्ध सुध्रनुपर्छ । सम्बन्धका नाममा नेपालमाथि भारतीय दबदबा हुनुहुन्न । समानताको व्यवहार हुनुपर्छ । नेपाललाई दिनुपर्ने सुविधा भारतले दिनुपर्छ र नेपाललाई कमसल मालको बजार र फोहर फाल्ने कन्टेनर बनाएर नेपालका प्राकृतिक स्रोत साधनको शोषण गर्ने नीतिमा सुधार आउनुपर्छ । समस्या दुई देशवीचका सीमामा छ, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपाल मुठ्ठीमा राख्ने भारतको कूनीयतमा छ, त्यो कूनीयत सुध्रनुपर्छ । सुध्रेको सन्देश दिनुपर्छ । मोदीले संघीय संसदमा संवोधन गर्नेदेखि जनकपुरमा नागरिक अभिनन्दन हुनेसम्मका योजना बनाएको छ । मोदीको भ्रमण तीर्थयात्राको आवरणमा नेपालमाथि दबदबा कायम गर्ने कूनीयतमा साँघुरिनु हुन्न, उदारता देखिनुपर्छ ।
यसकारण ओली आफूलाई राष्ट्रवादी, सुशासन र समृद्धिवादी देखाउन चाहेका छन् । त्यो प्रष्ट रुपमा देखिने देखाउने अवसर छ ओलीलाई । यही मौका हो, भेटवार्ता, वान टु वान वार्तामा मोदीका सामु लम्पसार नपरी नेपाली माटोमा उभिएर कुरा गर्नुपर्छ । नेपालले गुमाएका भूभागका बारेमा र स्वाधीनतालाई सम्मान गर्ने सवालमा मोदीलाई गलाउनुपर्छ ।