
कुरो रेलमार्गको छ, जलयातायातको छ । भान्सा भान्सामा ग्यास पाइप जोड्नेदेखि विजुली बेच्नेसम्मको छ । तर, सामान्य नागरिकले सामान्य विषयको सेवा लिन असामान्य समस्याहरुको सामना गर्नु परिरहेको छ । भ्रष्टाचार यसरी संस्थागत भइसकेको छ कि भ्रष्टाचारीले टाउको उठाएर हिड्छ, छाती ठोकेर भ्रष्टाचार गर्छ र हाजमोलाजस्तो जे खायो पचायो भन्ने तिनको मनस्थिति रहेको देखिन्छ । भ्रष्टाचारीले कत्ति पनि लज्जाबोध गर्दैन । भ्रष्टाचार गर्न पनि हिम्मत चाहिन्छ, बुद्धि चाहिन्छ भन्ने खालको वातावरण पो छ त देशमा । यस्तो भ्रष्टाचारी हावा सिंहदरवारदेखि गाउँपालिका तहसम्म फैलिएको स्थितिमा प्रधानमन्त्री सुशासन र समृद्धिको सपना देखिरहेका छन् । यही सपना साकार पार्न उनी भारत भ्रमण गरेर फर्किए, अव चीन जाने तरखरमा छन् ।
सुशासन र समृद्धिको सपना विदेश गएर पूरा हुने होइन । सबैभन्दा पहिले सिंहदरवार बढार्नु पर्यो । हरेक मन्त्रालयमा हुने नीतिगतदेखि पुँजीगतसम्मका भ्रष्टाचारका प्वालहरु थुन्नुपर्यो । डुंगामा प्वाल परिसकेको छ, प्वाल नथुन्ने हो भने पञ्चायत र बहुदल डुबेजस्तै लोकतन्त्र पनि भ्रष्टाचारको समुद्रमा डुब्छ । देश बनाउन, देश बचाउन र पद्धतिलाई राष्ट्रिय जीवन पद्धति बनाउनका लागि भ्रष्टाचारको जरा काट्नुपर्छ । हाँगा छिमोलेर केही हुनेवाला छैन, एउटा वर्षा गएपछि फेरि भ्रष्टाचारको रुखमा हाँगा पलाइहाल्छ । भ्रष्टाचारको जरो निकाल्ने प्रयत्न नै सुशासन र समृद्धिको पहिलो जग हुनेछ । जबसम्म भ्रष्टाचारका जराहरु रहन्छन्, यो देशमा कुनै पनि पद्धति बसाल्न र सुशासन कायम गर्न सकिनेछैन । समृद्धि त माफियाको, भ्रष्टाचारीको भएकै छ, भइरहनेछ, यो ऐंजेरुले देशलाई यसैगरी खाइरहनेछ, मारिरहनेछ, सिध्याइरहनेछ ।
भ्रष्टाचारको जंगल सबैभन्दा ठुलो चुनौती हो । पार्टी पार्टी गठबन्धन गरेर चुनाव जित्नु, सरकार बनाउनु, पार्टी एकीकरण नै गर्नेतिर लाग्नुले राष्ट्रिय राजनीतिमा केही तरङ्ग त उत्पन्न गर्ला, सुशासन र समृद्धिको सपना जो छ, त्यसका लागि सकारात्मक असर गर्नेछैन । देश बनाउने र इतिहास पुरुष अर्थात राजनेता बन्छु भन्नेले जो कोहीले सबैभन्दा पहिले भ्रष्टाचारको जरा काट्न तैयार हुनुपर्छ । त्यति त्याग गर्ने नेता अहिलेसम्म राजनीतिमा देखिएको छैन । हालका प्रधानमन्त्री केपी ओलीले नाफाको जीवन बाँचिरहेको र बाँचुन्जेल देश र जनताको सेवामा लाग्छु त भनेका हुन्, सुशासन र समृद्धिलाई आफ्नो मूल लक्ष्य घोषणा पनि गरेका हुन् तर लक्ष्य हासिल गर्न अर्जुन दृष्टि चाहिन्छ, त्यो अर्जुन दृष्टिले देखेको भ्रष्टाचारको दलदललाई सफा गर्ने सुरुआत उनले गर्न सकेनन् । उनको समय सिंहदरवारदेखि राराको किनारसम्म पुगेर आफ्नो लालसूर्य फिल्म बनाउन केन्द्रित देखिन्छ, चन्द्र सुर्य अंकित झण्डा उठाउने प्रयत्न देखिदैन ।