
यसकारण त बेलायतमा लिखित संविधानको अर्थ छैन किनभने उनीहरु संविधानलाई भन्दा नैतिकतालाई महत्व दिन्छन् । समाजमा नैतिकताको स्थान उच्च छ, कसैले औंला ठड्याउँछ कि भन्ने भयले गर्दा सबैलाई नैतिक बन्धनमा बस्न बाध्य पारेको छ, जसको कारण नैतिकता नै विधान बनेको छ, नैतिकताको स्थान सबैभन्दा उच्च छ ।
हाम्रो देशमा समस्या भनेकै नैतिकतालाइ हाँसोमा उडाउने र जति अनैतिक बन्नसक्यो, उति उसको पूजा हुने नजीर बसेको छ । एउटा व्यक्ति भ्रष्टाचारमा डामिएर जेल बस्छ र फर्कदा उसको गलाभरि माला पहिर्याइन्छ । बाजागाजासहित उसको स्वागत गरिन्छ । जापानमा एउटा व्यक्ति भ्रष्टाचारमा पोलियोमात्र भने पनि उसले हाराकिरी गर्छ । उसलाई थाहा छ, समाजमा उसप्रति घृणा फैलिन्छ, जुन घृणालाई बोकेर उसले जीवन बाँच्नै सक्देन । चीन आज आर्थिक प्रगतिको शिखरमा छ । त्यो चीनमा रक्सी खान अथवा विदेश भ्रमण गर्नसमेत निजी पैसा खर्च गर्नुपर्छ । भ्रष्टाचारमा लागेको व्यक्तिले मृत्युदण्ड नै पाउँछ । कोरियाका यसअघिका राष्ट्रपति महिला थिइन् र उनलाई भ्रष्टाचार लागेको छ, उनको सार्वजनिक सुनवाई हुँदैछ । उनी नैतिक पहाडले थिचिएर यति पीडित भएकी छिन् कि उनी न मर्न सक्छिन् न बाँच्न । नैतिकताको मूल्यले राजनीतिलाई सुधार्ने हो र राजनीति सबै नीतिमा उच्च भएकाले राष्ट्रलाई नैतिक मूल्यले शान्ति, सुशासन र समृद्धिको शिखरमा पुर्याउने हो ।
हाम्रो देशमा सशक्त सरकार बनेको छ । जनताले पूरा विश्वास गरेर जनादेशका साथ जनबल दिएका छन् । ओली सरकारले आफ्नो लक्ष्य ुसुशासन र समुन्नति नै हो भनेका छन् । यदि सुशासन र समृन्नति दिने हो भने यो सरकारले निरंकूश बन्न जरुरी छ । किनकि सत्ता राजनीति यति बिकृति र बिसंगतिले भरिपूर्ण छ कि यसलाई कानुनले मात्र सुधार्नै सक्दैन । मूलकुरो नैतिक आचारको बन्धनको लक्ष्मण रेखा कोर्नैपर्छ, अन्यथा भ्रष्टाचार र अनैतिकता न्यूनिकरण गर्न सकिनेछैन । के प्रधानमन्त्री केपी ओली आफू नैतिक धरातलमा उभिएर आफ्नो सरकार र सरकारले गर्ने हरेक निर्णयलाई नैतिक धरातलमा उभ्याउन सक्छन् ?
जो धर्तीमा टेकेर उभिन्छ, उसैले परिवर्तन गर्नसक्छ । जो हावादारी कुरा गरेर ठूला ठूला कुरा गर्छ, ऊ पछारिन्छ । आजसम्म जे भयो, अनैतिकताले भयो, अव राम्रो गर्ने भए नैतिकशिक्षा बलियो पारौं ।