Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

चेतना र एकता किन आवश्यक छ

१९ सोमबार , चैत्र २०७४७ बर्ष अगाडि

   राष्ट्रिय धर्म हुन्छ, धर्मको नास भनेको राष्ट्रको हड्डीहाड भाँचिदिनु हो । राष्ट्रिय धर्मको नास गरिदिएपछि राष्ट्रको शरीरमात्र रहन्छ, प्राण रहन्न । प्राण त अरु धर्म, अरुको स्वार्थन्धताले लिइसकेको हुन्छ, त्यसपछि त राष्ट्र, राष्ट्रिय एकता र अखण्डतामा अरुकै हैकम चल्नेगर्छ । यसकारण जनजनमा चेतना र एकता आवश्यक छ । जातजातिको धर्मबिनास र राष्ट्रिय धर्मको नास जुन गतिमा भइरहेको छ, त्यो खतरनाक छ ।
    विकसित मुलुकहरुले धर्म, परम्परा, संस्कृति र पुरातत्व तथा ऐतिहासिक विषयहरुलाई संरक्षण गर्न लागिपरेका छन् । नेपाल धर्म, संस्कृति र ऐतिहासिक इतिहासका धरोहरले धनी छ । यो राष्ट्रिय सम्पत्ति र सम्पदाको बिनास गर्न राजनीतिक दलहरु नै जोडबलले लागेका छन् । कुनै पनि दलमा यी धरोहरहरुको संरक्षण गर्नुपर्छ भन्ने चाहना देखिदैन, सबै अग्रगमन र नयाँ नेपालका कुरा गरिरहेका छन् । सबैलाई नयाँ बनाउने भ्रम छरेर राष्ट्र लुट्नु छ, सर्वशक्तिमान देखिनु छ, यसैमा मदहोस भएर राष्ट्रिय दलहरु लागेका छन् । आमनागरिक यिनै पार्टी र नेताहरुमा विश्वास गरेर विश्वासको मतसहितको जनादेश दिएका छन् । चुनाव जित्नेहरु फेरि चितवनको ध्रुवे हात्ती बन्न थालिसकेका छन् । यसरी शान्ति, सुशासन र समृद्धि हुनसक्दैन, हुननसक्ने कुरा गरिरहेका छन् ।
    भ्रष्टाचार र अनियमितता, नैतिकहीनता र लोकाचारको ख्याल गर्न छाडिएको छ । भ्रष्ट व्यक्ति गौरवका साथ डामिन्छ, अदालतमा उभिन्छ, जेल जान्छ र धरौटीमा छुट्छ । फेरि उसमाथि कोर्रा हान्ने कोही हुन्न । पैसा सबैथोक भएको छ । पैसाको चमकमा न्याय र कानुनलाई अपराधिक मानसिकता बोकेका भ्रष्ट, अनैतिकहरुले खेलौना बनाइरहेका छन् । अदालत किन सम्मानित छैन, कानुनसँग किन अनियमितता गर्नेहरु डराउँदैनन्, यही विषयमा जनसंचेतना बढ्नु जरुरी छ । अहिलेको जस्तो कानुनलाई चलखेलको विषय बन्न बनाउन दिने हो भने कानुनीराज आकाशको फल हुनेछ ।
    बहुजाति, बहुभाषा, भौगोलिक विषमतामा मिलेर बनेको नेपालको विशेषता नै अनेकतामा एकता थियो । यतिबेला विदेशी चलखेलको गोटी राजनीतिक, नागरिक समाज र अधिकारकर्मीसमेत बनिदिएका कारण एकापसमा विश्वासको संकट बढेर गएको छ । हरेक जातिले अर्को जातिलाई शंकाको दृष्टिले हेर्न थालेको छ । आपसी भाइचारा र प्रेमको आधार खस्कदै गएको छ । राजनीतिमा अनुशासनहीनता, भ्रष्ट चरित्र र अनियमितता गर्ने लालसा बढेकाले जनसंचेतना र जनएकता बढ्न जरुरी देखिन्छ । नेताले भन्नासाथ गएर तिनैलाई मतदान गर्नु पहिले सबैले राम्रोलाई जिताउने कि भ्रम छर्नेलाई भनेर पनि सोच्न जरुरी भयो अव ।
    देशलाई शिरमा र विकासलाई मनमा राखेर काम गर्छु भन्ने सबै भए, काम कुनै नेताले गरेनन् । यो विषय अब जनसरोकारको प्राथमिकताको विषय हुनुपर्छ । संघीयता के हो, धर्मनिरपेक्षताले कस्तो दुर्भाग्य निम्त्याउन सक्छ, समानुपातिक गणतन्त्रले समानता छर्छ कि विषमता बढाउँछ, किन देश र जनताको हितमा सोच्ने, काम गर्ने र जीवन समर्पण गर्नेहरु समाजमा देखिन छाडे ? सबैलाई इजी सम्पत्ति, सत्ता, शक्ति चाहिएको होला ? यी सबै बिचार गरेर जनबल जनतामै देखिन जरुरी भयो है ।