Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

ओलीको नाफाको जिन्दगीबाट देशले सुशासन पाउला ?

१२ सोमबार , चैत्र २०७४७ बर्ष अगाडि

स्वयम् प्रधानमन्त्री केपी ओलीले म पुरै नाफाको जिन्दगी बाँचिरहेको छु भनेका छन् । उनले पटक पटक यो कुरा दोहोर्‍याएका पनि छन् । यसकारण पनि सर्वशक्तिमान प्रधानमन्त्री केपी ओलीबाट देशले ठूलै अपेक्षा राखेको छ । भ्रष्टाचारबाट मुक्ति र अराकतालाई नियन्त्रण गरेर निर्माणको स्थिति बसाल्न सके भने प्रधानमन्त्री ओली अमर हुनसक्छन् । एउटा राम्रो नेता, राजनेताको रुपमा आफूलाई स्थापित गर्न सक्छन् ।
यस्ता नेताले देश र जनताको हक अधिकारका लागि काम नगरे कसले गर्ने ? ओलीले भनेका छन्– म मेरो बुद्धि, क्ष्मता र बाँकीजीवन देश विकास र जनताको समृद्धिमा लगाउँछु । आमनागरिक, राजनीति कदलहरु र अन्तर्राष्ट्रिय समुदायसमेत ओलीको यो प्रतिवद्धतालाई चीलका आँखाले नियालीरहेका छन् । वचनका पक्का मानिएका ओलीले आफूले बोकेका कुरा पूरा गर्न गराउनतिर ध्यान दिए भने निश्चय नै देशले ठूलै फड्को मार्न सक्छ । विकासको मूल फुटोस् नफुटोस्, विकास गर्ने निश्चित विधि र ढोका खुल्नेछ । आर्थिक सम्पन्नताको मार्ग प्रशस्त हुनेछ ।
देशमा माफियाको जगजगी छ । राजनीतिलाई जग्गा, मेडिकल, कमिशन, भ्रष्टाचार गर्ने माफियाले घेरेको छ र राजनीतिमा लागेर कर्मचारीतन्त्र पनि त्यही भ्रष्टाचारको नालीकीरा बनेको अवस्था छ । मुख्य कुरो यो माफियाको जालोमा नपर्नु र यो जालो तोड्नु प्रम ओलीको चुनौती हो । माफियातन्त्रले ओली र उनको टोलीलाई फूलमालाले छोप्न थालिसकेका छन्, शुभकामना, बधाई दिदै घेर्न थालेको देखिन्छ । काम गर्ने हो भने यस्ता बधाई, शुभकामना र फूलमालाले छोपिएर हाई हाईमा लाग्नुहुन्न । केपी ओलीले यस प्रकारले समय खेर फाल्नु भनेको आफैलाई असफल र उही कानै चिरिएको जोगी बनाउनु हो जसले गर्दा ओलीले जुन अर्जुन दृष्टि राखेका छन्, त्यो कोरा साबित हुनसक्छ ।
ओलीले हेक्का राख्नुपर्छ, सवासय जाति र भाषा भएको देश हो नेपाल र यहाँ पहुँचवालामात्र छैनन्, अधिकांश जाति पहुँचहीन, सिमान्तकृत र गरीवीले थिचिएर न्यूनतम मानवाधिकारबाटसमेत बन्चित छन् । अधिकांश जातिले त सरकार छ र ? भन्ने स्थितिसमेत छ । कतिपय जाति अहिलेपनि जंगल, ओढारमा बस्छन्, अर्धनग्न जीवन गुजारीरहेका छन् । म तिनको पनि प्रधानमन्त्री हुँ भन्ने कर्तव्य र जिम्म्ेवारीवोध हुनुपर्छ, यो कुरा प्रधानमन्त्रीले कुनै हालतमा बिर्सनुहुन्न । सडकदेखि सिंहदरवारसम्म धुलो, धुवाँ, प्रदूषण छ, अनियमितता र भ्रष्टाचार छ्यापछ्याप्ती छ । विभेदमात्र छैन, आधा आकाश महिलालाई बोक्सी भनेर डाम्ने, अत्याचार गर्ने निरन्तरता पनि जारी छ । यतिमात्र होइन, सीमादेखि बिखण्डनवादसम्म, अत्याचारदेखि बिद्रोही आतंकसम्मलाई निस्तेज पार्दै देशलाई एकढिक्का पार्ने सूत्रधार बन्ने अवसर पनि ओलीका सामुन्ने छ । ओलीले म एमालेको अध्यक्ष, दुईतिहाई विश्वासले सर्वशक्तिमान छु भन्ने अहंकारभन्दा पनि सबैको साझा बन्ने र सुशासनका लागि काम गर्नु श्रेयस्कर हुनेछ ।