
ओलीले भनेका छन्– भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता रहनेछ । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै भ्रष्टाचार शून्यमा झारिनेछ । भ्रष्टाचारमा भेदभाव र संरक्षण हुन सक्नेछैन । आफ्नो नेतृत्वको सरकारको भ्रष्टाचार नियन्त्रण प्रमुख उद्देश्य हुनेछ ।
प्रधानमन्त्री ओलीले पाँच प्राथमिकताको क्षेत्र पनि तोकेका छन् । शान्ति, समृद्ध, सुशासन र सम्पन्नताका लागि कानुनी व्यवस्था, प्रशासनिक पुनसंचना, आर्थिक समृद्धिका लागि कृषिको व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीको आपूर्तिको व्यवस्था, आन्तरिक पूँजी परिचालन गर्ने र बाह्य लगानीका लागि अनुकुल वातावरण सिर्जना गर्ने प्रधानमन्त्रीका प्राथमिकताले ठूलै हौसला थपेको छ । रह्यो कुरा सरकारमा सामेल हुने अन्य दलहरुले प्रधानमन्त्रीको प्रतिवद्धतामा कति सघाउने हुन् ? सफलता असफलताको मानक त्यही विषयले निर्धारण गर्नेछ । किनभने प्रधानमन्त्री एक्लैको प्रयासले केही हुन्न, सरकार टिम वर्क हो, सफलता असफलता टिमको कृयाकलाप र चरित्रमा निर्भर हुने हो ।
मुख्य कुरो शान्तिका लागि विधिको शासन चाहिन्छ । सम्पन्नताका लागि आर्थिक अनुशासन र भ्रष्टाचार नियन्त्रण हुनैपर्छ । यी दुई कुरा गर्ने हो भने ओलीका लागि अवसर छ– हावाबाट बिजुली, चुलोचुलोमा ग्यास पाइप जोड्न नसके पनि हरेक नेपाली मनलाई सुशासनका माध्यमबाट जोड्न सकिनेछ । जनअपेक्षा पनि सुशासन नै हो । सुशासनमै शान्ति अन्तरनिहित छ, कानुनी शासन कायम हुनसक्छ । प्रधानमन्त्री ओलीले बोलेको कुरा पुर्याउन सक्ने मुख्य आधार भनेको उनी बोलेको कुरामा प्रतिवद्ध रहने गरेका छन् । महासागरमा भूपरिबेष्ठित मुलुकको जहाज चलोस् कि नचलोस्, नेपाली जनजीवन चलायमान भयो, शान्ति र काम गरेर खान पाउने भयो भने ओलीको शासनकाल निरर्थक हुनेछैन ।