वीरगञ्ज छपकैयाकै सीमा स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्म निर्माण गर्ने क्रममा भारतीय पक्षले नेपालतिर सीमा स्तम्भ सारेर ५० बिघा नेपाली भूभाग मिचेको छ । यो विषयमा सशस्त्र प्रहरी बलदेखि स्थानीय प्रशासनसम्मले सिंहदरवारलाई रिपोर्ट गरिसकेको छ तर सिंहदरवारमा ढसमस्स बसेको कांग्रेस नेतृत्वको सरकारले चुँसम्म बोलेन । कांग्रेसका सहयोगी दलहरुले पनि मुख खोलेनन् । यी कस्ता प्रजातन्त्रवादी नेता र यिनले चलाएको सरकार हो, जसले देशको सीमा मिचिदा पनि मुख खोल्न सक्दैन, जनतामा उठेको विरोधको श्वरलाई संवोधन गर्न र यथार्थ के हो भन्न सक्दैन । यस्तो सरकारले आफूलाई प्रजातन्त्रवादी भन्ने, प्रजातन्त्रको बिडा उठाउने हामी नै हौं भन्न मिल्ला कि नमिल्ला ?
हुनसक्छ, चुनाव हामीले हार्यौं, राष्ट्रिसभाको चुनावपछि सरकार छाड्ने नै हो, जो चुनाव जितेर आएको छ, उसैले बोलोस् भनेर चुप्पी साधेको हुनसक्छ । तैपनि यो चरीत्र अराष्ट्रिय चरीत्र हो र यस्तो चरीत्रले गर्दा नै जनताले नेपाली कांग्रेस र उसको लोकतन्त्रवादी मोर्चालाई विश्वास नगरेको हुनसक्छ । यस्तै हो भने विश्वासमा अझ ह्रास आउनेवाला छ ।
रह्यो कुरो २ नम्बर प्रदेशमा सरकार बनाउन तम्सेको मधेसी दलहरुको झुण्डको । उनीहरु किन नबोलेको नि ? प्रदेश सरकार बनाउन तम्सने, सीमा मिचिदा सन्चो मानेर बस्ने ? यो चरीत्र पनि भारतवादी चरीत्र नै हो र यस्तो चरीत्रले नेपालको संविधान र राष्ट्रियताको जगेर्ना गर्न सक्दैन । मधेसी दलहरुले सीमामा उभिएर नाकावन्दी गरेको क्षेत्र यतिबेला भारतले आफ्नो बनाइसक्यो, त्यो नेपाल हो भनेर मधेसी दलहरु बोल्न सक्दैनन् भने यिनको राष्ट्रियता र नैतिकतामा ठूलै भ्वाङ पर्यो भन्न अप्ठेरो मान्नुपर्दैन । मधेसी दलहरुले तत्काल आफ्नो सीमाका बारेमा के भइरहेको छ, कहाँ मिचिएको छ, यसबारेमा बोल्नैपर्छ ।
रह्यो बाममोर्चाको सवाल । आफूलाई राष्ट्रवादको पहरेदारका रुपमा उभ्याएर जनादेश पाएको हो वाममोर्चाले । नाकावन्दीमा नेपालका पक्षमा उभिएको र अमानवीय नाकावन्दीसँग लडेको सावाँव्याजसमेत चुनावी नतिजामा परिणत गरेर जितेको हो । जित्नेबेलामा राष्ट्रियताको चास्नी चटाएर चुनाव जित्ने, वीरगञ्जको छपकैयामा सीमा पिलर नै सारेर ५० बिघा नेपाली भूभाग भारतले आफ्नो बनाइसक्दा पनि वाममोर्चाले मुख नखोल्ने हो भने उसको जितलाई नेपालको जित कसरी भन्ने ? वाममोर्चामा रहेको एमाले, माओवादी केन्द्रमात्र होइन, राष्ट्रिय जनमोर्चाले समेत मुख खोलेन । कस्तो अचम्म, कम्युनिष्टहरुले देशको रक्षा र सुरक्षामा बढी ध्यान दिनेछ भनेर जुन जनआशा थियो, त्यो सरकारमा नजाँदै तुहिन पुगेको छ । नेपाली भूभाग भारतले मिचेको र अतिक्रमणको सिलसिला झन बढाएको सम्बन्धमा वाममोर्चाले मुख नखोल्नु भनेको भारतको दादागिरीलाई स्वागत गर्नु हो । अहिले नै यो स्थिति छ, वाममोर्चाको सरकार बनेपछि भारतले अरु अतिक्रमण गर्ने खतरा छ है ।