
यस्तै मुद्दा थियो, एनसेलको खरिद विक्रीमा राष्ट्रले पाउनै पर्ने ३३ अर्व लाभकर अहिलेसम्म पाउन सकेन । तर एनसेलले कमाएको पैसा लैजान पाउने सुविधा पाएको छ । यस्तै मुद्दा थियो कर छुट र भ्याट ठगी । दोषको जिम्मेवारी लिनुपर्ने कसैले पनि दण्ड भोगेका छैनन् । हो, तारेखमा छुटेका छन् । रातारात दशौं करोड धरौटी राख्ने कर्मचारी पनि देखिए । त्यो हैसियत कर्मचारीको कसरी हुनसक्छ ? प्रश्न उठेन ।
नक्कली भिसा बनाएर २ करोड ठग्ने ब्लुस्टार म्यानपावर र त्यसका सञ्चालक बिना धरौटी रिहा हुन सफल भएका छन् । हुन त बैदेशिक रोजगार विभागका महानिर्देशक समेत घूसकाण्डमा फसे, उनले दण्ड भोगेका छैनन् । यस्ता मुद्दाहरु कति छन् कति ? जसलाई कारवाही हुनुपर्ने हो, ऊ छुट्ने र जो पीडित हुन्, उनीहरु जिल्लाराम पर्नुपर्ने अवस्था नेपालका अदालतहरुमा देखिएका छन् । यसरी अदालतको मान र इज्जत, सम्मान र विश्वास कसरी बढ्ला ? यो चिन्ताको विषय हो ।
अहिले पनि जनताको आस्था अदालतप्रति छ । अदालतबाट न्याय पाइन्छ भन्ने त्यही विश्वासले कानुनी राजको गरिमा कायम रहेको छ । जुन दिन अदालतबाट न्याय पाइन्न भन्ने निष्कर्षमा जनता पुग्छन्, त्योदिन राष्ट्रको धेरै कुरा समाप्त हुनसक्छ । त्यसकारण सुशासनको आधारशिला खडा गर्न र जनताको विश्वासलाई कायम राख्न अदालतले आफ्ना क्रियाकलापमाथि पुनर्विचार गर्नैपर्छ । अदालतभित्रका बिकृति सुधारमा अदालत आफैले थालनी गर्नुपर्छ । लोकतन्त्रको आधार पनि विधिको शासन नै हो । यो जग भत्कियो भने सुशासन हराउनेछ र कूशासन र अराजकता बढ्ने छ । हामीले सुशासन खोजेका हौं र सुशासनका लागि अदालतले आफूमाथिको जनभरोसालाई मजबुत बनाओस् भन्ने अपेक्षा छ ।