शासन र प्रशासन, न्यायलयको सेवा सुलभ छैन । अत्यन्त भ्रष्टाचार र ढिलासुस्ती हुनेगरेका छन् । अव त स्थानीयदेखि प्रदेश र प्रतिनिधिसभाको चुनाव भइसक्यो, केही दिनभित्रै राष्ट्रियसभाको निर्वाचन पनि सम्पन्न हुनेछ र सत्ता हस्तान्तरण हुन्छ । जनादेश पाएको मोर्चा सत्तामा जानेछ र उसले आगामी ५ वर्षका लागि राष्ट्रको शिरोभारो सम्हाल्ने छ ।
हुन त यी तिनै पार्टी हुन्, जसले बिगत बाह्र वर्षदेखि आलोपालो शासन गर्दै आएका छन् । यिनको चर्तिकलामा कुनै चमत्कारिक कारीगरी देखिएको छैन । तथापि ताजा जनादेश लिनु पूर्व यिनले सुशासन र प्रगतिका घोषणापत्र जारी गर्दै पटक पटक प्रतिवद्धता व्यक्त गरेका हुन् । यही धरातलमा उभिएर भन्नुपर्दा आगामी दिनमा शासन, प्रशासन र न्यायसेवा सुलभ हुनेछ भन्ने आशा गर्न सकिन्छ । गर्ने नगर्ने सत्ताधारी पार्टीहरुको स्वविवेक र तिनको भविष्यप्रतिको चिन्तामा निर्भर हुनेछ ।
अहिले पनि चुनावमा बहुमत पाएको वाममोर्चाले शासन प्रशासन र न्यायसेवामा सुधार गरेन र उही स्वार्थमा लाग्यो भने चुनाव फेरि पनि आउनेछ । त्यतिबेला जसरी अहिले कांग्रेसको थाप्लोमा जनादेशको मुङ्ग्रो बजारेका छन् जनताले, त्यसैगरी अहिलेको चुनाव जितुवाको थाप्लामा पनि बजार्ने छन् । जनताले आशा, विश्वास र भरोसामा मतादेश दिएका हुन्, त्यो भरोसाको इज्जत राख्ने कि नराख्ने, त्यो वाममोर्चाको भविष्यको निर्धारक पनि हुनेछ । अहिले मौका पाएका बेलामा जनताका अपेक्षा र आशामा खरो उत्रिन सकेको खण्डमा भावी चुनावका लागि पक्का आधारभूमि तैयार हुनेछ । जनताले केही खोजेका छैनन्, शासन, प्रशासन र न्यायसेवामा सरलता खोजेका छन् । त्यति दिन पनि वाममोर्चाले सकेन र उही भ्रष्टाचार, कमिशनतन्त्र र माफियागिरी चलायो भने यो देशको भविष्य अरु ५० वर्ष पछि धकेलिनेछ । अहिले काम गर्नका लागि मागेअनुसारको बहुमत जनताले दिएका छन् । यो बहुमतमा उभिएर जस्तोसुकै खराव शासनलाई पनि असलमा परिणत गर्न र सेवामुखी बनाउन सकिन्छ । जनताको आशा त्यही हो, वाममोर्चाले काम गर्नका लागि मागेको बहुमत पनि यही हो । यो अवसरलाई वाममोर्चाले उपयोग गर्नसक्यो भने उसले फेरि फेरि पनि निर्वाचन जित्न सक्छ, जनताले पत्याउन सक्छन् । वाममोर्चा जनताका नजरमा कति विश्वासी भनेर अव खरी घसिने छ र वाममोर्चाले आफ्नो ल्याकत र पाएको जनसमर्थनको ताकत देखाउने बेला पनि यही हो । यस्तो अवसर राजनीतिक दलहरुलाई कमै मिल्नेगर्छ । बहुमत भनेको शान्ति, स्थिरता र प्रगतिको सूचक पनि हो । यो सूचकको हकदार वाममोर्चा बनेको छ, यही हकको उपयोग गरेर शान्ति र समुन्नति चिन्न सक्यो भने वाममोर्चा जनताको नजरमा चढ्नेछ, यहीरहेछ देश र जनतालाई हेर्ने भन्ने छाप पर्नेछ । यही छाप नै भावि दिनका लागि उसको जितको प्रत्याभूति समेत हुनेछ । होइन, आफन्तवाद, कमिशन र स्वार्थवादको थाङ्नो हुनेतिर वाममोर्चा लाग्यो र आफैआफैवीच झगडाको बारुद विछ्याउन थाल्यो भने जनादेशको अपमानमात्र हुनेछैन, जनताले यिनलाई पत्याउने पनि छैनन् । कसरी बढ्ने वाममोर्चाले सोचुन् ।