
आफू नाङ्गै भएर, भोकै बसेर पनि कर तिरिरहेका छन्, सरकार जिन्दावाद भनिरहेका छन्, चुहिएको छानोबाट भिजेर, पुसे ठण्डीको ठिही खपेर नेपाली हुँ भनिरहेका छन् । तर नेपाल राष्ट्र,राज्यले यिनको पीडा के हो, यिनले खोजेको के हो, यिनका लागि नाना, खाना र छाना दिनुपर्छ भन्ने जिम्मेवारीवोध कहिल्यै गरेनन् । परापूर्वकालदेखि यस्तै गरेर पुर्षाहरु बितिरहेका छन्, तैपनि यिनीहरु पर्खिरहेका छन् । अव त वाममोर्चाको सरकार आउनेवाला छ, यिनका लागि सिंहदरवारले हेर्ला कि ?
शान्ति, समानता र समुन्नति : यही हो निर्वाचनका बेलामा वाममोर्चाले देखाएको सपना । केही दिनपछि वाममोर्चाको स्थिर सरकार बन्नेवाला छ, त्यो सरकारले सिंहदरवार घरघरमा पुग्छ भनेर फोटो देखाउने होइन, सिंहदरवारले दिएको शान्ति, समानता समुन्नति व्यवहारमा देखाउनुपर्छ । यिनले जब न्याय पाउनेछन्, जब यिनले नाङ्गा खुट्टा र आङभरि कपडा पाउनेछन्, भत्किएको छाना मरमत गरेर न्यानोमा बस्न र भरपेट खान पाउनेछन्, तव सिंहदरवार गाउँ गाउँमा पुग्यो भनेर मान्न सकिनेछ । उही भाषण, उही सपना र उही आँखामा छारो हाल्ने काम भयो भने वाम सरकार पनि उही कानैचिरिएको साबित हुनपुग्नेछ । कम्युनिष्टले हेर्छ बुढाबुढीलाई, तरुना तन्नेरीलाई, बालबालिकालाई भन्ने जुन सपना बााँडिएको छ, अव हिंसा रोकिएर, हडताल बन्द बन्द भएर र निर्माण र समुन्नतिको सिर्जना सुरु भएर वाममोर्चाले काम गर्ने बेला यही हो । कुनै अल्झो हुनेछैन, किनभने पूर्ण बहुमत छ । अल्झो कतै छ भने वाममोर्चाका नेतृत्वलाई घेरेका माफिया, तस्कर, कमिशनखोरहरुको अल्झो छ । यिनलाई हेरेर बृद्ध केपी ओली र प्रचण्डले आगामी सिंहदरवारको खाका कोर्न सके भने देश साँच्चै काँचुली फेर्न र नयाँ नेपालको फड्को मार्न सक्नेछ । देश जुरुक्कै उचाल्ने बेला हो यो ।
ओली र प्रचण्डजी, के यिनलाई गतिमतिलाई हेरेर योजना कोर्न र पाइला सार्न सक्नुहोला ? यसैमा वामपन्थी, हामपन्थी कि कामपन्थी देखिनेछ । राजनीतिक नैतिकताको अन्तिम परीक्षा पनि हो यो ।