निर्वाचनसँगै राजनीतिक विवादको अन्त्य भयो, जनताले जनादेश दिएका छन् र मिलेर शान्ति र समुन्नतिका लागि काम गर्न भनेका छन्, यो जनादेशको सम्मान गर्नु प्रत्येक राजनीतिक दलको कर्तव्य हो । चुनावमा गईसकेपछि र जनताले जनबल दिइसकेपछि त्यही बललाई सामर्थ बनाएर आ–आफूले कबुल गरेका घोषणापत्रलाई कार्यरुपमा परिणत गर्न लागि पर्नुपर्छ । राजनीति धेरै भयो, गुट र फुटका, भागबण्डाका झण्झट र झमेला पनि धेरै देखियो । अव वाममोर्चाले बहुमत पाएको छ, त्यो बहुमतलाई सामाजिक न्याय र देशको समुन्नतिका लागि उपयोग गर्ने हो भने रचनात्मक प्रतिपक्षीको भूमिका लोकतान्त्रिक मोर्चाले निभाउने तर राष्ट्रले प्रगतिको एउटा राम्रो राजमार्ग पाउनेछ ।
होइन, फेरि पनि उही गुट र फुट, पार्टी पार्टीवीचको बिबाद हुने हो भने निर्वाचनमा जनताले जुन प्रकारको म्याण्डेट दिएका छन्, त्यो जनादेशको अनादर हुनजानेछ र अन्ततोगत्वा फेरि पनि विकास निर्माणको गति अवरुद्ध हुनपुगेर उही भागबण्डे, आलोपालो सत्ता सञ्चालनका खेल हुनेछ जसले निर्वाचनको गरिमा र महिमाकै अवमान्ना हुनजानेछ ।
अव राजनीतिक दल र नेताहरुले इमान देखाउने बेला हो । आफ्ना राजनीतिक सिद्धान्तलाई कार्यरुपमा बदल्ने समय हो । यसका लागि अनिवार्य शर्त भनेको राजनीतिक निष्ठा र इमान नै हो । यही निष्ठा र इमानले भ्रष्टाचारको महारोगलाई न्यूनिकरण गर्नसक्छ, बेइमानहरु तर्सने छन् र सेवाग्राहीले सुशासनको स्वाद चाख्न पाउनेछन् । निर्वाचन भयो भने, आफूले दिएको मतदानबाट कति फाइदा हुने रहेछ, त्यसको झल्को देखाउने जिम्मेवारी मतादेश पाउने दलहरुको हो । जसले सत्ता सञ्चालनको जनबल पाएका छन्, तिनले इमानका साथ राज्य सञ्चालन गर्नुपर्छ, जसले प्रतिपक्षीको भूमिका पाएका छन्, तिनले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ र जसलाई जनताले इन्कार गरिदिए, तिनीहरुले जनतालाई मनाउने र जनतालाई रिझाउन आफ्ना क्रियाकलापलाई सुधार गरेर अघि बढ्नुपर्छ ताकि अर्को निर्वाचनमा जनताले फेरि आफूलाई यसरी किनारा नलगाउन् ।
राजनीतिलाई व्यापार होइन, राजनीति भनेको उत्तम समाज सेवा हो भनेर प्रमाणित गर्ने मौका पनि हो यो । वाममोर्चाले अनेकन सपना देखाएको छ । वाममोर्चाले चुनाव जिते समृद्धि र समाजवाद, स्वाधीनता र सार्वभौमिकताको रक्षा, देशहितमा काम गर्छु भनेको छ । लोकतन्त्रप्रति प्रतिवद्धता जनाउँदै सर्वसत्तावाद र निरंकूशतालाई इन्कार गरेको छ, समय आयो, वाममोर्चाले आफूले जनतालाई दिएको आश्वासनलाई आश्वस्त पार्दै राष्ट्रलाई अघि बढाउने । वाममोर्चाले देश बनाउँछु भनेको छ, बनाएर देखाउनु पर्छ । विधिको शासन र समानता दिनु भनेकै लोकतन्त्रको मजबुती हो । वाममोर्चाले भनेजस्तै जनादेश आएको छ । वाममोर्चा फुटेन भने, जुटिरह्यो भने आगामी ५ वर्षमा धेरै काम गर्न सक्छ । त्यही कामको आधारमा गणतन्त्र र लोकतन्त्र दुबै मजबुत हुनसक्छन् । जनताले दिएको जनादेशको सही सदुपयोगमै राष्ट्र र राष्ट्रवासीको भविष्य अन्तरनिहित छ ।अन्यथा शान्ति र समुन्नति आकाशको फल नै हुनेछ ।