Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

उता शीतलहर, यता बिजयोत्सवमै करोडौं खर्च

०३ सोमबार , पौष २०७४७ बर्ष अगाडि

चुनाव सकियो, जित्नेले जिते, जनताले आफ्नो मातादेश दिए । त्यही मतादेशले आगामी सरकार चलाउने र चल्ने हो ।
तर चुनाव जित्नेहरुले भोजभत्तेर खाइरहेका छन्, बाजागाजासहितको खुशीयाली मनाउन विजयोत्सव गरिरहेका छन् । यसरी विजयोत्सवमा करोडौं खर्च भइरहेको छ । यसको लेखाजोखा छैन । उता मधेसमा पुसको सुरुकै दिनदेखि शीतलहर चलेको छ । शीतलहरले रोगव्याधि बढेको छ, मान्छे मर्न थालेका छन् । विजयोत्सव गर्ने पैसाले न्यानो कपडा किनेर शीतलहरसँग जुध्न आम नागरिकलाई सघाउनुपर्ने 
होइन ? जिताउने जनता, जित्ने नेता, फेरि जनता शीतलहरमा मर्न थाल्दा किन जनताका साथमा नेता देखिएनन् ।
समस्या पहाड, हिमालमा पनि छन् । चिसो र स्वास्थ्योपचारको अभाव उता पनि छ । अव त जनप्रतिनिधिहरुले विजयोत्सव गर्ने खर्च कटाएर जनताको सेवामा लाग्नुपर्ने हो । अर्को ५ वर्ष नभएसम्म चुनाव आउँदैन, अहिले जितेको चुनावको रमाइलो किन नगर्ने भनेर चुनाव जित्नेहरु लाखौंका पार्टीका झण्डा बनाएर, अविर र फूलमालाको जात्रा चलाइरहेका छन् । मानौं चुनाव होइन, जात्रा आएको हो, पर्व आएको हो र यो पर्वलाई जतिसक्यो उति बढी खर्च गरेर मनाउनु पर्छ ।
यो तरिका जिम्मेवार तरिका होइन । त्यसै पनि चुनावमा बेपर्व खर्च भएकै हो । निर्वाचन आयोगले जतिसुकै आचारसंहिताको पालनामा जोड दिए पनि, चुनाव खर्चको सीमा तोके पनि सबैलाई थाहा छ– लाखौं त सामान्य, करोडौंसम्म खर्च भएका छन् । जेहोस्, शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भयो, जनताले हौसलाका साथ मतदान गरे । यो सबैभन्दा खुशीको कुरा हो । चुनाव अघि जुन हिंसात्मक आशंका गरिएको थियो र चुनावमा बिस्फोटका घटनाहरु घटे, ती सबैलाई जनताले लत्याएका हुन् र जनताले आफ्नो मतदान गरेर कर्तव्य पूरा गरिदिए ।
कर्तव्य निर्वाह गर्ने र जनताप्रतिको जिम्मेवारी पूरा गर्ने पालो नेताहरुको हो । यतिखेर शीत लहर चलिरहदा पनि संवेदनहीन बनेर नेताहरु जब अवीर, फूलमालामा रमाइलो गरिरहेका छन्, यो तरिकाले नेताहरु जिम्मेवारी निर्वाह गर्न सक्दैनन् । नेताहरुले पुसको ठिहीमा परेका भूकम्पपीडित र बाढीपीडितलाई पनि हेर्नुपर्छ । नेताहरुले उही कानै चिरिएको तरिका अपनाउने र गैरजिम्मेवार हुने हो भने आमनागरिकले बिद्रोह गर्नुपर्ने दिन पनि आउनसक्छ । यसरी संविधान कार्यान्वयन हुनसक्दैन ।