Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

वाम सरकार, के छ दरकार

२५ सोमबार , मंसिर २०७४७ बर्ष अगाडि

जनादेश वाममोर्चाको पक्षमा गएपछि निश्चित भयो वाम सरकार बन्ने । वाम सरकार, देशमा के के छन् दरकार ? यी प्रश्न महत्वपूर्ण छन् र यसमा विषद छलफल प्रारम्भ भइसकेका छन् ।
प्रजातन्त्रको सम्वद्र्धन, अराजकता, दण्डहीनता, भ्रष्टाचारको अन्त्य र आर्थिक समृद्धि, वर्तमान कालखण्डका सबैभन्दा अहं सवाल हुन् । वाम सरकारका सामु राष्ट्रले अपेक्षा गरेका दरकार यिनै हुन् । स्थिर सरकार बन्नुले यी दरकारहरुको पूर्ति हुन्छ भनेर नै आमनागरिकले वाममोर्चालाई जनादेश दिएका छन्, जनादेशको मर्म र महिमा स्थापित गर्ने नैतिक जिम्मेवारी वाममोर्चाका सामु खडा भइसकेको छ । अन्तिम परिणामा आएपछि कामचलाउ देउवा सरकारले सत्ता हस्तान्तरण गर्नेछ र वाममोर्चाका नेताले सत्ता हातमा लिएर कार्यकालको सुरुआत गर्नेछन् ।
हुन त चुनाव प्रचारका क्रममा कम्युनिष्ट कि प्रजातन्त्र भनेर जनतालाई नेताहरुले सोधे । खासगरी नेपाली कांग्रेसले त देशैभरि यो प्रश्न उठाएर आफूप्रति जनताको ध्यानाकर्षण गर्ने प्रयास गरेको हो । तर जनताले पत्याएनन् । वाममोर्चाले लोकतन्त्र तलमाथि हुन्न भनेको विषयमा नै जनता स्थिर रहे, त्यही कुरो पत्याए र राजनीतिक स्थिरताका लागि वाममोर्चालाई आगामी ५ वर्षको नेतृत्व सुम्पिएका छन् । यद्यपि पुरै नजिता आइसकेको छैन तर वाममोर्चाको पक्षमा चुनावी परिणामको क्रमले ओइरो लाग्न थालेपछि र कांग्रेसपंक्तिभित्र आत्मालोचनासहित आफ्ना कमीकमजोरी केलाउन थालेपछि वाममोर्चाको सरकार बन्नेमा अव कुनै अप्ठेरो देखिदैन । वाममोर्चाले आफूलाई कसरी प्रस्तुत गर्नेभन्ने विषय विश्लेषण सुरु भइसकेको छ र वाममोर्चाको सरकारले जनताका लागि गर्छु भनेका प्रतिवद्धताहरु पूरा गर्न आतुरता पनि देखाउन थालेको छ ।
मुख्य सवाल भनेको भ्रष्टाचारको अन्त्य र विधिको शासन नै हो । वाममोर्चाले भ्रष्टाचार रोक्छौं, सेवाग्राही जनतालाई सुशासन दिन्छौं भनेर काम सुरु गर्नु उचित हुनेछ । अन्यथा यतिबेला आइरहेका निर्वाचन परिणामले कांग्रेसको जुन हविगत देखिएको छ, यो दोहोरिन बेर लाग्नेछैन । जनतालाई माओवादी र एमालेको एकीकरणमा खासै चासो देखिदैन, चासो यी दुबै पार्टी मिलेर देश र जनताको स्वाभिमान र स्वाधीनताको रक्षा गरुन् र मौलाएको भ्रष्टाचारको अन्त्यका साथ प्रगतिका मार्गहरु प्रशस्त गरुन् भन्ने हो । देशमा रोजगारी नपाएर जसरी युवाहरु खाडी मुलुकमा दौडिरहेका छन्, त्यो क्रमलाई रोक्न औद्योगिकीकरणमात्र होइन, युवाहरुलाई आफ्नै मुलुकमा केही गर्न सकिन्छ भन्ने उत्साह जगाउनु पनि उत्तिकै जरुरी छ । जनताको विश्वास जितेपछि देशको विदेश नीतिमा स्थिरता र अन्तर्राष्ट्रिय विश्वास जित्नु वाममोर्चाका लागि जरुरी छ । यसैमा देशको भलो हुनेछ । फेरि पनि उही भ्रष्टाचार, उही भागबण्डा र उही सिण्डिकेट तथा आलोपालोतन्त्र चल्यो भने जनतामा आएको जाँगर र उत्साह मर्न बेर लाग्नेछैन । जनताले जुन विश्वास प्रकट गरेर जनादेश दिएका छन्, त्यो तलमाथि हुनुहुन्न, जनतामा नैराश्यता आउनुहुन्न ।