
व्यापक हौसलाका साथ निर्वाचनमा सहभागी जनताले दिएको मत बदर हुनु दु:खलाग्दो कुरा हो । सकभर मतादेश बदर हुनैहुन्न । खसेको मतको शतप्रतिशत मत सदर भइदियो भने सही जनप्रतिनिधिको चयन हुनसक्छ । यद्यपि निर्वाचनमा लोभलालच, भोजभत्तेर, बाहुबली र किनबेचका कारणले पनि चुनावी परिणाम यताको उता हुने गरेको छ । नेपालजस्तो भौगोलिक विकटता भएको र गरिबीका कारणले पनि शासन प्रशासन र मनी र मसल शक्तिले निर्वाचनको परिणामलाई तलमाथि गर्ने गरेको छ र असामाजिक तत्व भनेर डामिएका व्यक्तिले पनि चुनाव जित्छन् । यति भए पनि जनताले जिताउन खोजेको व्यक्ति मत बदर भएर हार्ने स्थितिलाई सुधार गर्दै जानुपर्छ र प्रत्येक नागरिकले सकभर मतदाता शिक्षामा ध्यान दिनैपर्छ, किनकि राष्ट्रप्रति सबैको जिम्मेवारी रहेको हुन्छ ।
मानवाधिकार आयोगका कावा अध्यक्ष प्रकाश वस्तीले निर्वाचन आचारसंहिता, सञ्चार र मानवाधिकार विषयक नेपाल पत्रकार महासंघ काठमाडौंको आयोजनामा मंसिर १६ गते शनिवार भएको अन्तरक्रिया कार्यक्रममा जनतामा विकास भएको चेतनाबारे सप्तरीको घटना सुनाएका थिए । सप्तरीका एक मतदाताले भनेछन्– जसले खान बोलाउँछ पेटभरि खाइदिन्छु । कसैले पैसा दिए लिन्छु तर मतदान गर्ने बेलामा आफूलाई मत दिउँ दिउँ लागेको योग्य उमेदवारलाई मत दिन्छु । यो हो मताधिकारको सही प्रयोग र मतदातामा विकास भइसकेको चेतनाको स्तर । जनयुद्ध र जनआन्दोलन, त्यसपछिका संविधानसभाको निर्वाचन र संसदको क्रियाकलाप तथा अनेक थरिका सरकारको गठन र राजनीतिक पार्टीहरुले जनता र देशप्रति गरेका क्रियाकलापका कारण जनतामा पर्याप्त चेत आइसकेको छ र जनता कमजोर देखिए पनि उनीहरुले विवेकपूर्ण तरिकाले मतदान गर्ने कुरामा कुनै शंका गर्नु पर्दैन । तर जनताले मतदान गर्ने तरिकामा पर्याप्त ज्ञान पाउन नसकेको विषय चाहिं पर्सी २१ गते हुने दोश्रो चरणको निर्वाचनमा पनि मत बदर हुनसक्ने खतराचाहिं छ । जनताले पर्वका रुपमा मतदानस्थलसम्म पुगेर मतदान गर्नु र त्यस्तो मत बदर हुनु दु:खदायी घटना हुनेछ । यस्ता आवधिक निर्वाचन प्रजातान्त्रिक पद्धतिमा समयक्रममा आइरहन्छन्, यसकारण किन अर्को पटकदेखि मेसिनबाट मतदान गर्ने व्यवस्था र मतदान शिक्षा बेलैदेखि दिन नथाल्ने ? यतातिर सोचौं ।