
अव हुने निर्वाचनमा जिम्मेवार र नैतिकवान सांसद जितेर आउन् ताकि बेपत्ताका परिवारले कि श्वास दे कि लाश दे भन्न नपारोस् । जनयुद्धका पीडितले न्याय चाहियो भनेर सडकमा चिच्याउनु नपरोस् । अदालतले दण्डित गरेका व्यक्तिहरु जेल परुन्, जनतालाई तर्साएर र कानुनको खिल्ली उडाएर देखा नपरुन् । अदालत कमजोर हुँदा कानुन व्यवस्था खोक्रो हुँदै गएको छ । कानुनको शासनप्रति जनताको विश्वास उठ्तै गएको छ । अव यस्तो नहोस्, कहिल्यै नहोस् ।
खाली सत्तासमीकरण बदल्ने र सत्तामा कहिले कोसँग, कहिले कोसँग मिलेर सत्ताको रङ् बदल्ने ढङ् नबल्ने काम नहोस् । संवैधानिक अंगका प्रमुखहरु राष्ट्रप्रति जिम्मेवार होउन् । सांसद, राजदूत, न्यायाधीश, आयुक्तहरु किनबेचका मसला नबनुन् । यसका लागि निर्वाचनबाट सही व्यक्तिको चयन हुन जरुरी छ । चयन गर्ने जनताले हो, जनताले कसैको दबाब, प्रभावमा परेर होइन, राम्रो व्यक्तिलाई चयन गर्नैपर्छ अन्यथा फेरि पनि उही कानै चिरिएका जोगीहरुको हुल देखिने छ, जो बर्बादीका कारणमात्र बन्नेछन् ।
संसद प्रमुख दलका ठालु नेताहरुको इच्छाले चल्ने जुन दृश्य देखियो आइन्दा यस्तो हुनुहुन्न । सांसद भेडा होइन, विवेकशील छन् भन्ने देखिनैपर्छ र तिनले विवेकले निर्णय गर्नैपर्छ । विवेकहीनताले संवेदनहीनता बढाउँछ, यहीकारणले यतिबेला नेपाल र नेपालीको दुर्दशा भइरहेको छ । सबैचिज छ तर व्यवस्थापन हुनसकेन । व्यवस्थापन गर्ने दायित्व बोकेका व्यक्तिहरु अव्यवस्था र स्वार्थमा रमाए । यो अव्यवस्था चिर्नका लागि समेत सन्निकट निर्वाचनले सही जननेतृत्वको चयन गर्नु जरुरी छ । तवमात्र सक्षम र बलियो सार्वभौम संसद गठन हुनपुग्नेछ । जसले जनइच्छाको कदर गर्नेछ र देशइच्छाको परिपूर्ति गर्न आफूलाई समहित गर्नेछ । यस्तो आशा आम नेपालीको छ र यही आमजनधारणा चुनावबाट प्रस्फुटित हुनुपर्छ ।
अव्यवस्था र अस्थिरताकै कारण ९१ प्रतिशत जनप्रतिनिधिले जारी गरेको संविधान कार्यान्वयन हुनै सकेको छैन । कार्यान्वयन नहुने भए किन सही ठोकेको, सही ठोकेको हो भने किन कार्यान्वयन हुन सकेन ? यसको अर्थ इमानदारिता थिएन । जसका कारण संविधान जारी भएदेखिको संविधान संशोधनको हल्लाखल्ला अद्यापि जारी नै रहेको छ । गैह्र सैद्धान्तिक चरित्र र कमजोर मानसिकताका कारणले संविधान कमजोर भयो, संविधान कमजोर हुँदा देश कमजोर भयो । जसको महगो मूल्य आमनागरिकले अहिले पनि चुक्ता गरिरहनु परेको छ । अव त्यस्तो नहोस् ।