Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

वामपन्थी एकीकरण किन ?

२३ सोमबार , आश्विन २०७४८ बर्ष अगाडि

एकै विचार मिल्ने पार्टीहरु एकीकरण हुनु नराम्रो होइन । उनीहरुको मिलन, एक विचार र एक नीति देशका लागि हो, देश विकासका लागि हो भन्ने रुझान त सार्वजनिक भइरहेकै छ तर एमाले, माओवादी केन्द्र र नयाँशक्ति नेपालको एकीकरणलाई लोकतान्त्रिक शक्तिहरुले पचाउन सकेका छैनन् । तालमेलसम्मलाई सबैले स्वीकार गरेकै थिए अव एकीकरण नै गर्ने घोषणाले किन एकीकरण भन्ने सवाल उत्पन्न भएको छ ।
संघारमा छ प्रदेश र संसदको निर्वाचन । मंसिर १० र २१ को प्रदेश र संसदको निर्वाचनमा प्रजातान्त्रिक शक्तिलाई सफाया नै गर्ने र दुईतिहाई भन्दा बढी सिट जितेर ५ वर्षे शासन र राजनीतिक स्थिरता दिने भनिए पनि नेपालमा लोकतन्त्रको व्यानरमुनी कम्युनिष्ट केन्द्रको शासन र निरन्तर शासन कायम गर्ने एकतन्त्रीय सोच रहेको प्रजातन्त्रवादीहरुको निष्कर्ष रहेको देखिन्छ । यो कम्युनिष्ट एकता र एकीकरणका कारण राजनीतिमा तीब्र ध्रुविकरण सुरु भएको छ । यो ध्रुविकरणले राजनीतिक दुर्घटना निम्त्याउने आँकलन पनि केही विश्लेषकहरुले गरेका छन् ।
आश्चर्य त के पनि छ भने आजसम्म देश विकासका एजेण्डा तयार गर्न र त्यो खाकामा व्यापक छलफल हुनसकेको छैन । जहिले पनि सत्ता निकट बस्न चाहनेहरुको झुण्डमा रुपान्तरण भएका छन् ठूला दलहरु । तिनै दलहरु देशको आर्थिक विकास र स्थिरताका लागि माओवादी र एमालेको एकता भएको र अव एकीकरण हुने जुन घोषणा भएको छ, त्यो घोषणा अलि हजम हुन सकेको देखिदैन । असामान्य घटनाक्रम भएकाले समेत धेरैलाई माओवादी र एमालेको एकीकरणले अचम्ममा पारेको छ ।
२०६३ सालको परिवर्तनपछि यी दलहरुले कुन चाहिं राम्रो काम गरे भन्ने विषयमा दिने जवाफसमेत छैन । यिनै दलले आज आएर हाम्रो एकता देश विकास र राजनीतिक स्थिरताका लागि हो भन्छन् भने पत्याउने पनि कसरी ? केही दिन अघिसम्ममात्र एमालेका अध्यक्षले नयाँ शक्तिका अध्यक्षलाई कुन लिङ्गी भनेर सोधेका थिए । माओवादी केन्द्रका अध्यक्षले एमालेलाई र एमालेका अध्यक्षले माओवादीलाई तीब्र व्यङ्ग कसेर सवाल जवाफ दिदै थिए । एकले अर्कोलाई दक्षिणपन्थी र हावादारी राष्ट्रवादीसमेत भन्न भ्याएका हुन् । तिनै भ्यागुतो, सर्प र विच्छीको एकता गर्ने घोषणालाई प्रजातन्त्रवादीहरुले शंकाको दृष्टिकोण राखेर हेर्नु अनुचित होइन । किनभने विश्वास गर्न सकिने आधार यी तिनैमा थिएन । छैन ।
एक नेपाललाई कित्ताकाट गर्ने, अस्थिर पार्ने र मानसिक द्वन्द्वमा फसाउने र जनयुद्धका घाउहरु कसरी निको पार्ने भन्ने विषयमा कुनै चिन्ता र चासो नै नगर्ने दलहरु सत्ताका लागि, एकछत्र राज गर्ने मनस्थिति र देशमा रातो सूर्य, राताम्मे झण्डा फहराउने मनसायले एकीकरण गर्छन् भने त्यो पवित्र सोच हुनसक्दैन । देशमा नेपालको झण्डा फहराउन गरेको एकता थियो भने त्यो सर्वग्राह्य हुनसक्थ्यो । नेपालको गरीवी, अशिक्षा र अभावलाई कम्युन्यालिजम फैलाएर कम्युनिष्टकरण गर्न एकता र एकीकरणको औजार उपयोग गरिएको हो भने यो दुर्भाग्य हुनेछ ।