Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

दिल्लीमा किन गयो सातो ?

१२ सोमबार , भाद्र २०७४८ बर्ष अगाडि

देशको प्रधानमन्त्रीले विदेशमा जनशक्ति, जनविश्वास, जनबल र जनादेशको बलमा उभिनुपर्छ, बोल्नुपर्छ । सार्वभौम राष्ट्रका प्रधानमन्त्रीको सबैभन्दा ठूलो शक्ति भनेको त्यही हो । यही शक्तिबाट ओतप्रोत भएर प्रधानमन्त्रीले देशका एजेण्डाहरु बोकेर विदेश जाने हो र देशका लागि ती एजेण्डाहरुलाई सम्पूर्णमा सफल पारेर फर्कने हो ।
हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवा दिल्ली गए । संसदमा उनले जानकारी गराएनन्, राजनीतिक दलहरुसँग सम्पर्क गरेर उनीहरुको समर्थन लिएर गएनन्, देशका कुन कुन एजेण्डा उठाउने र भारतसँग वार्ता र सहमति गर्ने भन्ने स्पष्ट खाका पनि प्रधानमन्त्रीसँग थिएन । भर्खर बाढी आएर नेपाल जलथल भयो, नेपाल डुबायो, यस सम्बन्धमा भारतसँग कसरी कुरा गर्ने, भारतले सीमामा बनाएका तटबन्ध, बाँधका कारणले नेपालमा बाढीको समस्या हरेक वर्ष आउने गरेको र यसवर्ष त मधेसलाई लथालिङ्ग बनाइदिएको थियो । स्वयम् प्रधानमन्त्रीले मधेसको भ्रमण गरेर जनजीवनको अस्तव्यस्तता हेरेर गएका थिए, सीमा अतिक्रमण, सीमामा भारतीय हैस्तक्षेत्र बढेको र भारतीय सुरक्षाकर्मीले नेपालीलाई मारेको समस्यासमेत छ । तर ती कुनै पनि विषयमा हाम्रा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग टेबुलटक गर्न सकेनन् । किन ? किनभने सम्पूर्ण नेपाली शक्ति लिएर उनी गएकै थिएनन् ।
त्यसैले त हाम्रा प्रधानमन्त्रीले संविधान संशोधन गराउन सकिन, जसरी पनि संविधान संशोधन गराएरै छाड्छु भनेर सार्वजनिक वक्तव्य दिए । संसार हाँस्यो, भारत खुशी भयो, नेपाल र नेपाली दु:खी भए । किनभने संविधान नेपालको हो, यो नेपाली सम्पत्ति पनि थियो, आफ्नो आन्तरिक मामिलाबारेमा भारतका सामु आङ कन्याएर छारो उडाउने अराजनीतिक, कूटनीतिक मर्यादाबाहिर बरालिएर प्रधानमन्त्री देउवाले बक्तव्य दिए ।  मानौं, हाम्रा प्रधानमन्त्रीले ठूलो गल्ती गरेर गएका छन् र उनी त्यो गल्ती सुधार गर्ने अवसर खोजिरहेका छन् । हाम्रो संसदले के गर्छ, कस्तो निर्णय गर्छ, त्यसको विदेशमा गएर मान मर्दन गर्ने अधिकार प्रधानमन्त्रीलाई थिएन । छैन । तर उनले संसदको अवमान्नसमेत गरिदिए । नेपाल कसरी अघि बढ्ने त्यो नितान्त संसदको आन्तरिक मामिला हो । यदि यसैगरी भारतको सहयोग खोज्ने र भारतसँग हारगुहार गर्ने हो भने नेपाल कसरी सार्वभौम भएर बाँच्न सक्छ ? यति सामान्य ज्ञान पनि प्रजातन्त्रको विडा उठाएका प्रधानमन्त्री देउवालाई नहुनु भनेको यो कांग्रेसको हार हो, देश हराउने कामा कांग्रेसका सभापति तथा प्रधानमन्त्रीले गरेका छन् । उनलाई संसदले खरी घस्नुपर्छ र आइन्दा कुनै पनि शासकले देशको आन्तरिक मामिला विदेशमा छरपस्ट पार्ने छुट पाउनुहुन्न । देशको प्रतिनिधित्व भनेको भारतका सामु सातो गएको अनुहार देखाएर के बोलेको भन्ने हेक्का राख्न नसक्ने हुनु होइन ।