
०६५ सालमा राजतन्त्रलाई किनारा लगाएर गणतन्त्र कार्यान्वयन गरियो । त्यतिबेलादेखि हिन्दु र राजावाद पूर्वराजालाई देख्यो भने अथवा कोठा कोठामा मात्र चर्को नारामा सुनिन्छ । अन्यथा चुपचाप बस्छ यो वाद । २ वर्षअघि राजावादीहरुले सशस्त्र युद्ध गर्ने फुइँकी पनि हाँके । अव सडक तात्ने भयो, अव संसद घेरिने भयो, अव हिन्दुवाद र राजावादले सिङ्गो नेपाल घन्किने भयो भन्नेआशा पलाएको थियो । राप्रपा छँदै थियो, कांग्रेसी नेता खुमबहादुर खड्काले हिन्दुवादको बिगुल फुकेर अभियान नै चलाए, अनेकन कांग्रेसी नेताहरु पनि समावेश भए तर त्यो अभियान कहाँ पुग्यो, थाकेर थचक्कै बसेको कसैले चालै पाएन । त्यसपछि हरिबोल भट्टराईले भारतका भाजपा नेताहरुको सहयोगमा भारतदेखि पशुपतिनाथसम्म हिन्दु अभियान थाल्ने घोषणा गरेका छन् । यो अभियान पनि राजनीतिक लाभका लागि मात्र भएको अनुमान गर्न सकिन्छ । हिन्दु गुरुहरु हिन्दुधर्म चाहिन्छ भन्छन् र गायत्री मन्त्रमात्र जप्छन् । राजावादीहरु राजा आउ देश बचाउ भनेर पर्वपर्वमा नारा लगाउँछन् र थाकेर थकाई मार्छन् । यसरी पूर्वराजालाई देख्यो कि चिच्याहट एउटा डाँडामा ठोक्किएर अर्को डाँडादेखि मैदानसम्म घन्किन्छ र बिस्तारै हावामा हराउँछ । हिन्दुवाद र राजावादले यसैगरी गणतन्त्र र धर्मनिरपेक्षताको मार्गमा आफूलाई टहलाई रहेको छ । टहलेर, गम खाएर, पर्खेर र शान्त बसेर परिवर्तन हुन्छ होला ? लोकतन्त्र कसरी आयो, गणतन्त्र कसरी कार्यान्वयन गरियो भन्ने नबुझेका अवुझहरुले हिन्दुवाद र राजावाद ल्याउन सक्लान् र ?
कि विदेशीले ल्याइदिन्छ भनेर पर्खेको हो ? युवाशक्ति नेपालदेखि हिन्दु र राजावादका अनेक संघसंस्थाहरुले बुझेका छन्, सहज तरिकाले न हिन्दुवाद आउँछ, न राजावाद पुनस्र्थापित हुन्छ । जतिसुकै संविधान र गणतन्त्र दुर्घटनामा पर्छ भनेपनि र परिहाल्यो भने पनि मण्डी ओढेर घ्यू खानेहरुको वाद पुनस्र्थापित हुनसक्दैन । न त कोठा चोटामा चर्को नारावाजी र टीभीमा अन्तर्वार्ता दिएर परिवर्तन हुनेवाला छैन । विदेशी र स्वदेशी षडयन्त्रकारीहरुले राष्ट्रिय गर्व, गौरव र संस्कार, संस्कृतिलाईमात्र होइन, ९५ प्रतिशत ॐकार परिवारलाई समेत लत्याएर धर्मनिरपेक्षताका नाममा इसाइकरणका लागि मार्ग प्रशस्त गरिसकेका छन्, तर्कशास्त्रले जतिसुकै गलत परिवर्तन भएको भए पनि मास्न अथवा संशोधन गर्न मुस्किल छ । सेलाएर चिसोमात्र भइन्छ भन्ने अझै नबुझ्ने ?