
पूर्वराजाले आफ्नो अभिव्यक्तिमा पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तूरी हराएको मृग झैं शून्यतामा हराइरहेको भन्दै हामी क्रियाशील उर्जा बोकेर ब्युँतन अब ढिला गर्नु हुँदैन समेत भनेका छन् । पूर्वराजालाई थाहा छ– आमनागरिक नेतृत्व विहीन छन् । त्यसैले पूर्वराजा जता जान्छन् उतै आमनागरिक झुम्मिने गरेका छन् । जो राजनीतिमा छन् तिनले आमनागरिकको अपेक्षा र विश्वासलाई कायम राख्न सकेनन् । त्यसको प्रमाण भर्खर सम्पन्न भएको स्थानीय तहको दुईचरणको निर्वाचनले पनि देखाएको छ । यति बुझिसकेपछि पूर्वराजा स्वयम्ले देश बचाउने र बिखण्डनको चक्रव्यूहबाट देशलाई जोगाउने अभियानको नेतृत्व किन नगर्ने ? पूर्वराजाको चिन्ता र चासो भनेको देश हो । देश हो भने देशका लागि पूर्वराजा सहमति र सहकार्यको थालनी गर्न गराउन मौलो बन्न सक्छन् । पूर्वराजा अघि सर्ने हो भने अपजसजति राजतन्त्रतिर फालेर पानीमाथिको ओभानो बन्नेहरु पनि सचेत हुनेछन् । देशभन्दा व्यक्ति अथवा व्यक्तिगत राजनीति ठूलो होइन । पूर्वराजाले अव अघि सर्ने सन्देश त दिएका छन्, आमनागरिक पूर्वराजा अघि सर्दा अहिले देखिएका बिकृति र विसंगतिको अन्त्य र जिम्मेवार राजनीतिको सुरुआतको आशा समेत गर्न थालिसकेका छन् । पूर्वराजा– देश जोगियोस्, बिग्रह र बिखण्डनको नाश होस् ।