Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

कर फस्र्यौट कि भ्रष्टाचार ?

०५ सोमबार , असार २०७४८ बर्ष अगाडि

    अर्थ मन्त्रालयले कर फस्र्यौट आयोग बनाउने र राजनीतिक र उद्यमी व्यवसायीको पक्ष लिएर दबाब सिर्जना गर्दै आयोगका पदाधिकारीको मिलोमतोमा राज्यले पाउनुपर्ने कर, राजस्व कसरी ठगी हुन्छ भन्ने सवाल अव छताछुल्ल हुनपुगेको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेर अनुसन्धान सुरु भएपछि दिनै नपर्ने कर छुट दिएर भ्रष्टाचार हुने गरेको देखियो । डा.रामशरण महत अर्थमन्त्री भएका बेलामा चार्टर्ड एकाउण्टेण्ट लुम्बध्वज महतको संयोजकत्वमा महानिर्देशक चुडामणि शर्मा र उमेश ढकाल रहेको समिति बनाइयो । यो समितिले ठूला करदाताहरुलाई २१ अर्व अनावश्यक कर छुट दिएर भ्रष्टाचार गरेको सन्दर्भमा छानबिन सुरु भएको हो र सदस्य चुडामणिलाई पक्राउ गरियो, तर लुम्बध्वज महत र उमेश ढकाललाई छुट दिइयो । यतिमात्र होइन, लुम्बध्वज र उमेश ढकाल भागिसकेको खबर पनि सार्जजनिक भइरहेको छ । लोकतन्त्रको इतिहासमा यो सबैभन्दा ठूलो भ्रष्टाचार हो ।
    यस सम्बन्धमा संसदमा अर्थसमितिको वैठक बस्यो र कर फस्र्यौट आयोग ऐन संशोधन गर्न निर्देशन समेत दियो । ऐनलाई बहुअर्थी रुपमा राखेर आयोगका सदस्यहरुले कर दायित्व भएका व्यक्ति, संस्थालाई मिलोमतो गरेर उन्मुक्ति दिने काम भएको ठहरसहित अर्थसमितिले यस्तो निर्देशन दिएको हो । ऐनमा त्रुटी देख्ने अर्थ समितिले भ्रष्टाचारका मामिलामा कसैले पनि उन्मुक्ति पाउनु हुन्न भन्ने निर्णयचाहिं गरेन । निश्चित रुपमा कानुनमा सुधार हुनुपर्छ, भइसकेका अपराधमा दण्ड दिनुपर्छ भन्न नसक्नुमा अर्थसमिति समित शंकाको घेरामा परेको छ ।
    गजब गजबका घटना सार्वजनिक भएका छन् । सना कर दाताहरुको घाँटी निमोठ्ने कर प्रशासनले ठूला करदाताहरुलाई माँग्दै नमागेको र दिनै नमिल्ने करमा समेत छुट दिएको देखियो । कर प्रशासनमा पालना गर्नैपर्ने आचार संहितासमेत उल्लंघन भएका रहेछन् । खासगरी महालेखाले प्रश्न उठाएपछि अख्तियारमा परेका उजुरीहरुका फाइल खोलिएका हुन् र अख्तियारले अनुसन्धान थालेको हो । अनुसन्धान त थालियो तर एकजना सदस्यलाई मात्र पक्राउ गरेर । फस्र्यौट आयोग गठन गर्ने र आफ्ना निकट र नातेदारलाई आयोगमा राखेर आयोग बनाउने मन्त्री डा.रामशरण महत अहिले मेरो संलग्नता छैन, मेरा नातेदार पनि होइनन् भन्दै टकटकिदै हिडेका देखिन्छन् भने समितिका दुई सदस्य फरार गराइएको छ । सरकारले चाह्यो भने फरार व्यक्ति पानी मुनी गए पनि पक्राउ गर्न नसकिने कुरा छैन । तिनलाई समेत पक्राउ गरेर खरी घस्ने हो भने कुन कुन संस्था र व्यक्तिले कति कर छुट पाए, त्यो पाउनैपर्ने छुट पाए कि मिलोमतामो छुट पाए । मिलोमतामा कसकसले के कति कमिशन पाए, खाए, त्यसको हिसाव सार्वजनिक हुनेथियो । लहरो तान्दा पहरो गजिन्छ भनेरै यो छानबिनमा पनि षडयन्त्र भएको छ । एकजना चुडामणि शर्मालाई पक्राउ गरेर निलम्बनमा पार्दा अर्का आफन्तलाई सचिव बनाउने बाटो खोल्नमात्र यो नाटक गरिएको हो भने यो अर्को अपराध हुनजानेछ । त्यसैले कर छुटको मामिलामा सख्तीका साथ अनुसन्धान हुन जरुरी छ । यसैमा कर प्रशासनको शुद्धिकरणसमेत अन्तरनिहित हुनसक्नेछ ।