नेपाल प्रहरीका पूर्व आइजीपी त्रय । यिनलाई अदालतले नै सुडान प्रकरणमा दोषी मान्यो, भ्रष्टाचारी ठहर गरिदियो । २ वर्ष जेल सजाय पनि तोकिएको छ । अदालतले फैसला गरेको महिनादिन नाघिसक्दा पनि यिनलाई प्रहरीले पक्राउ गर्न सकेन । किन ? नसकेर होइन, नभेटेर पनि होइन, वर्तमान आइजीपीले नपक्रनु भनेकाले आदेशको पालना गर्ने मातहतले पक्राउ नगरेको हो । नेपालको कानुन दैव जानुन्, नेपालको कानुनको नौसिङ् हुन्छ भन्थे, घटनाक्रमले प्रमाणित गरेको छ । भ्रष्टाचार काँधमा बोकेर नेपाल प्रहरी कानुनव्यवस्था, शान्तिसुरक्षा कायम गरिरहेको छ । यो नाटक नभए के हो ? नौटंकी धेरैभयो प्रहरीमा ।
पूर्वआइजीपी हेमबहादुर गुरुङ, ओमविक्रम राणा र रमेशचन्द ठकुरी, फेरि पनि पक्राउ पर्नेछैनन् । किनभने प्रचण्डका सहयोगी रहेका यिनीहरु नेपाली कांग्रेसका पनि निकट छन् र खासगरी शेरबहादुर देउवाका । भ्रष्ट, असामाजिक तत्व, कूशासनका हर्ताकर्ताहरु देउवाका सहयोगी भएपछि कसरी पक्राउ पर्ने ?
यिनलाई जेलमा होइन, शासकहरुका घर आँगन, कोठा बैठकमा देखिनेछ । त्यसमाथि दोश्रो चरणको निर्वाचन भइरहेको छ र निर्वाचनमा मत घट्छ भनेर पनि सत्ताधारीहरुले अदालतको आदेशलाई पालना नगर्ने प्रचलन नै छ । जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता राख्ने राजनीतिक दलहरु विधि बसाल्छु र संविधान कार्यान्वयन गर्छु भनेर गफ गर्छन्, भाषण छाँट्छन्, व्यवहारमा यिनीहरु जत्तिको निरंकूश र सामन्त अरु कोही छैनन् । यसबारेमा आलोपालो र सेटिङ, सिण्डिकेटमा शासन चलाउनेहरु यस्तै हुन्छन् । ठूला दलहरुले अप्रत्यक्ष दस्ता राख्ने, गुण्डा पाल्ने र गुण्डाको संरक्षण गरेकाले समाजमात्र होइन, शासन व्यवस्था नै असुरक्षाको कारण बन्नपुगेको छ । तीतो छ तर यथार्थ यही हो । सबैलाई थाहा छ ।
हाइ प्रोफाइलवाला नै थिए वालकृष्ण ढुंगेल पनि । अथवा कैलालीका नरसंहारका अगुवा रेशम चौधरी । यी सबैलाई स्वयं प्रधानमन्त्री भेट्छन्, कुरा गर्छन् तर प्रहरी देख्दैन, पक्राउ गर्न सक्दैन । अदालतका आदेशहरु सरकारमा बस्नेले कार्यान्वयन गर्दैनन् भने संविधान कार्यान्वयन चाहिं कसरी हुन्छ ?
अव यिनलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरेर इन्टरपोललाई नै गुहार्ने त ? हुनसक्छ, फेरि अर्को मुद्दा पर्छ र अदालतले कडा आदेश गर्नेछ । आदेश गरेरमात्र के गर्ने, पालना गर्नैपर्ने सरकार पालना गर्दैन, यो कस्तो लोक शासन ?