Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

यो संविधान हो कि सास्ती ?

१८ सोमबार , बैशाख २०७४८ बर्ष अगाडि

    संविधान बन्छ र सुख, समृद्धिको अध्याय सुरु हुनेछ भनेर अपेक्षा राखेका जनताको आशा ०६३ सालदेखि ०७३ साल समाप्त भएपछि पनि पूरा हुनसकेन । ०७४ साल लाग्यो, अव त स्थानीय चुनाव होला, राजनीतिक विवादमा पूर्णविराम लाग्ला र स्थिरता र विकासको युग सुरु होला भनेको त निर्वाचन हुन १२ दिन बाँकी हुँदासमेत देशभरि चुनावी माहोल बन्न सकेन । अहिले पनि ठूला चार राजनीतिक शक्तिहरु कांग्रेस, माओवादी, एमाले र राप्रपावीच नै राजनीतिक चक्रव्यूह घुमिरहेको छ र यो चक्रव्यूहको मुख्य कारक मधेसी दलहरु रहेका छन् । तिनलाई पनि मूलधारमा ल्याएर निर्वाचनमा सहभागी गराउने जुन उद्देश्यमा सत्तारुढ कांग्रेस, माओवादी र राप्रपा लागेका छन्, तिनीहरुको मधेसवादी समर्थनमा अराष्ट्रियता, बेमेल, राष्ट्रघात प्रभावी रहेको प्रमुख प्रतिपक्षी एमालेको आरोप रहेको छ । यो आरोपको पटाक्षेपका लागि ठूला दलहरु एकै ठाउँमा बसेर पारदर्शी रुपमा बहस गर्न र निकास निकाल्न सकेनन् । एकदोश्रालाई जवाफ दिने, देखाइदिने अपवित्र प्रतिस्पर्धाका कारण राजनीति राष्ट्रवादबाट विचलित हुनथालेको छ ।
    समुद्रको मझधारमा डुङ्गामा प्वाल पर्‍यो भने जुन छटपटी र आपातकालीन स्थितिमा यात्रुहरु हुन्छन् र आत्तिन्छन, ठीक त्यस्तै अवस्था छ वर्तमान नेपालको । अव त संविधान, पद्धति र आमनेपालीमात्र होइन, राष्ट्रसमेत डुब्न लागेको डुङ्गा र यात्रु उद्धार पर्खेर बसेको स्थितिमा पुगिसकेका छन् । आमजनता के ठीक र के बेठीक भनेर छुट्याउन सकिरहेका छैनन् भने ठूला दलहरु आ–आफ्ना स्वार्थअनुकूलका कुरा ठीक भनेर जनताको आँखामा छारो हालिरहेका छन् । ९१ प्रतिशत सांसदको अनुमोदनमा संविधान जारी भयो, यस्तो संविधान स्वत: कार्यान्वयन हुनुपर्ने हो । निर्वाचन मुखमा छ र संविधानको आफूअनुकूल संशोधन नभए निर्वाचन हुनै नसक्ने ठोकुवा गरिएका विवादहरु सार्वजनिक भइरहेका छन् । राजनीतिक दलहरुकै कारण जनताको सार्वभौम अधिकार खोसिएको छ र खोसिने निरन्तरता पनि जारी देखिन्छ । लोकतन्त्र, लोकतन्त्र भन्ने, लोकतन्त्रका गरिमा र महिमा, लोकनेतामा हुनेपर्ने जनता र देशप्रतिको जवाफदेहिता केही पनि नराख्ने हो भने लोकतन्त्र कसरी राष्ट्रिय जीवन बन्नसक्छ र ? अहिले जे भइरहेको छ, जे देखिएको छ, ती सबै निरंकूशता र जंगलराज मात्रै हो । अव त लोकतन्त्र हाँक्ने नेताहरुले आफूलाई लोकतान्त्रिकरण गर्नुपर्छ । होइन, यस्तै मनलागी र जबरजस्ती चरित्र देखाउने हो भने देशमा लोकतन्त्र बिना पिँधको लोटाजस्तो अर्थात पुङ्माङ बन्न पुग्नेछ । यो राष्ट्रमाथि अतिसार हो ।
    लोकतन्त्र विश्वमै सबैभन्दा उत्तम व्यवस्था हो । नेपालमा पनि पञ्चायत भएन, बहुदल पनि भएन भनेर लोकतन्त्र पद्धतिमा प्रवेश गरेको हो । लोकतन्त्रलाई संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रजस्ता फुँदाहरु पनि जोडियो । जसका कारणले लोकतन्त्र क्लिस्ट कविताजस्तो बन्नपुग्यो । लोकतन्त्र त तमाम लोकले बुझ्ने खालको हुनुपथ्र्यो, क्लिष्ट बनाइएका कारणले जोखिम बढेको छ, अनेकन समस्याहरु थपिएका छन् र असहज बनाइएको छ । नीति र नैतिकता, सिद्धान्त र निष्ठाको कसीमा लोकतन्त्र भिज्न र घुलमिल हुनसकेको छैन । चेतना रहोस् ।