Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

यो केमेष्ट्री, जो चर्चामा छ

०९ सोमबार , फाल्गुण २०७३८ बर्ष अगाडि

    फागुन ६ गते, एकीकृत राप्रपाको अधिवेशनको उद्घाटन समारोह । एमाअ‍ेवादी अध्यक्ष तथा प्रधानमन्त्रीले किन किन राप्रपा मनपर्छ, निकट लाग्छ भन्ने प्रतिकृया दिएपछि राप्रपा अध्यक्ष कमल थापाले एकताको प्रतीकको रुपमा लोकतान्त्रिक राजतन्त्र र हिन्दुधर्म मानौं भनेर सार्वजनिक प्रस्ताव नै गरिदिए । एमाले र माओवादीको सरकार टिकेन, अहिले माओवादी र कांग्रेसको सरकार पनि ढलपल ढलपल गरिरहेको छ । यद्यपि दुबै सरकारमा राप्रपा नेपाल थियो, तर राप्रपा नेपालको त्यो हैसियत थिएन, जुन यो राप्रपा र राप्रपा नेपालको एकीकृत अधिवेशनबाट देखिएको छ । यो हैसियतलाई माओवादीका अध्यक्ष प्रचण्डले दूरदृष्टि राखेर निकट ठानेका हुन्, मित्र मानेका हुन् ।
    त्यसो त यही मञ्चबाट एमालेले राप्रपालाई राजनीतिक शक्ति बन्ने शुभकाामना नै दिए । एमाले माओवादीभन्दा शक्तिशाली भएको हेर्न चाहन्छ राप्रपालाई । त्यो देखियो, सार्वजनिक रुपमै देखियो । राप्रपाको एकीकृत शक्तिले आगामी कुनै पनि चुनावमा चमच्कारिक नतिजा निकाल्न सक्छ भन्ने भेउ पाएरै माओवादी र एमालेले निकट ठानेका र निकट मानेका हुन् ।
    स्मरणीय छ, पहिलो संविधानसभामा यिनै कमल थापालाई पोखराको पृथ्वीचोक र मकवानपुरबाट बौलाह लखेटेझैं लखेटेकै हो । तर समय र राजनीतिको बहाव नदीको जस्तो हुनेरहेछ । भन्न पनि भनिन्छ, राजनीतिमा कोही स्थायी मित्र र स्थायी शत्रु हुन्न । त्यही उक्ति राप्रपाका सन्दर्भमा लागू भएको देखिन्छ । आज राप्रपाको शक्ति र हैसियत बढ्नु भनेको जनबलबाट आत्मसम्मान आर्जन गर्नु हो । त्यो आर्जन गर्न राप्रपा सफल भएको छ ।
    नेपाली राजनीतिमा केन्द्रविन्दुमा छन् प्रचण्ड, जबदेखि जनयुद्ध छाडेर लोकतान्त्रिक मैदानमा आए । उनको यो निरन्तरताले उनीभित्र नेपालमा राजनीतिक परिपक्व खेलाडीका रुपमा प्रचण्ड स्थापित भइसकेका छन् । यद्यपि उनी राजनेता बन्न सकेनन्, तथापि उनले राप्रपालाई निकट ठान्नुले र समाजमा लोकतान्त्तिक राजतन्त्रसहितको हिन्दूधर्मको सम्भाबनाका छनक मनक देखिनुले माओवादी र राप्रपाको केमेष्ट्रीले केही नयाँ देखाउाछ कि भन्न थालिएको छ ।