Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

न मार्गचित्र छ, न प्रतिवद्धता

१० सोमबार , माघ २०७३८ बर्ष अगाडि

    सग्लो नेपाल, सिङ्गो एकता र बलियो राष्ट्रियताका लागि राजनीतिक दलहरुको न मार्गचित्र छ, न प्रतिवद्धता नै । यसको मूलकारण सबैका लागि मान्य हुने राष्ट्रिय नीति नबन्नु नै हो । जब राष्ट्रिय नीति हुन्न, तव आआफ्ना तरिकाले व्याख्या गर्ने परिपार्टी बस्छ, अहिले त्यही भइरहेको छ ।
    राष्ट्र संकटको भीरतिर उन्मुख छ । राजनीतिक परिस्थिति र घटनाक्रमले त्यस्तै दृश्य देखाइरहेको छ । राष्ट्रिय एकता र अखण्डतामा आँच आउने गतिविधि एक्कासी बढेर गएका छन् । राष्ट्रको मूल कानुन संविधान जारी भयो तर यसको संशोधन गर्ने प्रक्रियाले यति ठूलो भय उत्पन्न गराइदिएको छ कि राष्ट्र बिखण्डन र बिभाजन हुने हो कि भन्ने खतरासमेत देखिन थाल्यो । यसको मूल कारण राजनीतिक दलहरुमा राष्ट्रियताप्रतिभन्दा राजनीतिक स्वार्थ हावी हुनु, संकीर्णता र भागबण्डाको नीति स्थापित गरिनु हो । यो दुस्चक्रले राष्ट्रको स्थिरता र सम्पन्नतामा खिया लगाइरहेको छ, राष्ट्रलाई कमजोर पार्दै लगेको छ । राष्ट्रको स्वतन्त्रता,स्वाधीनता र सार्वभौमिकतामाथि धावा बोल्ने कार्य रोक्ने ताकत र ल्याकत कसैमा देखिदैन । कमजोर र अराजक राजनीतिको लाभ उठाएर विदेशी अभिष्ठहरु बढी सलबलाउन र सक्रिय हुनथालेका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैतिर राजनीतिक भागबण्डा हुनुले संविधान कागजमा सिमित मात्र भएको छैन, खतरनाक निरंकूशता देखिदैछ ।
    संघीय शासन प्रणालीमा जाने निधो गरेका राजनीतिक दलहरुले अर्जुनदृष्टि राख्न सकेनन् । फलत: संघीयता भागबण्डाकै आधारमा चलाउने उनीहरुको मनस्थिति देखिन्छ । स्वार्थ र विदेशीबाट निर्देशित नेतृत्वले विधिको शासन चलाउन सक्दैन । दिवासपना देखेर र भाषणले संघीयता चलाउने जुन दुस्साहस हुनथालेको छ, त्यो कोरा कल्पना र क्षणिक लाभको दृष्टिमात्र हो । यसरी दलदल र असफलतामा सिमित हुनपुगेको राष्ट्रिय शासन पद्धतिलाई उतार्ने नेतृत्वको नितान्त अभाव देखिन्छ । यसैगरी मनपरीतन्त्र चलाउने हो भने राष्ट्रको स्वतन्त्र अस्तित्व छिटै बिलीन हुनसक्छ, यस्तो खतराका आहट सुनिन थालिसक्यो । १९७५ को सिक्किमको समाप्ति र पाकिस्तानको बिभाजन देखेका राजनीतिक दलहरुले नेपालमा त्यस्तै द्वन्द्वहरु सिर्जना गरिरहेका छन् । बुझेर बुझ पचाउनु र निदाएको बहाना गरेर आँखा चिम्लनु भनेको मृत्युको घण्टालाई निम्त्याउनु हो । अरु कुनै बाधाअड्चन छैन, केही छ भने राजनीतिक दलहरुको सत्तालोलुपता, हानाथाप र कुत्सित आकांक्षाको उवालमात्र हो । त्यही अलोकतान्त्रिक चरित्रका कारणले राष्ट्रमा विभाजन र बिखण्डनको बाढी उर्लन थालेको देखिदैछ । शान्ति, समृद्धि, स्थिरता र विकास भनेर अपेक्षा गर्ने लोक लोकतान्त्रिक नेताहरुको अलोकतान्त्रिक, गलत क्रियाकलापबाट प्रताडित भइरहेका छन् । यो प्रताडना नेताहरुको सिर्जना हो । यो गम्भीर र खतरनाक सिर्जना रोकिएन भने राष्ट्र असफल बन्ने छ र बिघटनतिर जानेछ । व्यवस्था नचले फेर्न सकिन्छ, राष्ट्र असफल भइसकेपछि पुन: सफलताको लिकमा ल्याउन मुस्किल पर्छ । किनकि विदेशी ताकतहरु भित्रिन्छन् र नेपाललाई डुबानबाट बच्न मुस्किल पर्नेछ ।
    एकदोस्रालाई लाञ्छित गरेर, विभेदमा पारेर राष्ट्र यो भेलबाढी तर्न सक्दैन । यसका लागि राष्ट्रिय एकता आवश्यक छ । जोखिमपूर्ण बनिसकेको राष्ट्रिय एकता पुनर्ताजगीकरण गर्नका लागि उदारता र देशभक्तिको जरुरत छ, जुन उदारता र देशभक्ति वर्तमान नेतृत्वमा पटक्कै देखिदैन । चेतना भया ।