Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, मंसिर २०८३23rd November 2026, 12:23:53 am

नेपाल–भारत सम्बन्धमा नयाँ आयाम

०९ मंगलबार , मंसिर २०८३१३ घण्टा अगाडि

नेपाल–भारत सम्बन्धमा नयाँ आयाम

    नेपालमा युवा नेतृत्वको सरकार आएपछि छिमेकी भारत र चीनले सम्बन्धलाई नयाँपन, न्यानोपन, समानतापन दिन प्रयास थालेको अनुभूति गर्न सकिन्छ । भारतले नेपालको युवा नेतृत्वको सरकारलाई मनाउन लामै प्रयास गरेपछि प्रम बालेन साह भारत भ्रमणमा गए, उनलाई ऐतिहासिक सम्मान दिएर हार्दिकता र खुला रूपमा दुई देशवीचका समस्याहरूबारेमा जुन प्रकारले बहसको सुरूआत भएको छ, त्यो नेपाल र ारत दुबै मुलुकका लागि हितकारी त भएकै छ, विश्वले देख्दा पनि भारतले साना छिमेकप्रति उदारताको नीति अख्तियार गर्न थालेको बुझ्न सकिन्छ ।
    नेपाल भारतवीच सुमधुर सम्बन्ध छ भनिन्छ तर नेपालप्रति भारतको शोभनीय र सभ्य व्यवहार देखिदैन । यसको मूल कारण १९५० को सन्धि र बहुदलकालमा भारतले नेपालमाथि थोपरेका सहमति र समझदारीहरू हुन् । जसका लागि बहुदल र लोकतन्त्र कालका शासकहरू जिम्मेवार रहेका छन् । तथापि नेपालले बिराशतमा प्राप्त भारतीय अतिवाद, हस्तक्षेप र अतिक्रमणवादलाई सच्याउन आग्रह गरेको छ र भारतले पनि नीति बदलेको व्यवहार देखाएको छ । अहिलेसम्म भारतले एकहातले दिएजस्तो गर्ने र अर्को हातले लुट्ने जुन प्रवृत्ति नेपालमाथि भारतको सदावहार नीति रहेको थियो, अब त्यो रोकिनुपर्छ । रोक्ने छनक देखाएको छ । नेपालको युवा नेतृत्वको सरकारप्रति भारत सजग देखिन्छ । जेनजी बिद्रोहपछि बनेको युवा नेतृत्वको सरकार आन्तरिक रूपमा धेरै सुधार गर्दैछ भने कूटनीतिक रूपमा पनि सुधार ल्याउन चाहन्छ । यसका लागि प्रम बालेन साहले भारतको भ्रमण गरेका हुन् । मूल कुरो सबैसँग समानताका सम्बन्ध राखेर आँखामा आँखा जुधाएर अघि बढ्ने जुन हिम्मत प्रम बालेन साहले देखाएका छन्, यसको अन्तर्य भारतले बुझ्न ढिला गरेको छैन । समय बदलियो, समानताको तोड छैन भन्ने भारतले मनन गरेको छ, यसको दृष्टान्त यसपल्टको प्रम बालेनको भारत भ्रमणलाई लिन सकिन्छ ।
नेपालको राजनीतिक परिवर्तन र ३५ वर्षे युवालाई नेपाली जनताले दिएको ऐतिहासिक जनादेशबाट विश्व चकित छ । पुराना नेताहरूलाई जनताले पन्छाइदिएका छन् । अब नेपाल नीतिमा परिवर्तन ल्याउनैपर्छ भन्ने भारतले सोच्यो र नयाँ दिल्लीको विदेश नीति क्षेत्रका कूटनीतिज्ञ, विद्वान र थिंकट्यांकहरू प्रधानमन्त्री वालेन्द्र शाहको अलग तौर तरिकाबाट चकित छन् । नेपाल र नेपाली नेताहरूप्रति नयाँ दिल्लीको लामो समयदेखिको दबदबा र आदेशात्मक–उपदेशात्मक व्यवहारलाई भारतले सच्याएको छ । वालेन्द्र शाहको अनावश्यक ठानेमा पन्छाउने र देशहीतमा छ भन्ने लागेपछि आत्मसात गर्ने परिपक्व नेपालवादी कूटनीतिले भारतको टाउको घुमाइदिएको छ । शायद युवा नेताले भारतका सामु राजा महेन्द्रपछि पहिलोपल्ट शिर उठाएर छलफल गरेका छन्, सम्बन्धलाई नयाँ र नेपालीपन दिएका छन् ।
नेपालको नयाँ राजनीतिक र कूटनीतिक शैलीले भारतमा कति छाप छोड्न सक्यो, सम्बन्धलाई नयाँपन र स्थिरता दिन सक्यो सकेन, त्यसको नतिजा आगामी दिनमा देखिदैजाला । प्रम बालेनप्रति आन्तरिक राजनीतिमा प्रतिपक्षीले जतिसुकै आलोचना गरे पनि त्यसको कुनै अर्थ रहेन भन्ने कुरा प्रम बालेनले भारतसँग सम्मानजनक संवादबाट दुबै मुलुकवीच रहेका सीमादेखि सबै प्रकारका विवादहरूको अन्त गर्ने ढोका खोलेबाट बुझ्न सकिन्छ । भारतले बुझ्यो कि नेपालको आन्तरिक राजनीतिले काँचुली फे¥यो, पुराना पातहरू झरे, नयाँ पातहरूहरू हरियाली भएका छन्, नेपालको राजनीति स्थिर हुनथालेको छ । यही स्थिरताले सम्बन्ध सुधारिदैछ, अब नाकावन्दी अथवा यस्ता तिक्तताहरूको आवश्यकता पर्नेछैन । हिजोका राजनीतिक हस्तीहरूले भारतको काखमा खेल्दै खाँदै दुई देशवीचका मुद्दाहरू बिस्तार गर्दैलगे, १९५० को सन्धिदेखि इपीजीको रिपोर्टसम्म पनि भारतले बुझ्न चाहेन । नेपालमा जे गरे पनि हुन्छ भन्ने विकसित भारतीय मनस्थितिले समस्या बढाउँछ भन्ने भारतले प्रम बालेनको यही भ्रमणबाट बुझेको हुनुपर्छ । आउने दिनहरू नेपाल भारतको सम्बन्धको नयाँ र सम्मानित श्रृङ्खला सुरू भयो भन्दा हुन्छ ।