
बहुदलको परिणाम त कालरात्रि सावित भएकै हो । त्यसपछि लोकतन्त्र र जनयुद्धको परिणाम के देखियो त ? जसरी बहुदल सराप सिद्ध भयो, त्यसैगरी लोकतन्त्र र जनयुद्ध पनि देशका लागि सराप नै सिद्ध हुनपुगेको हो । अब नयाँ पुस्ताले केही गर्छ भन्ने जनतामा ऐतिहासिक जुन उत्साह देखिएको थियो, त्यो उत्साह शनैः शनैः घटेर जाँदो छ । कतै ऐतिहासिक भनेर विश्व चर्चित भएको नयाँ पुस्ताले चलाएको नेपाल सरकार पनि सराप सिद्ध नै हुने त होइन ?
भारतले साक्षी पठाएको थियो बेदान्ताचाई करण सिंहलाई । आन्दोलनलाई परिणाममा पु¥याउने राजालाई मरेको संसद ब्यूँताउन बाध्य पारियो । ०६३ साल वैशाख ११ गते संसदको भूत ब्यूँतिएपछि जग बसेको थियो लोकतन्त्रको । जनयुद्धकारी माओवादी पनि लोकमय बन्न राजीभएको पूर्वाङ्ग थियो त्यो समझदारी । ५ बुँदे समझदारीमा लेखिएको थियो, कुनै पनि प्रकारको राजतन्त्रको निरन्तरता हुनेछ । तर राजासँग सम्झौता गर्ने ७ दलले त्यो परिवर्तनपछि मुख मोड्दै गए र २०६५ साल जेठ १५ गते नेपाललाई धर्मनिरपेक्षता र गणतन्त्रतिर उन्मुख गराए ।
समयक्रममा माओवादीसहितका राजनीतिक दलहरु लोभीपापी निस्किए, स्वार्थलम्पट हुनपुगे, भ्रष्टाचारमा रमाउन थाले । लोकतान्त्रिकतन्त्र भाँडभैलोतन्त्रमा परिणत हुनपुग्यो । ०५२ फागुन १ गतेदेखि २०६२ साल मंसिर ५ गतेसम्मको १० वर्ष ९ महिना ५ दिन लामो जनयुद्ध र १९ दिन जनआन्दोलनमा १३ हजार २ सय ७४ नागरिक मारिए, १ हजार २ सय बेपत्ता भए, हजारौंहजार बेसहारा, अन्धअपाङ्ग बने, अरवौंका विकासका आधारहरु ध्वस्त पारिए, किन ? कुन औचित्यका लागि ? केही जननेता नामधारी महारथीहरुलाई सत्तालिप्सामा टाँस्सिने र कौडी पिचास बनाउनेका लागि ? यो ऐतिहासिक परिवर्तनमा निर्णायक बनेका जनताको भागमा आँसु, पीडा, डाहा र छटपटीमात्र प¥यो, ती जनता आज पनि आँसुको पोखरीमा डुबिरहेका छन् । कैयौं मरिसके, कैयौं असरल्ल जीवन बाँचिरहेका छन् । आज पनि जनयुद्धका घाउ निको पार्नतिर कोही पनि लागेका छैनन् । लोकतन्त्र लोकतन्त्र भनेर फलाक्ने तत्कालीन ठूला दलहरुलाई अलिकति पनि लज्जावोध देखिदैन ।
जब राजनीतिमा इमान र लोकलज्जा रहँदैन, त्यो राजनीति नभएर व्यापार हुनजान्छ । हो, ०४६ सालदेखि ०८२ सालसम्म शितल निवासमा रजगज गरेकाहरु व्यापारी राजनीतिज्ञहरु थिए । व्यापारीका लागि मुनाफा महत्वपूर्ण हुन्छ । उसलाई न्याय अन्यायको छ्यानब्यान रहन्न । अचम्म त के छ भने २०६३ को परिवर्तनपछि सबैभन्दा बढी समय सत्तामा ढलीमली गर्ने कम्युनिष्टहरुले राजनीतिलाई व्यापार बनाए । व्यापार गरे । प्रजातन्त्रको बिडा उठाउने भनेर नाक फुलाइरहने कांग्रेसले आफ्नो नीति सिद्धान्त र निष्ठालाई समेत दाउमा राखेर कम्युनिष्टलाई साथ दिइरहे । जनताका प्राथमिक हकअधिकार शिक्षा, स्वास्थ्य, रोजगारीमा समेत यी दलहरुले व्यापार चलाए र आज अधिकांश कांग्रेस, कम्युनिष्टका नेताहरु सम्भ्रान्त छन्, नवसामन्तको जीवन यापन गरिरहेका छन् । तथापि कांग्रेस, कम्युनिष्ट समाजवाद, सर्वहारावादको नारा फालेकर थाक्दैनन् । नेपालमा कांग्रेस कम्युनिष्ट बदनाम मात्र छैनन्, तिनको जनविश्वासको स्तर तिनकै जनबिरोधी कृयाकलापले घट्यो ।
गतसालको जेनजी विद्रोहको कारण पुराना दलहरु नै हुन् । तिनको अकर्मण्यताको साइडइफेक्ट थियो जेनजी विद्रोह । त्यो यस्तो विद्रोह थियो, जसले बहुदल, लोकतन्त्रको जगै उखेलिदियो । यसपछि आयो नयाँ पुस्ताको लहर । चुनावमा जनताले नयाँ पुस्तालाई बरण गरिदियो । लावण्यजस्तो नेपाल देशको राजा त बने बालेन साह, तर जनताको राजा बन्न सक्छन् कि सक्दैनन्, त्यो परीक्षा सुरु भएको छ । जनयुद्ध र लोकतन्त्रको परिणाम त भ्रष्टाचार र अनैतिकता भयो । नयाँ पुस्ताको सरकारले दिने परिवर्तन सुशासन हुन्छ कि हुन्न ? जनताले खोजेको रोजगारी, समृद्धि, राहत र शान्ति बन्छ कि बन्दैन ? समय कम छ, नयाँ पुस्ता– परिवर्तन देखाउ ।


