
पशुपतिनाथले रक्षा गरून् भन्ने विषय प्रम बालेन साहले पनि उठाए । राष्ट्रसंघको मञ्चबाटै उठाए । यसकारण दुई तिहाईको सरकारले हिन्दुराष्ट्र घोषणा गर्न ढिला किन गर्ने ? हिन्दु परम्परा र संस्कृतिलाई सामन्तको संस्कार ठान्ने कम्युनिष्ट बढारिसकेका छन् । स्थानीय निर्वाचनपछि झन बढारिनेछन् । यद्यपि कम्युनिष्टहरू पनि हिन्दु परम्परामा भिजेका छन्, नारा चाहिं धर्मनिपेक्षताका लगाउने गरेका छन् । यो नाटक धेरै भयो । यथार्थमा नेपालका पुराना कांग्रेस, कम्युनिष्ट, मधेशवादी र नयाँ ठूलो दल रास्वपा सबै हिन्दुवादी छन् । यसकारण हिन्दुराष्ट्र घोषणा गर्न ढिला नगरौं ।
छठ भन्नुस् कि दशैं, तिहार भन्नुस् कि हिन्दु जात्राहरू, सबैतिर अरु त छँदैछन्, कम्युनिष्ट अग्रपंक्तिमा देखिन्छन् । कम्युनिष्ट बिग्रेका हुन् कि सप्रेका, अहिले चर्चा नगरौं । यो चर्चा जरूरी छ कि नेपाल हिन्दुराष्ट्र थियो, छ र रहिरहनेछ । संविधानमा धर्मनिरपेक्षता लेख्ने कम्युनिष्टहरु धुरन्धर पण्डित पल्टेको धेरै भयो । यहाँसम्म कि दशैंको टीका त घुँडा टेकाएरै लगाइदिएको, लगाएको पनि देखिएकै हो । हिन्दुत्व अमर छ, रहिरहनेछ ।
नौसिखा कम्युनिष्टहरू राजाको हातको टीका लगाउनु हुन्न भन्थे । श्री ३ को पारामा टीका लगाइदिने श्री ६ जस्ता राष्ट्रपति प्रधानमन्त्रीलाई सही सुझाव दिन सक्दैनन् । किन ? नागरिकको इज्जत गरेमात्र नागरिक समाज सम्मानित हुन्छ, संविधान सम्पोषित हुन्छ, संस्कार र धर्मको पनि रक्षा हुन्छ भन्ने कुरा सिकाउँदैनन् । १८ वर्षसम्म प्रधानमन्त्री निवासलाई पार्टी कार्यालय, कूलघर र पाँचदिनसम्म टीका लगाउने थलो बनाउँदा पनि नेकपाका कार्यकर्ता, थिंकटैंकहरूलाई पाच्य भएको थियो । त्यतिबेला प्रधानमन्त्री, राष्ट्रपति निवासमा कुन जनताको भीड गयो टीका लगाउन, टीभीले देखाएकै थियो । हिजोका दिनमा एक दिन टीका लगाए पुग्नेमा सरकारी कर्मचारीलाई कार्यालय जानुभन्दा प्रधानमन्त्रीकोमा टीका लगायो घरतिर गयो, सजिलो पारिदिए प्रधानमन्त्रीले । यिनैको ओठमै झुण्डिएको थियो, समृद्ध नेपाल, सुखी नेपाली । भदौ २३ र २४ गते जेनजी पुस्ताले बिद्रोह गरेर यिनको हैसियत देखाइदिएकै हो । अब समय परिवर्तन भयो, सबैकुरा परिवर्तन गर्ने बेला भयो । भूल सुधार गर्ने समय यही हो । यसकारण नेपाल हिन्दुराष्ट्र थियो र छ भन्ने दिन आयो, अबेर नगरौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि जनताको कुरा दोहो¥याएर भनेका थिए र छन्, संवाद सहमति र सहकार्यका साथ अघि बढौं, देशका समस्यासँग सामना गरौं । मसँग भएका सहमतिको पालना गरौं । पूर्वराजाले शक्तिको आशक्ति देखाएको छैन । मात्र नेपाल र नेपालीको शान्ति र प्रगति चाहेको हो ।
जेहोस्, कांग्रेस, कम्युनिष्ट, मधेशवादी, रास्वपा सबै हिन्दुधर्मप्रति सहज छन् । फेरि कसको भयले हिन्दुराष्ट्र घोषणा गर्न तगारो लागेको हो ? हिजो जे भूल भयो, सच्याउँ । नेपाललाई हिन्दुराष्ट्र घोषणा गरौं । जब सबै धर्मप्रति समभाव राख्ने यो धर्म दुई तिहाईको सरकार, राष्ट्रपति, सुरक्षा निकायदेखि सबै संवैधानिक अंगहरूलाई मान्य छ भने संविधानमा धर्मनिरपेक्षता किन लेखिराख्ने ? जे पनि संशोधन गर्नसक्ने बहुमत भएकाले अव विश्वकै एकमात्र हिन्दुराष्ट्र नेपालको पहिचान कायम गराउने सुनौलो अवसर रास्वपाको सरकारलाई प्राप्त भएको छ । यो अवसरको उपयोग गरेर बालेन सरकारले नेपाललाई हिन्दुराष्ट्र घोषणा गरायो भने यसले प्राप्त गरेको लोकप्रिय मत अझ बढ्नेछ । जनताले खोजेको माग पूरा हुनेछ ।


