जनता देश अखण्ड हुनुपर्छ, खण्ड खण्ड पारिनु हुन्न भनेर जति चिच्याए पनि नेताहरु किन सुनिरहेका छैनन्? जनआवाज नसुन्ने अनि आफूलाई लोकतान्त्रिक भन्ने नेताहरु जनताका, देशका दुश्मनका रुपमा उभिन पुगेका छन्। हिमाल, पहाड र तराई कोही छैन पराई भन्ने अनि पहाड र तराईलाई संघीयताा नाममा अलग गरिदिने जुन दुश्कर्म भइरहेको छ, संविधान संशोधनका नाममा जुन खेलबाड गरिन थालिएको छ, त्यो यथार्थमा अराष्ट्रिय तत्वले गर्ने कर्म हो। एउटा सच्चा लोकतान्त्रिक, राष्ट्रिय एकताका पक्षधर, नेपाली पहिचान र शक्तिको पुजारीले गर्ने देशलाई केक काटेजसरी टुक्रा टुक्रा पार्ने काम गर्दैन।
आमनागरिकले संविधान निर्माणका बेलामा हिन्दूराष्ट्र हुनुपर्छ भनेर सुझाव दिए, त्यो सुझावलाई रद्दीको टोकरीमा मिल्काइयो। अहिले जनताले ५ नम्बर क्षेत्र टुक्य्राउनुपर्छ, मधेस र पहाड अलग पारिनुपर्छ भनेर कतै कसैले माग नगर्दा एकाएक प्रधानमन्त्रीले पहाड र तराईलाई अलग पार्ने संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्नपुगे। यो थाहापाएपछि जनताले सडक, जनप्रतिनिधिमार्फत संसद र मन्त्रीमार्फत सरकारविरुद्ध नै आवाज उठाइरहेका छन् तर प्रधानमन्त्री सुन्दैनन्। यी नेपाली जनताका प्रधानमन्त्री हुन् कि विदेशीका कठपुतली? नेपालीका प्रधानमन्त्री थिए भने उनले जनआवाज सुन्नुपर्थ्यो, आवाजको कदर गर्नुपर्थ्यो, जनादेश मान्नुपर्थ्यो। प्रधानमन्त्री विदेशीले भनेको सुन्छन्, विदेशीलाई महत्व दिन्छन्, सार्वभौम जनताको हुर्मत लिने गरी आन्दोलन गरे गर भनेर नसुनेझैं गरिरहेका छन्। यो दृश्य दृष्टान्त भनेको नेपालमा लोकतन्त्रको नाममा नौटंकीतन्त्र चलिरहेको छ भन्ने नै हो।
नेपाल सधैं स्वतन्त्र थियो, अखण्ड थियो। यसकारण नेपाल खण्ड खण्डमा खण्डिकरण हुनसक्दैन। संघीयताका नाममा बिखण्डनको बीउ रोपिए पनि नागरिकले त्यो बिखण्डनवाद विरुद्ध लाप्पा खेल्नेछन्, संघर्ष गर्नेछन् र एक नेपालको पहिचान यथाथवत कायम गर्नेछन्। यी नेता जनताले बनाएका नेता हुन्। जनता बनाउन सक्छन् भने यिनको नेतृत्व खुस्काउन पनि सक्छन्। जनताभन्दा ताकतवर केही पनि हुनसक्दैन। हो, अहिले जनता हेरिरहेका छन्, सहिरहेका छन् र नेताहरु मिलेर जे पनि गर्न सकिन्छ भन्ने ह्याउ बढाउँदै गएको अवस्था छ। नेपाली जनता जाग्दैनन्, जागेपछि थला नपारी थाक्दैनन् पनि। इतिहास यसै भन्छ। नेपालीको राष्ट्रवाद विश्वमै अतुलनीय छ। नेपाली इमान्दार छन्, सहनशील छन् र राष्ट्रभन्दा ठूलो कसैलाई मान्दैनन्। यो यथार्थ बुझेका छन् नेताहरुले। खाली हेपेर केही समय शासन गर्न सकिन्छ कि भनेर जनताको सहनशीलताको सीमासम्म विदेशपरस्त भएर सत्ता, शक्ति र सम्पत्तिको राजनीति गरिरहेका छन्। अव जनताले बुझिसके कि यी नेताहरुबाट पात हल्लिदैन। यी नेताका अनुहारका राष्ट्रघातीहरु हुन्, यिनलाई दण्ड दिनैपर्छ। जनता जागरुक भएकाले नेताहरु नचेत्ने र देशलाई टुक्रा पार्न कस्सिएकै हो भने नेताहरुको दुर्दिन सुरु भयो भन्दा हुन्छ। किनकि जनता जागेको दिन यी नेताहरु निकम्मा हुनेछन्।