Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

बाढीले ल्याएको बिपत्ति

१६ मंगलबार , भाद्र २०८३३४ मिनेट अगाडि

बाढीले ल्याएको बिपत्ति

भोटेकोशी बाढीले जुन विपत्ति ल्याएको छ, यो विपत्तिले विश्वलाई नै झस्काएको छ । नेपालमा देखिएको मानवीय क्षतिको बिकराल समस्या देखेर विश्वले नै नेपालप्रति सहानुभूति देखाएका छन् । नेपाललाई के कसरी सहयोग गर्न सकिन्छ भनेर सोधिरहेका छन् । नुवाकोट, धादिङ, गोरखा, चितवनसम्म प्राकृतिक प्रकोपले बितण्डा मच्चाएको छ ।
जनताका लागि सरकार छ भनेर सरकारले देखाएको सकृयता, सरकारले परिचालन गरेको सेना, प्रहरी, सशस्त्र र पार्टीहरूले परिचालन गरेका युवाशक्तिले राहत, उद्धार तथा खोजी कार्य भइरहेका छन् । संसद, सडक र सामाजिक सञ्जालमा देखिएको सरकारविरोधी प्रतिपक्षीको आरोप, प्रत्यारोप रोकिएका छन् र सबै राष्ट्रिय संकटसँग जुध्न सरकारका साथमा उभिन पुगेका छ्न । सबैले यो विपद्को समयमा राजनीतिक दलहरूले आफ्ना संयन्त्रलाई नागरिक बचाउन प्रयोग गर्नुपर्ने, राहत सामग्री जुटाउनुपर्ने र स्वयंसेवक परिचालन गर्नुपर्नेमा जोड दिइरहेका छन् । यो समय सबैले सरकारसँग उभिएर राष्ट्रिय विपदसँग जुध्नुपर्ने कर्तव्यवोध गरेका छन् ।
तत्कालको उद्धार, राहत, त्यसपछि पुननिर्माण र जनजीवनलाई लयमा फर्काउने जटिल समस्या रहेको छ । यसका साथै यस्ता प्राकृतिक विपद्बाट हुनसक्ने जोखिम कसरी घटाउन सकिन्छ, दीर्घकालीन रूपमा पूर्व सूचना प्रणाली स्थापित गर्नुपर्ने आवश्यकता पनि छ । हजारौंको ज्यान गएको छ, घर, बजार सबै बगर बनेका छन्, अंगभंग भएका कति छन् कति, यो शोकलाई शक्तिमा बदल्नका लागि सरकारले सबैको साथ र सहयोग लिनुपर्छ, सबैले मानवीय कर्तव्य पूरागर्न सरकारको साथ दिनुपर्ने छ ।
भूकम्पले देशै अस्तव्यस्त भयो, कोरोनाले महामारी नै ल्यायो, वर्षेनी हुने बाढी पहिरोको समस्यासँग जुध्दै जुध्दै शान्ति, विकास, सुशासनका साथ अगाडि बढ्न खोजेको देश फेरि भोटेकोशी बाढीले भुइँको भुइँमै थचारिदिएकोछ । प्राकृतिक विपद् जुनसुकै बेला आउनसक्छ, जलवायु परिवर्तनमा ध्यान दिन नसक्दा पनि बढी क्षति हुनपुगेको छ ।
देशले ठूलो क्षति बेहोरेको छ । उद्धार र खोजी, राहत र साधनस्रोत जुटाउने प्रयास भइरहेको छ । अहिले नै कहालीलाग्दो परिस्थिति छ, अन्तिम विवरण आउँदासम्म झन कहालीलाग्ने परिदृश्य देखिन सक्छ । बाढीको कहरले देश पीडामा छ । मानिस पीडामा छन् । विपद्का दृश्यले मानिसलाई गिज्याइरहेको छ । मानिसका सपनाहरू बगर बनेका छन् । बगरलाई पुनः मानिस बस्ने गाउँ, बस्ती, सहर बनाउनु छ । बनाउने युवाले हो । एकदोस्रालाई खुइल्याउने राजनीतिको अन्त गरेर कम्तिमा १० वर्ष सबै राजनीतिक र प्रशासनिक शक्तिले काम गर्ने हो भने आज मृतजस्तो देखिएको परिस्थितिलाई बदल्न सकिन्छ, नेपाली समाजलाई जिवन्त बनाउन सकिन्छ ।
अहिले आँसु छ, छटपटी छ । यो आँसुलाई शक्ति र छटपटीलाई शान्तिमा रूपान्तरण गर्न राष्ट्रिय एकता जरूरी छ । एकता देखिएको छ, यही एकताले यो कहरलाई झेल्न र पुननिर्माण गर्न सकिन्छ भन्ने विश्वास नागरिक समाजमा हुनुपर्छ । हरेक पार्टीका कार्यकर्ता सञ्जाललाई सरकारलाई साथ दिएर नागरिक बचाउन, उठाउन, नागरिक जीवनलाई जिवन्त पार्न लागिपर्ने हो भने अहिलेको विपद्सँग जुध्न धेरै हदसम्म सहज हुनेछ । मुख्य सवाल राहतमा पारदर्शिताको छ । भ्रष्टाचारविरोधी सरकारले प्राप्त सहयोग र रज्यकोषको दुरूपयोग गर्न दिनेछैन भन्ने विश्वास मजबुत हुनुपर्छ ।