Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

चुच्चे नक्साको बुच्चे नेपाल

०२ मंगलबार , भाद्र २०८३एक घण्टा अगाडि

चुच्चे नक्साको बुच्चे नेपाल

चुच्चे नक्सा छ, चुच्चो भूभाग नेपालको अधिनमा छैन । जनगणनासम्म गर्न सकिएन, गत चुनावमा ती भूभागका नेपालीले मतदान गर्नसमेत पाएनन् । तैपनि संसदमा राष्ट्रियता गुन्जिएकै छ । राष्ट्रियताको नारा लागिरहेकै छ । विपक्षीहरू रास्वपा र बालेन्द्र साह सरकारमाथि राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाइरहेका छन् । नेपालले भारतको भूमि मिच्यो कि भारतले नेपालको भूमि मिचेको छ भन्ने बहस चलिरहेकै छ । अहिले पनि सिमाना पारी नेपालीले भूभाग खनजोत गरिरहेकै छन्, सिमाना वारी भारतले भोगचलन गरिरहेकै छ । यो दशगजाको समस्या हो । यथार्थमा नेपाल र भारतवीच सुस्ता र कालापानी क्षेत्रमा बाहेक सबै सीमा समस्या सल्टिएको बिगतका सरकारले बताउँदै आएका थिए । सुस्ता र कालापानी, लिपुलेक र लिम्पियाधुराका समस्या किन सुल्झाउन सकेनन् चार दशकको बहुदल र लोकतान्त्रिक सरकारहरूले ? यो प्रश्न यतिबेला उठेको छैन ।
संविधान निर्माताले ८ वर्ष लगाए तर संविधानमा बुच्चे नक्सा समावेश गरे । भारतले नेपालको चुच्चे नक्साका भागलाई भारतमा गाभेको राजनीतिक नक्सा जारीगरेपछि संसदले संविधानमा चुच्चे नक्सा समावेश गरेको हो । नेपालको चुच्चेनक्सा, संविधानमा समावेश गरियो । नक्सामा चुच्चो छ, चुच्चेक्षेत्रमा शासन भारतको स्थापित भइसक्यो । चार दशकका शासकहरू नेपाली भूमि छाडिन्न भन्छन्, ती भूभाग कसरी नेपालमा ल्याउने भन्ने चिन्ता वर्तमान प्रतिपक्षी र चारदशकदेखिका शासकहरू जेनजी सरकारलाई सघाउन तैयार छैनन् । प्रतिपक्षीहरू जसरी पनि रास्वपा र बालेन सरकारलाई असफल पार्न राष्ट्रघाती भनिरहेका छन् । राष्ट्रवाद कसरी मजबुत बनाउने भन्ने कुनै प्रयास विपक्षीले गरेको देखिदैन ।
भारतले बालेन सरकारलाई बधाई दिएको छ । भारत भ्रमणको निम्तो आएको छ, निम्तो दोहो¥याएर दिनका लागि भारतका विदेशमन्त्री नै नेपाल आउने भएका छन् । बालेनले भनेका छन्– म विदेश भ्रमण गर्दिन । तर भारत जानैपर्ने भएको छ । उनले भनेका थिए– कुन कुन विषयमा वार्ता हुने हो, नतिजामुखी वार्ताका लागि म तैयार छु । परराष्ट्र मन्त्रालयले एजेण्डा तय गरेको छ, ती एजेण्डामा परराष्ट्रमन्त्री स्तरमा भेटवार्ता हुनेछ र प्रम बालेनको भारत भ्रमणको तिथि तय हुने पक्का छ ।
अर्थात, आवतजावत, व्यापार, उद्योग, निकासी, लगानी र चुच्चेनक्सा, लिपुलेक, कालापानी, लिम्पियाधुराको प्रश्नमा नेपाल र भारतका प्रधानमन्त्री स्तरमा वार्ता हुनेछ ।  ऐतिहासिक जनादेश पाएका प्रम बालेनलाई नेपाल भारतवीचका सबै समस्या सुल्टाउन विपक्षीहरूले साथ र सहयोग दिनुपर्ने छ । सिङ्गो नेपालको आवाज  उठाउनु रास्वपा र प्रम बालेन साह तैयार देखिन्छन् । पहिले पहिलेजस्तो दिल्लीको बासमती चामलको बासी भात खाएर मात्र प्रम बालेन साह फर्कने छैनन् । पुरानाहरू रहर मेट्न, स्वाद फेर्न, चाकरी गर्न भारत जान्थे, बालेन अलगधारमा छन् । चार दशकसम्म भारतले सीमा विवादको कुरा नेपालले नउठाओस् भन्ने चाहने र नेपाली नेताहरूले त्यसै गर्ने गर्थे । अझ भारतको स्वार्थमा सम्झौता गरेर फर्कन्थे र भन्थे, सहमतिमात्र हो । गिरिजादेखि प्रचण्ड, माधव, देउवाले त्यसैगरे । अब समय बदलिएको छ । नेपाल–भारतवीच अप्ठेरो अवस्था सिर्जना नहुने र मित्रता, छिमेकीपनको नयाँ परिभाषा प्रम बालेन लेख्न चाहन्छन् । दुबै देशवीचका समस्या छैनन्, सम्बन्ध राजनीतिकभन्दा पनि जनस्तरमा मीठो बनाउने प्रयास मोदी र बालेनको हुने कुरामा शंका नगर्दा हुन्छ । जनादेशको महत्व २०१४ देखि भारतको शासनमा रहेका नरेन्द्र मोदीलाई भन्दा बढी अरू कसलाई थाहा होला । नयाँ पुस्ताको सोचबारेमा पनि अनुभवी नरेन्द्र मोदीलाई धेरै राम्रो ज्ञान छ । पुराना पुस्ताका मोदी र नयाँ पुस्ताका बालेन साहवीचको भेटवार्ता अर्को ऐतिहासिक घटना हुने निश्चित देखिन्छ ।
बालेन साह भारत जाने तरखरमा छन्, यो विश्वकै चासोको विषय हुनेछ । नेपाल सानो छ तर इतिहासमा जेनजी विद्रोह र चुनावमा नयाँ पुस्ताको विजय र शासन सञ्चालनले विश्वको ध्यान खिचेको छ । त्योभन्दा पनि ठूलो कुरा नेपाललाई भ्रष्ट र फ्रडहरूको देश भन्नेहरूले भ्रष्टाचारको समाचार सुन्न नपर्नु गजबै हो ।