
जनताले उज्यालो खोजेका हुन् । जनताको मुहारमा खुशी देखिएला ? यही प्रश्न छ, रास्वपा र बालेन्द्र सरकारका सामु । विपक्षीले यति डरलाग्दो गरी बिरोध गरिरहेका छन् कि त्यो विरोध देख्दा लाग्छ, छिटै राजनीतिक अराजकता देखिनेछ । यद्यपि स्थिर सरकार, सुशासन, भ्रष्टाचारको अन्त्य, समानता र योग्यताको कदर हुने आशा र अपेक्षासहित जनताले रास्वपाको काँधमा मतको भार बिसाएका थिए । बिरोधीको बिरोधको स्वर सुन्दा रास्वपाले त्यो भार बोक्न सक्दैन कि भन्ने खतरा देखिन्छ ।
बालेन्द्र सरकारले काम गर्दागर्दै तीब्रता दिन सकेको छैन । खासगरी सुकुमवासी र भूमिहीनका लागि युद्धस्तरमा काम गर्नुपर्ने थियो । जुनसुकै कारणले आत्मदाह, आत्महत्याका घटना भए पनि त्यसमा पुराना पार्टी चोखा छैनन्, रास्वपा पार्टी र सरकारले जिम्मेवारी लिनैपर्छ । मानवीयताको प्रश्नसमेत बालेन्द्र सरकारमाथि उठेको छ, यति ठूलो समस्यालाई रास्वपा र बालेन्द्र सरकारले समाधान गर्न सकेन । कछुवागतिले हुँदै हुन्न, जनताका सामान्य आशा हो– गाँस, बास र कपास, न्याय । शिक्षा, स्वास्थ्य र रोजगारी । यी क्षेत्रमा रास्वपाले गाइड गर्ने, प्रम बालेन्द्र साहले निर्णय गरेर अघि बढ्ने । यति गर्न पनि रास्वपा किन खुट्टा कमाइरहेछ । प्रम बालेन्द्र साह जस्तोसुकै जोखिम लिनसक्ने नेता हुन् । उनी कसैसँग डराउँदैनन् । उनको टिममा पनि त्यस्तैखाले युवा छन् । तथापि भ्रष्टाचार र व्यभिचारका गन्ध केही मन्त्रीको व्यवहारबाट फैलिएका छन् । किन काम भएन ? किन गन्ध आयो ? यसमा रास्वपाले पनि बालेन्द्र सरकारलाई सहयोग गर्नुपर्छ । एकातिर विपक्षीले, अर्कातिर विदेशीले चक्रव्यूह तैयार गरिरहेको देखिन्छ, त्यो चक्रव्यूहमा सरकार फस्नु र असफल हुनु भनेको रास्वपा पनि असफल हुनु हो । सरकारले तत्काल गर्नुपर्ने र योजनावद्ध अघि बढ्नुपर्ने विषयमा रास्वपाले सहजता गरिदिनुपर्छ ।
सुकुमवासी, भूमिहीन, सहकारी पीडित, उखु किसान, मिटर ब्याजपीडित, सशस्त्र द्वन्द्वपीडितका समस्या गिजोलिएका छन् । विधिको शासनविपरीतका गतिविधि देखिएका छन् । कानुनी शासनको उपहास भइरहेको छ । अर्थतन्त्र सुधारका लागि ठोस पहल देखिदैन । स्थानीय सरकारबीच समन्वय छैन । वैदेशिक सम्बन्धमा प्रश्न उठेका छन् । बिकृति अपेक्षा गरेअनुसार घटेका छैनन् । समस्याका चाङ छन्, समाधानमा सकृयता देखिदैन । विपक्षी संसद अवरूद्ध गर्न र प्रधानमन्त्रीलाई दोषी देखाउने भाष्य प्रचार गरिरहेकै छन् । विपक्षीहरू जनताप्रति जवाफदेही भएनन्, रास्वपा र प्रम बालेन्द्रले संसदको रोष्टमबाटै राष्ट्रका नाममा संवोधन गरेर स्थिति स्पष्ट पार्न र राष्ट्रलाई स्थितिको जानकारी दिनुपर्छ । विपक्षीले फैलाएको भ्रम चिर्नुपर्छ ।
प्रकाशकीय ः गोरखा एक्सप्रेस ४५औं वर्षमा
यो अङ्कदेखि गोरखा एक्सप्रेस ४५औं वर्षमा प्रवेश गरेको छ । माटोवादी पत्रिका गोरखा एक्सप्रेसको यात्रा निरन्तर जारी छ । माटो अर्थात राष्ट्र, जनता अर्थात् राष्ट्र, अस्तित्व । गोरखा एक्सप्रेसको एकमात्र उद्देश्य माटो र जनताको आवाज उठाउनु हो ।जस्तोसुकै राजनीतिक परिवर्तन होस्, गोरखा एक्सप्रेसले लोकको आवाज, देशको आवश्यकताको आवाज उठाइरहनेछ । पञ्चायत ठिक भएन, राजतन्त्र सबै समस्याको जड भनियो, लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिमा नीति, नैतिकता, सिद्धान्त, जवाफेदहीता केही पनि बाँकी रहेन । गोरखा एक्सप्रेसले लोकलज्जा कायम राख भनेर चिच्याइरह्यो । चिच्याइरहनेछ । जेनजीको जगमा उभिएको सरकारलाई पनि खबरदारी गरिरहनेछ । लोकको अपेक्षामा, देशको सुरक्षामा लोकतन्त्र जिवन्त हुनुपर्छ भनेर गोरखा एक्सप्रेसले आवाज उठाइरहनेछ । संचेतना छर्न गोरखा एक्सप्रेसको जिम्मेवारी अरू बढेको छ । यो जिम्मेवारी पूरा गर्न बिगतजस्तै वर्तमानमा पनि पाठक, शुभचिन्तक, सहयोगीहरूको साथ र प्रोत्साहन पाइरहने विश्वास छ । हामी फेरि पनि आफ्नो कर्तव्यमा खरो उत्रने बाचा गर्छौं ।


