लुगा फेरेझैं फेर्दा पनि सरकार देखिदैन। सरकार सेवाग्राहीले पाउनैपर्ने सेवामा देखिनुपर्ने हो, समाजको कानुनव्यवस्था र जनताको जीवनमा सरकार झल्किनु पर्ने हो। सरकार कतै पनि देखिदैन। सरकार सिंहदरवारको घेराबन्दीबाट बाहिर निस्कनै सक्दैन। सरकारको काम सिंहदरवारको पाले हुनु होइन। सरकार त राष्ट्रिय जीवनमा, राष्ट्रियतामा र स्वाधीनताको रक्षामा देखिनुपर्ने हो। सरकार त विदेशीको चलखेल, विदेशीको चाकरी र विदेशीका सामु लम्पसार परेको पो देखिन्छ। आफ्ना समस्याको गुनासो विदेशीलाई गर्ने, विदेशीको सहजता खोज्ने र विदेशीले आफ्ना देशका पार्टीनेताहरुलाई सम्झाइदिए सजिलो हुन्थ्यो भनेर उपाय खोज्नेहरु यथार्थमा परजीवी हुन्, नालायक हुन्। तिनलाई राजनीतिक शक्ति मान्नु गल्ति हुनेछ। किनभने राजनीतिक शक्तिले आफ्ना समस्या आफै मिलाउने र आफ्ना देशको मार्ग आफै पहिल्याएर चल्ने चलाउने ल्याकत राख्छन्। हाम्रा नेताहरुमा त्यस्तो ल्याकतमात्र होइन, ताकत पनि देखिएन। यी नेपालका नेता त हुन् तर विदेशीका तलुवाचाटका रुपमा प्रष्टिए। कुनै पनि हालतमा नेपाली मतदाता, मतादेशले यी नेताहरु त्यतिज्यादा विदेशभक्त हुनेछन् भन्ने विश्वास गरेका थिएनन्। तर हाम्रा नेताहरुले जनतालाई समेत लज्जित पारिदिए।
भारतका राष्ट्रपति नेपाल भ्रमणमा आए। उनको भ्रमण सौहाद्रपूर्ण भ्रमण थियो, स्वभाविक थियो र स्वागतयोग्य पनि थियो। तर, हाम्रा नेताहरुले संविधान संशोधनका विषयलाई लिएर उनलाई आग्रह गरे, राष्ट्रपति प्रणव मुखर्जीले पनि पटक पटक संविधान संशोधन के भयो भन्ने प्रश्न गरिदिए। राष्ट्रपति विद्या भण्डारी देखि प्रधानमन्त्री पुष्पकमल दाहालसम्मले अनावश्यक चाकरी गरेर राष्ट्रपतिको मुखबाट नेपालको संविधानको स्वागत गराउने प्रयत्न गरेको देखियो तर भारतजस्तो चंख मुलुकका राष्ट्रपति भारतको कार्यकारी नरेन्द्र मोदीको नीतिबाहिर जानसक्ने सवालै थिएन, गएनन् र भनिदिए– मिलेर संविधान जारी गर्नुभयो, म प्रभावित भएको छु। अव सबै मिलेर अघि बढ्नोस् र संविधानको कार्यान्वयन गर्नेतिर लाग्नोस्। अर्थात भारतीय राष्ट्रपतिले मधेसका माग संवोधन गरेर संविधान संशोधन गर्न निर्देशन नै दिएर गए।
यसरी देशको मामिलालाई विदेशीकरण गर्नु भनेको पराधीनता माग्नु हो। भारत यही चाहिरहेको थियो र पुष्पकमल दाहालको सरकारले त्यही गर्यो, जसको अपेक्षा आमनागरिकले गरेकै थिएनन्। नागरिकको मात्र होइन, राष्ट्रकै अपमान गरेर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व एमालेकी नेतृ तथा राष्ट्रपति विद्या भण्डारीले देशमाथि घात गरेकै हुन्। यो क्षम्य हुनसक्दैन, क्षमा दिनु पनि हुन्न। यो दण्डनीय नकाम हो, यस्तो नकाम जनतालाई स्वीकार छैन। हिम्मत छ भने राजनीतिक दलहरुले आपसी छलफल गरुन्, राष्ट्रिय समस्याका विषयमा चिन्तन मनन गरुन्, जनताका अपेक्षा र आकांक्षा पहिल्याउन् र भूकम्प तथा भारतीय नाकावन्दीपछिको जनमानसको मानसिकता बुझेर सहमति र निकास खोजुन्। अझै पनि पूर्वाग्रह र विभेदको कालोमन बोकेर देश हाँक्दा दुभाग्यमात्र हात लाग्नेछ। त्यसै पनि परिवर्तन पछिको १२ वर्ष खेर गइसक्यो, अझै लोकतन्त्रलाई कति प्रयोगशाला बनाइरहने। लोकतन्त्र संस्थागत गर्न विदेशीमन होइन, स्वदेशी बन्न जरुरी छ। जुनदिन राजनीतिक दलहरु स्वदेशी बन्छन् र स्वाधीनता भन्छन्, लोकतन्त्र यसरी अलमल रसलमलमा पर्नेछैन।