Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

बिराट हिन्दू सम्मेलनले हिन्दू एकता जगाउन सकेन

०८ सोमबार , कार्तिक २०७३१० बर्ष अगाडि

अन्तर्राष्ट्रिय बिराट हिन्दू सम्मेलन सम्पन्न भएको छ। त्यही समयमा अन्तर्राष्ट्रिय आर्य सम्मेलन आयोजना गरेर हिन्दूहरुलाई कमजोर पार्ने प्रयत्न गरियो। विश्व हिन्दू संघले यसरी कार्यक्रम जुध्छ भनेपछि ३ दिन तलमाथि गर्न सक्थ्यो। एकातिर पूर्वराजाले उद्घाटन गरे, संवोधन गरे र विषेधको राजनीतिले विद्रोह जन्माउने खतराको संकेत गरिदिए। अर्कोतिर राष्ट्रपति विद्या मण्डारीलाई उतारेर सरकारले बैदिक सभ्यताबाट प्रेरणा मिल्ने सन्देश दिन लगायो। आफैमा धर्मनिरपेक्षता अँगाल्ने, दशैं बहिष्कार गर्ने र क्रिश्चियनको हतियार बनेको सरकारले राष्ट्रपति मार्फत वैदिक सभ्यताको सनाई फुक्न लगाएर हिन्दूधर्ममाथि प्रहार गरेको छ। यो यस्तो षडयन्त्र हो, जसले हिन्दूराष्ट्र चाहनेहरुमाथि नै प्रहार गर्न सफल भयो। हिन्दू सम्मेलनले विशाल आकार लेला भनेर आर्य सम्मेलन गराउने सरकारको चालबाजी हिन्दूहरुले बुझेका छन्, आर्यहरुले पनि बुझेका छन्। तर दुबै हिन्दूहरुले वैदिक परम्पराको जगर्ना गर्न एकताको आवाज उठाउन सकेनन्। बिराट हिन्दू सम्मेलनमा एकलाख भन्दा बढी हिन्दूको जमघट हुनेछ, त्यही मञ्चबाट हिन्दूराष्ट्र, हिन्दूराजाको घोषणा गर्नेसम्मको प्रचारबाजी पनि गरियो। आखिरमा विश्वहिन्दू महासंघ, अन्तर्राष्ट्रियका अध्यक्ष हेमबहादुर कार्कीले राजदण्ड र सिंहासन कहिले फिर्ता लिने भनेर प्रश्न गर्दा पूर्वराजा मुस्कुराए, पातलो उपस्थितिका हिन्दूहरुले गगनभेदी नारा लगाउन सकेनन्। एकपटक फेरि अवसर गुम्यो। क्रिश्चियनहरु, धर्मनिरपेक्षताबादीहरुले खिसीट्यूरी गर्ने मौका पाए। ९५ प्रतिशत ॐकार परिवार बसोबास गर्ने देशमा विराट हिन्दू सम्मेलन हुन्छ र हिन्दू सम्मेलनमा राम्रो उपस्थिति, हिन्दूत्वप्रतिको लगाव देखाउन नसक्नु हिन्दूहरुको लागि लज्जाको कुरा हो। क्रिश्चियनहरु एक छन्, हिन्दूत्व मास्नका लागि मुलुकी ऐनमा समेत धर्म परिवर्तन गर्न पाउनुपर्छ भनेर ४५ बोरा सुझावको झटारो संसद र सभामुखलाई हान्न सक्छन्, हिन्दूहरु यो सब हेरिरहेका छन् र राम्रो जवाफ फर्काउने, जवाफ दिने विराट हिन्दू महासम्मेलनमा समेत उपस्थिति हुन चाहेनन्। किन? \u000aहिन्दू नेतृत्वमा कमी छ। हिन्दूत्वको जगेर्ना गर्न कस्सिएका व्यक्तिमा नेतृत्वको भोक छ। यही भोक प्रज्ञा प्रतिष्ठानमा भएको बन्द सत्रमा  मारामार, हानाहान र प्रहरी हस्तक्षेपमा समेत देखियो। धार्मिक संस्थामा समेत नेतृत्वको भोक, सर्वसम्मति भयो भनेर नेतृत्वको घोषणा हुनु र बिमति राख्नेमाथि दमन गरिनु नितान्त हिन्दू संघभित्रको कमजोरी हो। कुनै युवाले नेतृत्व लिन चाहन्छ भने दिन किन कञ्जुसी? सबै ॐकार परिवारलाई समेट्नका लागि अलिकति त्याग गर्न नसक्ने मपाईंवादले हिन्दूधर्मावलम्बीहरुलाई एकताको सूत्रमा बाँध्न सकेन। अन्ततोगत्वा हिन्दूहरुमा फेरि गुट, फुट देखियो। हिन्दूत्व नै खतरामा परेको यो बेलामा यसरी गुट र फुट देखिनुले हिन्दूहरुलाई तितरबितर पार्न सहयोग पुर्‍याउँछ र यस्तो हुनु भनेको धर्मनिरपेक्षतावादी, इसाई मुसाईकरण गर्न चाहनेहरुलाई मलजल गर्नु नै हो। हिन्दू नेतृत्वले यो सब कहिले बुझ्ने?