Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

अब बाचापत्र पूरा हुनुपर्छ

१० मंगलबार , चैत्र २०८२१७ घण्टा अगाडि

अब बाचापत्र पूरा हुनुपर्छ

बहुदल बहुलायो, नेताहरूको अनैतिकताका कारणले कालरात्रि बन्यो । नयाँ नेपाल बनाउने सपना देखाएर जनयुद्ध र पार्टी आन्दोलन मिलाएर गरिएको जनआन्दोलनपछि स्थापना भएको लोकतन्त्रले देशलाई दुर्योधनको हस्तिनापुर बनाए । समाजवादी, प्रजातन्त्रवादी, सर्वहारावादी सबैको मिलोमतोमा देश अपराधशालाभन्दा पृथक रहेन । जेनजीपुस्ताले ज्यान दिएर, रगत बगाएर ल्याएको परिवर्तनमा नयाँ पुस्ता आएकोछ  । यो नयाँ पुस्ता कृष्ण बन्न सक्छ कि सक्दैन, मर्यादापुरूषोत्तम रामको चरित्र देखाउन सक्ला कि नसक्ला, नयाँ पुस्ताका सामु यक्ष प्रश्न नाङ्गो तरवार बनेर उभिएको देखिन्छ ।
जसरी पञ्चायत ढल्दा एकजना पञ्च उभिन सकेनन्, त्यसैगरी लोकतन्त्र ढल्दा एकजना नेता लोकतन्त्रवादी म हुँ भनेर उभिन सकेनन् । सबै अपराधवोधले ग्रसित थिए, लुके । लोकतन्त्रलाई ठूला दल र ठूला नेताले धुलाघाटको हाटबजार नै बनाइसकेका रहेछन् । यी खरिद भइरहे, बिक्री भइरहे, यसैको परिणाम जनताको आक्रोसको ज्वालामा यिनको राजनीति खरानी बन्यो । भन्न थालेका छन्, खरानी टकटक्याएर हामी उठ्छौं । यो आवाजालाई पनि समन गर्न नयाँ पुस्ताले इमान र नैतिकपूर्ण काम गर्नसक्नुपर्छ । नेपाली जनताले आँखा उघारे, डरलाग्दो भ्रम चिरे अनि मौन आक्रोशलाई विवेकपूर्ण मतदान गरेर अपराधलाई किनारा लगाइदिएका छन् । यो जनतामा देखिएको चेत, जागरणलाई नयाँपुस्ताले पूँजीकरण गर्नसक्यो भने पुराना भ्रष्टाचारका डाइनोसरहरू लोप भएर जानेछन्, तिनको पुनरागमन हुनेछैन । होइन, नयाँ पुस्ता पनि उही कानै चिरिएका जोगी बनेभने दुर्भाग्य हुनेछ । जेनजी पुस्ताले रगत बगाएर ल्याएको परिवर्तन पानीको फोको हुनसक्छ ।
फागुन २१ पछिको परिवर्तन इजिप्टका नासिर, सिंगापुरका लि क्वान युजस्तो देखिन्छ । अब कर्म त्यही अनुसार गर्नुपर्छ । कर्मले देशमा परेका अनेक विवाद, राजनीतिक मुद्दा, अपराधका धराप र धाँजाहरूलाई सुशासनको लेपनले पुर्नुपर्नेछ । जसरी पुरानाले राजतन्त्रलाई तानाशाही भनेर भण्डाफोर गरे, फाले, त्योभन्दा चर्को र भययुक्त तानाशाहको छविछायाँ आफूलार्य लोकनेता भन्नेहरूको मुहारमा देखिएकै हो । राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दालाई नयाँ जेनजी सत्ताले संवोधन गर्न सक्यो भने चमत्कारै हुनसक्छ । यो देश बलबाहुको देश थियो, राजनीतिक नेताहरूले बाहुबलीको चरित्र देखाएर राजनीतिलाई अपराध नीतिमा रूपान्तरण गरिदिए । सगरमाथाको देश, शास्तीमा बदलियो, विश्वमा रहेको सम्मान समाप्त हुनपुग्यो । ठाडै विश्वशक्तिले फ्रडहरूको देश भनिदिए । पुराना नेताकै नरसंहारकारी नीतिका कारण बुद्धको देश मंगलसेनको चंगुलमा प¥यो । पुराना नेताले स्वार्थको राजनीतिका लागि नीति, पद्धति, चरित्र, नैतिकतालाई पाखण्ड र षडयन्त्रमा होमिदिए ।
नेपाल बिग्रेकै नेपाली नेताहरूले दिल्लीको बासमती चामलको बासी भात खाएर हो, चीनको काखमा लुटपुटिएर र पश्चिमाको लहैलहैमा लागेर हो । राष्ट्र र राष्ट्रिय नीतिमा उभिन नसक्दा इज्जत स्खलन हुँदैगयो । अब जेनजी पुस्ता आयो, फागुन २१ को निर्वाचनमा जनताले मतपत्रको ब्रम्हास्त्र हानेर नयाँ पुस्ताको हातमा शिरोभारो सुम्पेका छन् । नेपाल निर्माणको ढोका जनताले खोलिदिएका छन्, अब नयाँ पुस्ताले देश बनाउनुछ । विश्व अधिकारकर्मीहरू दण्डहीनता अन्त गर भनिरहेका छन्, आमनागरिकको सुशासनको सुरूआत र भ्रष्टाचारको अन्त चाहियो भन्ने माग छ । नयाँ पुस्ताले जनताले देखाएको मार्गमा हिड्ने बाचा गरेका छन्, अब बाचापत्र पूरा हुनुपर्छ ।