Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

प्रचण्डमा श्री ३ को झझल्को

०३ सोमबार , आश्विन २०७३९ बर्ष अगाडि

हुन त ०६३ सालको परिवर्तनपछि ९ सरकार बने, नवैं सरकारहरुले आफूलाई श्री ३ जंगबहादुर नै सम्झे। जनताको आशा र अपेक्षा, विकास र निर्माण सबै मैले गरे हुन्छ भन्ने झल्को दिए। दम्भ र अहंकार देखाए तर तिनीहरु कसैले कुनै लछारपाटो लगाउन सकेनन्। केपी ओलीको सरकार सबैभन्दा क्रान्तिकारी हावादारी सरकार सावित भयो। २०५२ सालमा महाकाली सन्धि पारित गर्दा एमालेका महासचिव थिए माधव नेपाल र उनले भनेका थिए– महाकाली सन्धि पारित भयो, अव नेपालले स्याटेलाइटबाट विद्युत निकासी गर्छ। एमालेकै नेता झलनाथ खनाल उत्साहित थिए, बढी उत्साहित भएका केपी ओलीले अव नेपालको विकासको सूर्य पश्चिमबाट उदाउँछ भनेका थिए। तिनै ओली यसअघि सरकार प्रमुख भए र हावाबाट विजुली निकाल्ने, चुला चुलामा ग्यासका पाइप पुर्‍याइदिने, १० वर्षमा १० हजार मेगावाट विद्युत निकाल्ने सम्मका पम्फु भर्दा देश हाँस्यो, विदेश हाँसो, ओली हाँसोपात्र बने। 
ओली सरकार ढालेर प्रचण्ड प्रधानमन्त्री बनेका छन्। उनले संसदबाट देशवासीका नाममा संवोधन गरे, सबैथोक राज्यले गर्छ, म शासक भएको आर्थिक विकास गर्न हो भन्ने आशय सार्वजनिक गर्दै जनतालाई म सबेथोक दिन्छु भन्ने शैलीमा प्रस्तुत भए। भूकम्प, बाढीपहिरो पीडित जनताको छाप्रो निर्माणमा जान छाडेर प्रधानमन्त्री भएको महिनादिनमै दिल्लीदौडमा हान्निए। भयो के? दिल्लीले फेरि संविधानप्रति असन्तोष जनाइदियो, मधेसी मोर्चालाई खुशी पारेर संविधान संशोधन गर्न अह्रायो। हिज माष्टर्स भ्वाइस र प्रचण्डको दिल्ली भ्रमणको निष्कर्ष यही हो। 
अव त विदेशीले समेत भन्न थाले– हामीले जनताको करको पैसा सहयोग गर्‍यौं, नेपाली नेताहरु प्रशासनसँग मिलेर भ्रष्टाचार गरिरहेका छन्। एकातिर सरकार प्रभावहीन, अर्कोतिर विदेशी चलखेल, भारतको असन्तुष्टि र जनतामा नैराश्यता। यति हुँदा पनि राज्य जिम्मेवार रुपमा प्रस्तुत हुनसकेन। राज्य भाषण गर्छ, भाषणमा आफ्नो सफलता देख्छ। यथार्थमा नेताहरु गएगुज्रेका, इमान जमान नभएका प्रमाणित भइरहेछन्। भूकम्पपीडतलाई ८ लाख दिन्छु, स्वास्थ्यसेवा सर्वसुलभ पार्छु, भ्रष्टाचार रोकेर सुशासन दिन्छु भन्ने राज्यले कबुल गरेको छ। कबुल भाषणमा हो, व्यवहारमा कम्बल ओढेर घ्यूखाने राजनीति र प्रशासन यथावत छ। मृत बनिसकेको अर्थतन्त्र जगाउने कुनै तरकित, अक्किल निकालिएको छैन। उही  भागबण्डे नीति दलहरुको नियति बनेको छ। जनताको हक, अधिकार भागबण्डामा चल्तीफिर्ती गर्ने भनेको श्री ३ जंगे नीति हो। 
७० वर्ष अघि पद्मशमशेर जबराले म जनताको नोकर हुँ भन्ने हिम्मत गरेका थिए, लोकतन्त्रका शासक र प्रशासकहरु जनताको सेवक बन्न, सेवा दिन र राष्ट्रभक्तिप्रति नतमस्तक हुन तैयार छैनन्। यी गैंडाका छालाजस्ता नेताहरुमा न नैतिकता छ, न संवेदना नै। राजनीति कमिशनको एजेन्ट र प्रशासन भ्रष्टाचारको खाडल बनिसक्यो, राजनीति तिल्के मारवाडीको मुनाफाखोर व्यापार बनेपछि देश बिग्रन्छ, बिग्रिरहेछ। नेता सप्रन्छन्, नेता र तिनका आफन्तसमेत सप्रिरहेका छन्। पीडा जनतालाई हुने हो, जनताको छटपटी हेर्ने कुनै जिम्मेवार व्यक्ति निकाय छैन। प्रचण्डले फेरि श्री ३ को झझल्को देखाए, लोकतन्त्र घाटमा पुग्यो।