
फागुन २१ मा चुनाव । ९ दिन बाँकी छ । बहुदल र लोकतन्त्रका नायकहरूको खलनायकीले जेनजी आन्दोलन, बिद्रोहको क्रान्ति भएको थियो कि प्रतिक्रान्ति ? यसको जवाफ जनमतले दिनेछ । कुन दल वा नेताले जनबल पाउनेछ, त्यही बल नेपालको सुदूर भविष्यको निर्धारक पनि बन्नेछ ।
ठूला तीन दल माओवादी, कांग्रेस र एमाले, जसले २०६३ को परिवर्तनपछि आलोपालो शासन सत्तामा रजगज गरे । तिनीहरू रक्षात्मक थिए, चुनावमा बिजय हासिल गर्न आक्रामक देखिन थालेका छन् । माओवादी अध्यक्ष प्रचण्ड माओवाद त्यागेर १८ साना पार्टी जोडजोड पारेर नेकपाका संयोजक बनेका छन् र आफ्नो साख जोगाउन चितवनबाट गोर्खा उक्लदै अब रूकुम पूर्व पुगेका छन् । उनको चुरीफुरी केही पनि देखिदैन । लाग्छ, उनी आफू चुनाव जितेर पछारिएको राजनीतिक मैदानमा भिजेको परालखुट्टे भएर पनि उभिन चाहन्छन्, ०६४ को प्रचण्ड बहुमतबाट ३२ सिटमा झरेका प्रचण्ड अब धेरै नै न्यून संख्यामा देखिन सक्छन् ।
०७९ को निर्वाचनमा ठूलो पार्टी बनेको नेपाली कांग्रेसको सभापतित्व गगन थापाले खोसेपछि पूर्वसभापति देउवा राजनीतिक मैदानमा मुख देखाउन नसक्ने अवस्था भोगिरहेका छन् । सभापति गगन थापाको लाख प्रयत्नका बाबजुद पनि शेरबहादुर देउवाले कांग्रेसलाई जिताउन आह्वान गर्न सकिरहेका छैनन् । गगन थापा ठूलो पार्टी बन्ने र प्रधानमन्त्री हुने, कांग्रेस परिवर्तन भएको देखाउने हुंकार गरिरहेका छन् । लाग्छ, गुट फूटबाट चर्किएको कांग्रेस हुँटिट्याउँले आकाश थाम्ने फुइँकी लगाउँदै छ ।
एमालेका अध्यक्ष केपी ओली नेशनल भोलेण्टियर फोर्स गठन गरेर त्यही फोर्सको सुरक्षाघेरामा घरदैलो गरिरहेका छन् । उनलाई काठमाडौंका पूर्व मेयर बालेन साहले चुनौती दिइरहेका छन् । ओलीले देशव्यापी रूपमा जनसभा गरेर एमालेका लागि भोट माग्न सकिरहेका छैनन् । जेनजी आन्दोलनलाई रक्तपातपूर्ण बनाएको जिम्मेवारी लिन नसक्नु र जनतासँग माफी नमाग्नु उनको भूल ठानिएको छ । तथापि ओलीले भनिरहेका छन्– आगो लगाउनेहरू हार्नेछन् । आगामी सरकार एमालेले बनाउने छ । विकास गर्नेछ ।
सर्वाधिक चर्चा छ रास्वपाको । रास्वपाका अध्यक्ष रवि लामिछानेले वालेन साहलाई भावी प्रधानमन्त्री घोषणा गराएर र झापा ५ मा केपी ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न उभ्याएर देशभरि नै रास्वपाको लहर ल्याएका छन् । वालेन साहले पनि कम बोलेर देशलाई जुरूक्कै उचालेका छन्, जसका कारण विश्वव्यापी रूपमा उनको चर्चा चुलिएको स्थिति छ ।
कांग्रेस, एमाले र नेकपाले जतिसुकै रवि र वालेन साहलाई आलोचना गरेका छन्, उति नै बालेन र रविको प्रचार बढ्दै गएको छ । यो चुनाव कांग्रेस, एमाले र नेकपाको यथास्थिति र रास्वपाको परिवर्तनका वीच हुन गइरहेको छ ।
चुनावमा ६८ पार्टीका ३४०६ उमेदवार प्रतिस्पर्धा गरिरहेका छन् । १६५ सिटमा यतिधेरै उमेदवारवीचको चुनावी युद्धको फैसला जनमतले गर्नेछ । जनता के भन्छन्, जनता के चाहन्छन् ? त्यसको फैसला फागुन २१ मा हुनेछ । आजका जनता जेनजी आन्दोलन र आँधीपछिको चेतनामा छन् । अब पनि लोभ, लालच, मासुभात, पैसामा मत दिन्छन् भन्ठान्नु गल्ती हुनेछ । विश्लेषक भन्छन्– चुनाव ऐतिहासिक हुने विश्वास गर्दा हुन्छ ।


