
जेनजी आन्दोलनपछि तय गरिएको फागुन २१ को चुनाव संघारमै आइसक्यो । यो चुनाव हुनुपर्छ र शान्तिपूर्णं हुनुपर्छ । अझै चुनाव हुन्छ कि हुन्न ? भन्ने संशय बढाउने तत्वहरू सकृय छन्, जुन दुर्भाग्यपूर्ण छ । सबैले बुझ्नुपर्छ–
चुनाव लोकतान्त्रिक अभ्यासको मेरूदण्ड हो । यसले नागरिकलाई आफ्नो प्रतिनिधि छान्ने अधिकार दिन्छ र राज्य सञ्चालनमा जनताका प्रतिनिधिमार्फत जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्छ । हो, हिजो हिजोका चुनावहरूमा षडयन्त्र भए, भ्रष्टाचार र नैतिकहीनताका परिदृश्य अनेक देखिए । यसपल्ट सिधै असैद्धान्तिक गठबन्धन भएको देखिन्न । जनताले उचित ठानेका उमेदवारलाई मतदान गर्न सक्नेछन् । चुनाव सम्पन्न गराउन सेनाले समेत सुरक्षा प्रवन्ध मिलाएको छ । यसबाट पनि भन्न सकिन्छ, चुनाव हुन्छ ।
हो, देशमा धेरैपल्ट चुनाव भयो । चुनावपछि संसद, सरकारमा पुगेका नेताहरूले जनतालाई अनेदेखा गरे, जनताप्रति जवाफदेहीता लिएनन् । लोकतन्त्रप्रति निराशा बढ्नुको मुख्य कारण भ्रष्टाचार र नैतिकहीनता हो । राजनीतिको अपराधिकरणले देशलाई नाङ्गेझार पारिसकेको छ । देशको अस्तित्व नै संकटमा पर्दै गएको छ । देशभित्र अनेक विदेशीहरू चलखेल गर्न थालेका छन् । हरेक हिसावले नेताहरू गैरजिम्मेवार हुनपुगे । सुशासन कायम गराउन सकेनन् । लोकतन्त्रमा लोकमाथि नै अत्याचार बढाए । अब जनता सचेत भइसकेका छन् । यसपल्ट जनताले नैतिकवान नेतालाई जिताएर संसद र सरकारमा पठाउने विश्वास गर्न सकिन्छ । यो विश्वासको आधार गत भदौ २३ र २४ मा जेनजी पुस्ताले गरेको आन्दोलन प्रमुख हो । त्यो आन्दोलनमा ७६ जना जेनजी पुस्ताको सहादत पनि कसैले बिर्सन सक्दैनन् । जनतामाथि भएको राज्य आतंक सहिसाध्य नभएकाले भुल्न सकिने विषय होइन । पुराना नेता खराव भए, नयाँ नेताको खोजी फागुन २१ को चुनाव हो । यसकारण पनि यो चुनाव शान्तिपूर्ण र स्वच्छ रूपमा सम्पन्न हुनुपर्छ ।
नेपालमा पहिलो औपचारिक चुनाव राणाकालको अन्त्यतिर भएको म्युनिसिपल चुनाव हो (वि.सं. २००४) जसमा महिलालाई मताधिकार दिइएको थिएन ।
सार्वभौम जनताले बालिग मताधिकारको आधारमा पहिलो आम निर्वाचन वि.सं. २०१५ फागुन ७ मा भएको थियो, जसमा नेपाली कांग्रेसले दुई तिहाइ मत ल्याएको थियो तर जनघात रोक्न नसकेका कारण चल्न सकेन, पञ्चायत आयो र जनताले पञ्चायत व्यवस्था जिन्दावाद भन्ने अवस्था आयो । ०४६ सालको बहुदलीय व्यवस्थालाई नेताहरूले कालरात्रि बनाइदिए । भ्रष्टाचारको संस्थागत विकासको आधार नै यो व्यवस्था हुनपुग्यो । फलतः केही समय राजतन्त्र आयो र पछि जनआन्दोलनकै माध्यमबाट लोकतन्त्र आएको हो । लोकतन्त्र आएपछि पनि जनताले संविधानसभा, आवधिक निर्वाचनमा पटक पटक मतदान गरेकै हुन् । होलाकीले बुलाकी लायो, बुलाकीले नाकै खायो भन्ने उखानजस्तो हुनसपुग्यो संविधानसभा, संविधान र संसद । अत्याचारी शासन भएकै कारणले जेनजी पुस्ताले विद्रोह गरेर यो चुनाव हुनआँटेको हो । यो चुनावले सुशासनका लागि गर्नुपर्ने सबै दायित्व निर्वाह गर्नुपर्नेछ ।
मुख्य त चुनाव हुनुपर्छ, त्यसपछि यही संविधानमा सुधार कि नयाँ संविधान ? यसबारेमा विषद छलफलपछि निर्णयमा पुग्नुछ । यो निर्णय गर्नका लागि जनताले विवेकपूर्ण रूपमा चुनावमा सहभागी हुनुपर्छ । सकभर त्रिशंकु होइन, एउटै दललाई दुई तिहाइ मत दिनसके संवाद, सहमति र सहकार्य सहज रूपमा अघि बढ्नसक्छ । जनताले विचार पुर¥याउने छन्, विश्वास गरौं ।


