स्वदेशमा ठढ्याइएका सालिक ढाल्नेहरु विदेशमा मालिक खोजिरहेका छन्। संविधान संशोधन गर्न, मधेसी मोर्चालाई सहमतिमा ल्याइदिन, विकास निर्माणदेखि इज्जत बचाइदिनसमेत नेताहरु विदेशी मालिककोमा जीहजूरी गरिरहेका छन्। हिजोका शासकहरुले त्यही गरे, आज पुष्पकमल दाहाल प्रधानमन्त्री छन्, उनी प्रधानमन्त्री भएको महिना दिनमै, देशको शासन प्रशासन बुझिनसक्दै दिल्ली दौडिन लागेका छन्। देशमा सालिक ढालेर विदेशमा मालिक खोज्ने? यो कुन स्वाधीनताको परिचय हो? यतिबेला देशका प्रधानमन्त्री ३ लाखको उपचार नपाएर अस्पतालको छानाबाट हामफालेर मर्ने बाध्यता बुझ्न र त्यस्ता बाध्यता फेरि फेरि नहोस् भनेर बन्दावस्तीमा लाग्नुपर्थ्यो? अस्पतालमा २ वर्षदेखि एउटा लाश फ्रिजमा छ, किन? एउटी नारी गंगामाया छोराको हत्यारालाई कारवाही गर भनेर न्यायका लागि मर्नुपर्ने बाध्यतामा छिन्? न्याय कसरी दिन सकिन्छ भनेर गम्भीर छलफलमा लाग्नुपर्थ्यो? भूकम्प, बाढीपहिरो पीडितहरु जोखिममा छन्, तिनलाई जोखिमबाट कसरी मुक्त गराउन सकिन्छ भन्ने छलफलमा बस्नुपर्थ्यो र दैनिक २ हजारभन्दा बढी युवाहरु रोजीरोटी, अवसर खोज्न विदेश पलायन भइरहेका छन्, तिनलाई रोक्न र विदेश पलायन भइसकेका ६० लाख युवाहरुलाई कसरी स्वदेश फर्काउने र निर्माणमा लगाउने भन्ने विषयमा विज्ञ विशेषज्ञहरुसँग विचारविमर्श चलाइरहेको हुनुपर्थ्यो। स्वदेशको चिन्ता छैन, सत्ताको चिन्ता गरेर प्रधानमन्त्री विदेश जाँदैछन्। संविधान संशोधन कसरी गरौं भनेर विदेशीसँग हारगुहार गर्न विदेशदूतसमेत पठाए। यही हो स्वाधीनता? यही हो लोकतन्त्र? यस्तै हुन्छ सार्वभौमिकताको रक्षा गर्ने राजनीति?
राजा वीरेन्द्र यो देशका शासक हुन्। राजतन्त्रले यो देशको निर्माण गरेको हो। बेलायत, थाइलेण्डलगायतका अनेक मुलुकमा राजतन्त्र फर्कियो, जनताले हटाएको राजतन्त्र चाहे फर्कला। तर, देशका विभिन्न क्षेत्रमा ठडिएका राजाहरुको सालिक इतिहास हो। इतिहासलाई भत्काउने? आफू विदेशपरस्त इतिहास लेख्ने, स्वदेशको इतिहास भत्काएर भत्किन्छ? आफू जनताको सम्मान आर्जन गर्न नसक्ने, इतिहास भत्काएर सन्तोष लिने? देशको इतिहास भत्काउनु भनेको विदेशपरस्त हुनु हो। राजा वीरेन्द्र सामन्त थिए भने तिमीहरु के हौ? तिम्रा बिधि व्यवहारले तिमीलाई महासामन्त, शोषक, जनविरोधी, राष्ट्रघाती सावित गरिरहेको छ। तिमीसँग राजा वीरेन्द्रको सालिक ढाल्ने नैतिक बल छैन। सत्ताको बलमिच्याइले तिमी सालिक भत्काउन सक्छौ, तर तिम्रो इतिहास जनघातीका रुपमा लेखिने छ। नपत्याए आफ्नो अनुहार आफैले ऐनामा हेर।