Advertisement Banner
Advertisement Banner

२२ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

ती नेताका मुठ्ठीबाट नेपाल बनेन

२१ मंगलबार , माघ २०८२एक दिन अगाडि

ती नेताका मुठ्ठीबाट नेपाल बनेन

सत्य यही हो कि बहुदल न लोकतन्त्र, ३७ वर्षमा देश बनेन । यसको अर्थ यिनै नेता, यिनकै विचार र शैलीले देश बन्दैन । जनताको उत्कट अभिलाषा भनेको सुशासन हो, जुन कोसौं टाढा छ । यिनै नेता र यिनको मुठ्ठीबाट नेपाल नबन्ने पक्का छ । यो विषयमा कुनै पनि विवाद रहेछ ।
०४६ सालपछि कांग्रेस, एमाले, माओवादी र अन्य पार्टीहरू अहिले पनि छन् । नेता जो थिए, तिनकै फर्मान, हुकुममा बहुदल र लोकतन्त्र चलेकै हो ।  आज पनि तिनै नेता छन्, एकाध पार्टी र नयाँ नेता थपिएका छन् । पुरानो तौरतरिकाबाट देश चल्दैन, त्यस प्रकारको हुकुम, फर्मान चाहिएन भनेर भदौ आन्दोलन र आक्रोशको डढेलो लागेको हो । खोजी सक्षम पुस्ताको हो । आवाज पुस्तान्तरणको हो । जेनजीले निर्णायक हस्तक्षेप गरेकै हुन् । भ्रष्टाचारको सिंहदरवार ढालेकै हुन्, आगो झोसेकै हुन् । एक युगमा एकपल्ट आउने दिन आएकै हो, जेनजीले निर्णायक युद्ध जितेकै हुन् । जितलाई व्यवस्थापन गर्न सकेनन् । जितपछिको नेतृत्व लिन सकेनन् । जितलाई भ्रष्ट र अपराधिक प्रवृत्ति परिवर्तनको यूटर्न दिन सकेनन् । किनकि नयाँ पुस्तालाई राजनीति थाहा थिएन । अब बिस्तारै बुझ्न थालेका छन् । फागुन २१ मा चुनाव आएको छ, यो चुनावमा जेनजी पुस्ताले राजनीतिक पाइला सार्नैपर्ने छ ।
इतिहास वीरहरूको लेखिन्छ । नेपाली राजनीतिक मैदानमा जेनजीले वीरता देखाएकै हुन् । नयाँ इतिहासको रचना गरेकै हुन् । अब चुनावपछि सुशासनको जग हाल्ने अभिभारा छ । जेनजीले चाहे भने सुके लुतो जसरी चिलाउने रोग भइसकेको राजनीतिक चरित्रलाई बदल्न सक्छन् । बदल्नेछन् । हो, छद्मभषी साह्रै डरलाग्दा हुन्छन् । दशकौंदेखि जरा गाडेर बसेको छद्मभेषी त झन डरलाग्दा हुने नै भए । आन्दोलनका समयमा भूमिगत भएर भागेका भए पनि अहिले मैदानमा अवतरित भइसकेका छन् । युद्ध जित्ने दाह्रा नङ्ग्रा देखाउन थालेका छन् । राजनीतिक चरित्रमा शुर अशुरको यो युद्धमा जेनजीले जित्नुपर्ने अभिभारा जेनजीकै काँधमा छ । जेनजीले हार खान सक्दैन । किनकि सिङ्गो मुलुकको भार जेनजी पुस्ताको काँधमा रहेको छ । त्यसकारण डरलाग्दा प्राणी लाई छेरभालु बनाउने जिम्मेवारी पनि जेनजीकै हो । देशले स्पष्टबक्ता तानाशाह खोजिरहेको छ । जनताले धेरै सहे, धेरै मौका दिए । जनताले दिएको अवसरलाई स्थापित नेतृत्वले गलत रूपमा प्रयोग ग¥यो, जनताले दिएको विश्वासमाथि घात ग¥यो र अपराधिक र नेपोटिजम शासन चलाइरह्यो । अब त्यस्तो सम्भव छैन, किनभने जेनजी जागेका र जागरूक भएका छन् ।
आगामी दिनमा नीति, नैतिकहीन पल्टेर कुनै नेताले देश र जनता चुसिरहन सक्नेछैनन् । साहसी युवा उठेका छन् । आफ्नै इतिहास कालो लेख्न अग्रसर भएका स्वार्थी तोरीलाउरेको इतिहास कालै लेखिनेछ । २०४६ सालपछिका प्रजातान्त्रिक अथवा वामपन्थी, उदारवादी अथवा लोकतान्त्रिक गणतन्त्रवादी भनाउँदाहरूले जुन प्रकारले शासन गरे, त्यो हुतिहारा र कायर शासनावधि नै प्रमाणित भएको छ । विदेशीका सामु लम्पसार पर्नेले स्वराज बचाउन सक्दैन । जुन नेतृत्व कायम छ, त्यो वास्तवमा हाराकिरी गर्ने बर्ग नै हो ।
देश बनाउने जिम्मा समयानुकूल जन्मनुपर्छ । नेतृत्व जन्मने चुनावबाट हो, जन्माउने जनताले हो । जनताले फागुन २१ मा निर्णय दिनेछन् । त्यही जनादेशबाट जनताले चाहेअनुसारको नेतृत्व जन्मिनुपर्छ र देशले नयाँ दिशातर्फको पाइला अघि बढाउनुपर्छ । खोटा सिक्काबाट देश बन्दैन । नयाँ जाँगर भएका र राजनीतिमार्फत समाज परिवर्तन गर्छु भन्नेहरूले नेतृत्व लिनुपर्छ ।