
राष्ट्रका प्रत्येक समस्याको समाधान संवाद, सहकार्यबाट आउने शान्ति नै हो । द्वन्द्वको अन्त्य नै शान्ति हो, नेपालको भविष्य हो । राज्यका सामाजिक, आर्थिक, राजनीतिक, धार्मिकलगायतका क्षेत्रमा द्वन्द्वको अन्त्य र भयरहित स्थिति नै नेपालको भविष्य हो । यसैमा नीतिको निरन्तरता र विधिको व्यवस्थापन अन्तरनिहित हुन्छ, जुन सुखद भविष्य हो ।
लोकतान्त्रिक पद्धतिको सफलता भनेकै नीतिगत स्थायित्व, निरन्तरको संवाद, सहमति र सहकार्य हो । यही मूलमन्त्रमा राजनीतिक स्थिरता र शासनमा सुशासन तथा कानुनव्यवस्था बलियो हुन्छ । एउटापक्षमात्र कमजोर भयो र द्वन्द्व बढ्यो भने अराजकता बढ्नथाल्छ । शान्ति, स्थायित्व र सहकार्य ः नेपालको भविष्य हो भन्ने सबैले मनन गरौं । यसैबाट बिग्रे भत्केको राष्ट्रको अनुहार सच्याएर भविष्यको मार्गचित्र कोरौं । विश्वका सफल राष्ट्रहरू पनि संवाद, सहमति र सहकार्यबाट अघि बढेका हुन्, यी विशेषता नारामात्र होइनन्, राष्ट्रका सामाजिक, आर्थिक र सांस्कृतिक उत्थानका आधारस्तम्भ पनि हुन् । यी आधार स्तम्भमा चुक हुँदा वर्तमान नेपालको स्थिति भयावह हुनपुगेको हो । यो सकसबाट निस्कने सुनौलो अवसर प्राप्त भएको छ, बिगतका गल्ती सच्याउने मौका मिलेको छ ।
संवाद सबै प्रकारका द्वन्द्वको पूर्व शर्त हो । सहकार्य बिना प्राकृतिक, जातीय, सांस्कृतिक, सामाजिक विविधता भएको मुलुक सहजरूपमा अगाडि बढ्नै सक्दैन । संवाद, सहकार्य र सहमतिबाट शान्ति प्राप्त हुनसक्छ, शान्तिबाट मात्र राष्ट्रिय जीवनका दीर्घकालीन प्रगति प्राप्त गर्न सकिन्छ ।
नेपालको अनुभव भनेकै दशकौं लामो हिंसात्मक द्वन्द्व र अस्थिरता हो । यसपछिको डेढदशकभन्दा लामो समय स्वार्थको प्रधानतामा बित्यो । जसका कारणले जनजीवन र राष्ट्रिय जीवन प्रभावित हुनपुग्यो । शासनसत्ता निरंकूश भयो, विधि बस्न सकेन, कुशासनले टाउको उठायो । जेनजी विद्रोहको आगो राजनीतिक अपराधिकरणको उपज बन्यो । अस्थिरता बढ्यो, अराजकताले सीमा नाघ्यो । पूर्वाधार निर्माण अस्तव्यस्त हुनपुग्यो । विकास निर्माणले गति लिनसकेन, अनियमितताले गति लियो । पद्धति आफ्नो लागि, संविधान र शासन आफ्नो लागि हो भन्ने भुइँमान्छेले अनुभव नै गर्न पाएनन् । संवाद, सहमति र सहकार्य भनेको ठूला दलकावीच मात्र भयो र उनीहरूले आलोपालो सत्ता चलाउने, भाग शान्ति जय नेपाल गरेर देश लुट्ने बदनाम गरिदिए । जनअपेक्षाको कदर हुनैसकेन । जनता र देशप्रति जवाफेदेही राजनीतिको नाममा अनियमिततामात्र भयो । यो स्थितिले अन्तर्राष्ट्रिय इज्जतमा समेत व्यापक धक्का लाग्न पुग्यो । नेपालको कूटनीतिक क्षमता र विश्वसनीयता नराम्ररी धरासायी हुनपुग्यो ।
अब संवाद, सहकार्य, सहमति जनसम्पर्कका विविध पक्षसँग, पार्टी, नागरिक समाज, जेनजी पुस्ता, बैदेशिक साझेदारहरूसँग हुनुपर्छ । यसैबाट शासन र जनता जोडिनसक्छन् । विकास र स्थिरता देखिन सक्छ । न्यायपूर्ण समाजको परिकल्पना पूरा हुनसक्छ । विविधता र बहुलतामा आधारित सहकार्यले नेपाललाई समावेशी राष्ट्र बनाउन सक्छ । वर्तमानको आवश्यकता र भविष्य निर्माणको योभन्दा उत्कृष्ट मोडल अर्को हुनसक्दैन ।


