
जनयुद्ध, जनआन्दोलनपछि गणतन्त्र ल्याएका हौं । गणतन्त्र विधिले चल्छ भन्ने कुरा भुल्यौं, विधिलाई कुल्चने काम गरिह्यौं, फलस्वरुप गणतन्त्र म¥यो । संविधान लेखियो, संविधानले व्यवस्था गरेको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबैतिर विधि मिचिदा यी सबै संवैधानिक निकायहरु मरे । संविधान कतै बाँकी छ भने कागजमा मात्र छ ।
जेनजी आन्दोलनपछि असंवैधानिक तरिकाले अन्तरिम सरकार बन्यो । यो सरकार बन्नुको कारण लोकतन्त्रमा विवेकहीनता हो । लोकतन्त्रमा विवेक भएको भए आन्दोलनबाट डराएर सरकार भाग्दैनथियो, संसद मर्दैनथियो, कानुनको यति दयनीय अवस्था हुने थिएन । जिम्मेवार मूलको हो, अर्थात् राजनीतिको हो । राजनीतिले विवेक गुमायो । अविवेकी बनेर कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकामात्र होइन, राज्यका समूल सञ्जालमा राजनीतिकरण हुनगयो । राजनीतिक व्यभिचार यसरी बढ्यो कि जता पनि अपराधबाहेक केही भएन । अविवेकी कार्यशैलीका कारण विधिको शासनको घाँटी निचोरियो र जेनजी पुस्ताले बिद्रोह गर्नुप¥यो ।
राजनीतिको संरक्षणमा शासन प्रशासन र कानुनविदहरूमा समेत विवेकहीनता बढ्दै गयो । २०६३ सालको परिवर्तनपछि राजनीतिक बाइफालाप्रवृत्ति बढ्दै गयो र सक्नेले जति भ्रष्टाचार गरे पनि हुन्छ भन्ने छाडापन नै स्थापित हुनपुग्यो । यथार्थमा शासक, प्रशासकहरु आफै नाङ्गिदै गए र विवेकहीन हौं भन्ने प्रमाण आफैले दिदैगए ।
बिमतिलाई बेवास्ता गरियो, असन्तोषलाई बिरोध ठानियो, अन्यायलाई स्वभाविक मानियो, सभ्यता र संसदीय मर्यादालाई भुलियो । अनि न्यायका सबै मानकहरू, मानवाधिकारका सबै सीमाहरू मिचेर अघि बढियो । जबरजस्ती लोकतन्त्र यही हो भनेर आफ्ना राजनीतिक दबाब र प्रभाव थोपरियो । त्यो नितान्त निन्दनीय र विवेकहीनता थियो । विधिको शासनको पक्षमा उभिनुपर्नेहरूले विधि मिचेर अघि बढ्नाले आजको अवस्था सिर्जना भएको हो । सिर्जनाकार, अतिवादी, आतंकवादी लोकतान्त्रिक भनिनेहरु थिए । आलोपालो शासन सत्ता चलाउनेहरु थिए । सडक तात्नु स्वभाविक थियो । ससाना आन्दोलन भइरहकै थिए, तिनलाई दबाउँदा दबाउँदै जेनजी आन्दोलन भयो, आन्दोलनले बिद्रोहको स्वरुप धारण ग¥यो । बिद्रोह हिंसामा परिणत भयो, सत्ताले रक्तपात मच्चायो, रक्तपातपछि आगजनी हुनपुग्यो । जेनजीको काँधमा आगजनी र लुटपाट मच्चाउनेहरुको घूसपैठ भएको थियो तर स्थापित राज्य र राज्यसंयन्त्रको भागाभाग भएपछि जे नहुनुपर्ने थियो भयो, जेनजीलाई लाभ नहुने र गर्नै नहुने घटनाहरु पनि हुनपुगे । यो घटनाक्रम सबैको जिम्मेवारी १७ वर्ष लोकतन्त्र चलाउनेले लिनुपर्छ ।
देश संकटमा पुग्यो, देशको अस्तित्व नै संकटमा पुगेको अवस्थामा पद्धति, नेता र अन्य विषय गौण हो । देश भए सबैथोक अटाउन सकिन्छ, देशै रहेन भने ? यो समय देशले, अस्तित्वले महत्व पाउनु पर्छ ।
आगामी दिनमा अराजकता र अस्थिरता रोकिनुपर्छ । रोक्ने सबैको प्रयासले हो । नेपाल हामी सबैको घर हो, घरमा शान्ति कायम गर्ने पनि हामीले नै हो । यसकारण सहमति, सहकार्य र संवाद पहिलो आवश्यकता हो । निषेध र विभेदको सोच त्यागौं । सबै राजनीतिक शक्ति एक हौं र विवेकी बनेर जेनजी पुस्ताको मागलाई संवोधन गरौं । यसका लागि जसले जे जति त्याग गर्नुपर्छ, गरौं । यही नै बच्ने र बाँच्ने अन्तिम सूत्र हो ।


