
२०४६ सालमा बहुदल आयो, त्यसपछिका दिन शुभरात्रि बन्न सकेनन् । त्यसपछिका १२ वर्षे बहुदल काललाई कालरात्रि बनाइयो । कलरात्रि बनाउने बहुदलीय नेता नै हुन् । तिनीहरू नै सत्ता सम्हाले, मनलागी गरे । यहाँसम्म कि सांसद किनबेच गर्ने, सांसद पद गर्लफ्रेण्डलाई उपहारमा दिने, छोरीलाई दाइजोमा दिने, मारवाडीलाई सात करोडमा बेच्नेसम्मका राजनीति गर्ने यिनै पार्टीहरू हुन् । अदालतमा ज्यानमारा मुद्दा परेको छ, मुद्दा किनारा नलाग्दै यिनीहरूले मुद्दालाई छायाँमा पारेर आफू सत्तामा पुगे । मन्त्री, प्रधानमन्त्री, सांसद, सभामुख समेत बने । रातो पासपोर्ट बेच्ने, पजेरोकाण्ड गर्ने, सांसदलाई किनबेच गर्न चीनसँग ५० करोड माग्ने, सांसदलाई थाइलेण्डकोरेडलाइट इलाकामा पु¥याउने पनि यिनै थिए । यिनैले २०६३ सालमा आन्दोलन गरेर जनयुद्धकारीसमेत मिलेर लोकतान्त्रिक गणतन्त्र ल्याए । जो नीतिहीन थिए, नैतिकहीन थिए, तिनैले नयाँ पद्धति ल्याएका हुन् ।
नयाँ पद्धतिमा नयाँ हुने कुरै थिएन । किनकि नेताहरू पुरानै थिए, तिनको पुरानै शैली थियो । आचरण भ्रष्ट थियो, सोच अपराधिक थियो । त्यसकारण त कम्युनिजमको नाममा, समाजवादको नाममा जसरी पनि पैसा कमाउनुपर्छ, परिवारवाद चलाउनु पर्छ भन्ने तिनीहरूको मानसिकता भयो । यसैको प्रतिफल हो, सत्तामा पुगेर अकुत सम्पत्ति भ्रष्टाचारबाट जोडेकाका सन्ततीहरू बेरोजगरा भए पनि सम्भ्रान्त जीवन बिताउन थाले । फरियावाद र नेपोबेबीइजम फस्टाउँदै गयो । केही युवा कुनै कामै नगरी यसरी सम्भ्रान्त बन्ने, अधिकांश युवा रोजगारीको खोजीमा बिदेश पलायन हुनुपर्ने । बिभेद, निषेध यसरी बढ्यो कि राजनीतिले समाजलाई नराम्ररी बिथोल्यो, असन्तुष्ट पा¥यो ।
एकातिर युवामाथि चोट, अर्कोतिर समाज बिथोल्ने, सत्तामा पुग्नेहरू भाग शान्ति जयनेपाल गरेर भ्रष्टाचार गर्दै जाने । अपराधमाथि अपराध गर्नेहरूलाई कुनै कारवाही नै नहुने । अनियमितता गर्ने, हत्यामा मुछिएका व्यक्ति मन्त्री भए । आतंक र ज्यान सजाय भोग्नुपर्ने बात लागेकाहरू नीतिनिर्माण तहमा पुगे । यस्ता व्यक्तिहरूले शान्ति र संविधानको महाभारत पर्वतजस्तो कर्तव्य पूरा गर्छन् भनेर जनताले विश्वास गरिरहे । बिगत १८ वर्षको लोकतान्त्रिक गणतन्त्रको समयले यिनको ल्याकत, ताकत र गलत सोचलाई प्रष्ट पारिसकेको थियो । निरन्तर सत्ताको राइँदाइँ गरेर बस्ने, यिनीहरू असक्षम हुन् भन्ने प्रमाणित भइसकेको थियो । जनता निराश, हतास र आक्रोसित बन्दै गएका थिए । जनताको निराशपन औडाह बाक्लिदै गएको थियो । देशका विभिन्न भागमा, बिभिन्न समूहले बिद्रोह गर्दै गएका थिए । तथापि पेलेरै र राज्य आतंक फैलाएर आफ्नो ब्रम्हलूटको साम्राज्य कायम गर्न सकिन्छ भन्ने विश्वास थियो, यी भ्रष्टाचारमा आहाल बसेका नेता, पार्टीहरूलाई ।
तर जेनजी पुस्ताले आन्दोलनको बिस्फोट गरिदिए । बिस्फोटबाट लाभा निस्कियो । लाभा अर्थात् आगो हो, जसले संसद, संविधान, सरकार, नेतागण, नागरिक समाज सबैलाई ढलाइदियो । जेनजीपुस्ताले गरे सक्ने रहेछन् ।
गत भदौ २३ र २४ गते नेपालको इतिहासमा एक युगमा आउने एक दिन थियो । त्यही दिनले युवा पुस्तालाई उठायो । राजनीतिले हा¥यो, कानुनव्यवस्थाले हा¥यो । गलत सोच हुनेहरू सबै हारे । जिते, जेनजी पुस्ताले जितेकै हो । त्यो जितले नयाँ नेपालको जग बसाल्न सक्नुपर्ने छ अब ।


