
राष्ट्र जनता हुन् । राष्ट्रभन्दा माथि कोही छैन । कोही हुनै सक्दैन । राष्ट्रको सम्मान नै राष्ट्रियता हो । नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन । बीपी कोइरालाले जे भनेका थिए, अन्ततः त्यही मोडमा देश आइपुगेको छ । प्रजातन्त्रवादी हुँ भन्ने सबैलाई चेतना रहोस्, सबैको बुद्धिबंगारो पलाओस् ।
बडादसैं २०८२ को अवसरमा पूर्वराजाले सन्देश दिए– देशभन्दा माथि कोही पनि छैन । जनताको अपेक्षा पूरा गरौं, सहमति संवाद र सहकार्य गरेर अघि बढौं । सार यही थियो । यो एकै वाक्यले वर्तमान लोकतान्त्रिक राजनीतिको आन्द्राभुँडी देखाइदिएको छ । बुझ्नेलाई भारी, नबुझ्नेलाई हनुमन्ते पारी भन्ने खालको यो सन्देशले राजनीतिमा ९ रेक्टरको भूकम्प नै ल्यायो । गत भदौ २३ र २४ को जेनजीको आन्दोलन र ७६ बढीको रक्तपातले त फेरि पनि सहमति, सहकार्य र संवादको राजनीतिभन्दा पर केही पनि छैन, केही पनि हुनै नसक्ने यथार्थ देखाइदिएको छ । जेनजीको मागलाई संवोधन गरेर अघि बढ्नु आजको आवश्यकता हो । जेनजीको त्याग र बलिदानको अपमान गरियो भने त्योभन्दा ठूलो राजनीतिक र प्रशासनिक भूल केही पनि हुनेछैन । जुन रक्तपात देखियो, त्योभन्दा कहालीलाग्दो स्थिति आउनसक्छ ।
बिस्तारै असफल र असक्षम नेताहरू जेनजी पुस्तालाई हेपेर बोल्न थालेका छन् । जो भागेका थिए, लुकेका थिए, टाउको उठाउन थालेका छन् । समयको भाषा किन बुझ्दैनन् शासक प्रशासकहरू । जो जुका हो, उसलाई रगत चुस्नमै मजा आउने रहेछ । कल्चौंडोमा बसेर दूध होइन, देश र जनताको रगत चुस्नेहरूले यस्तै गल्ती दोहो¥याए, अहंकार फुइँकी लगाए भने अर्को बिद्रोह निश्चित छ । जसरी कल्पनाभन्दा बाहिरबाट जेनजीको आन्दोलन भयो, त्यसैगरी अकल्पनीय तरिकाले अर्को बिद्रोह हुनसक्छ । आगोले केही नभन्ने रहेछ, खरानी बनाउने रहेछ भन्ने सबैले बुझ्नुपर्ने हो । भुइँमान्छेलाई यसैगरी हेप्ने र हेपेर अघि बढ्न खोजे अर्को डढेलो लाग्नसक्छ ।
आज ठूला पार्टी, संविधानको हालत, नेताहरूको स्थिति दयनीय भए पनि उनीहरू कार्यकर्ताको घेराबन्दीमा लुकेर कराएको सुनिन्छ, हाँसोको पात्र बनेको यिनलाई होसै छैन । नरम शैलीमा जेनजी पुस्ता देखा परेका छन् । यसमा टेकेर हरेक राजनीतिक शक्तिसँग सहकार्य गरेर मुलुकको अव्यवस्था हटाउनु र सुशासनको सुरूआत गर्नु उत्तम समय हो यो ।
जेनजी पुस्तादेखि राजासम्मले जे बोलेका छन्, माटो बोले, देश बोले, जनताको पीरमर्का र राष्ट्रको स्वाधीनता बोले । राजनीतिक पार्टीहरू अझै अहंकार देखाएर अराजकता सिर्जना गर्न खोज्छन् भने त्यो राजनीतिको अर्को दुर्भाग्य हुनेछ । संविधान छैन, संसद पनि छैन । त्यही संविधान र संसदको रटान लगाउन छोडेर युवापुस्ताले के मागेका छन्, त्यसतिर सबैको ध्यान जानुमा देश र जनताको भलो छ, पार्टीहरूको भलो हुनेछ । ०४६ को संविधान उत्कृष्ठ थियो, जसले बनायो उसैले च्याते । ०७२ को संविधानले काम गर्न सकेन, भ्रष्टाचारमात्र बढायो, जेनजी पुस्ताले च्यातिदिए । देशको अवस्था अराजकमय बन्दै गएको छ । देशलाई सुस्थिर बनाउने र सुशासनतिर डो¥याउने हो भने हरेक पार्टी र नेताले एक अवसर जेनजी पुस्तालाई दिनुपर्छ । जेनजी पुस्ताले गर्न खोजेको प्रयासमा सघाउनुहो बिकल्प छैन, यो बुझौं ।


