Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

एयरपोर्टभित्रै भैंसी आतंक

२७ सोमबार , असार २०७३१० बर्ष अगाडि

असार २५ गते एयरपोर्टको मूलगेटबाट भैंसी पस्यो। हवाईजहाज लेण्ड गर्ने र उड्ने एयरपोर्टमा भैंसी पसेको घटना, भैंसीले उधुम मच्चाएको घटना एयरपोर्ट प्रशासन, एयरपोर्ट सुरक्षा र विकासकर्मीहरुका लागि चानचुने विषय होइन। तर यो घटनालाई सामसुम पारियो। विकिनी किलर हुन् चार्ल्स सोभराज। नेपालको जेलमा लामो सजाय भोगिरहेका छन् र नेपाली युवतीसँग जेलमै विहे गरेर उनले अर्को चर्चा पनि बटुलेका हुन्। नेपालमा कडाइ कम, चर्चा बढी हुनेगर्छ। उनै सोभराजले भनेका थिए– नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउन सकिन्छ। एउटा तस्कर, हत्यारा, महिलाहिंस्रक व्यक्तिको यो कथन एयरपोर्टको मूलढोकाबाटै भैंसी पसेपछि सत्य सावित भएको छ। भैंसी पसेपछि यात्रु, सुरक्षाकर्मी, एयरपोर्ट र एयरलाइन्स कर्मचारीको भागम्भाग भयो। भैंसी नियन्त्रणमा लिन ओली सरकारको सुरक्षाकर्मीलाई घण्टौं लाग्यो। कस्तो कति सक्षम सुशासन रहेछ यो सरकारको?

अमेरिकाले भन्यो– नेपालको एयरपोर्टबाट आतंककारी पस्न सक्छन्। अर्को समाचार आयो– नेपालमा आइएसआइएसभन्दा आइएम (इण्डियन मुजाहिद्दीन) को खतरा बढी छ। अफगानिस्तानमा १३ नेपालीलाई आतंककारी मारे। बंगलादेशमा आतंकी हमला भयो। भारतमा आतंकीहरुको सञ्जाल साह्रै मजबुत छ। नेपाल र भारतको सीमा  खुला छ र कुनै पनि आतंकी सादा पोसाकमा कुनै पनि बेला नेपाल पस्न सक्छ र नेपालमा आतंक फैलाउन सक्छ। यो खतरा बढेको छ।

एउटा भैंसी एयरपोर्टको मूलढोकाबाट छिर्छ र नियन्त्रण गर्न कठिन पर्छ भने आतंकी हमला भयो भने नेपालको सुरक्षा व्यवस्थाको हालत के होला? यद्यपि सुरक्षाकर्मीको विशेष बैठकले एयरपोर्ट र अन्यत्र संवेदनशील क्षेत्रहरुमा कडाई सुरु गरिसकेको छ। तथापि एयरपोर्ट सबैभन्दा संवेदनशील क्षेत्र बनेको छ, भैंसी आतंकले नेपालको सुरक्षा व्यवस्था र प्रशासनलाई ठूलै सबक सिकाएको छ। भैंसीले आतंक फैलाएर साँच्चैको आतंककारी पस्यो भने के गर्ने? भनेर शिक्षा पनि दिएको छ। एउटा भैंसी आतंक नियन्त्रण गर्न सयौं सुरक्षाकर्मीले घेरा हाल्नुपर्‍यो र क्याफेभित्र छिरेको भैंसी नियन्त्रणमा लिन सफल भएको घटनाले नेपालमा आतंककारी घटनाको सम्भाबनालाई बढाएको देखिन्छ। यद्यपि नेपालका सुरक्षाकर्मी यति सबल र सक्षम छन् कि कुनै पनि अपराधीलाई मन, बचन र कर्मले पक्राउ गरौं भने सक्छन्। सुरक्षाकर्मीलाई बिगारेको राजनीतिले हो। सुरक्षा निकायमा राजनीति पसालेर र सुरक्षाकर्मी हातमा लिएर अपराध गर्न पल्केका आपराधिक राजनीतिकर्मीहरुले सुरक्षा निकायलाई साह्रै कमजोर पारिसकेका छन्। सुरक्षा निकायलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउने हो भने नेपालमा आतंकी हमलाको गुञ्जाइस अधिक भए पनि उम्कने सम्भाबना अन्यन्त न्यून छ। समस्याको जड खराव राजनीति र भारतसँगको खुला सीमा नै हो। यी दुबै रोगको निदान हुने हो भने भैंसीजस्तो कुनै पनि आतंकीले नेपालमा आतंक फैलाउन मुस्किलै पर्ला। यता सोच्ने कि?