
पद्धति भनेको लोकजीवन हुनुपर्छ, लोकले आत्मसात गरेपछि पद्धति लोकप्रिय हुन्छ, पद्धति हाँक्नेहरु पनि लोकप्रिय हुन्छन् । हाम्रो लोकतान्त्रिक गणतन्त्र न लोकतान्त्रिक बन्नसक्यो, न गणतन्त्रमा गण नै देखिए । गणतन्त्र दिवस वा लोकतन्त्र दिवस, जब कर्मचारी, शासनाधिकारी, सुरक्षा निकायले मात्र मनाउँछन्, बुझ्नुपर्छ, यो पद्धति जिवन्त छैन । हाम्रो पद्धति नामको लोकतान्त्रिक गणतन्त्र हो, व्यवहारमा पार्टीतन्त्र, नेतातन्त्र, बाहुबलीतन्त्र बन्नपुगेको छ । यसकारण यो पद्धति लोकलय बन्नसकेन ।
धेरैपटक प्रश्न उठिसकेको छ– यो लोकतान्त्रिक गणतन्त्र हो कि मंगलसेनतन्त्र ? अर्थात् यो पद्धतिमा जनताको समर्थन पातलिदै गएको छ । यो पद्धतिका विरुद्ध सडकमा नारा लागिरहेको छ, बिरोध भइरहेको छ । समर्थनमा कुनै जनता देखिदैनन्, बिरोधमा जनताको भीड लाग्ने गरेको छ । नेताहरु सुरक्षाकर्मीको घेराभन्दा बाहिर स्वतन्त्र भएर हिड्न सक्दैनन् । यो पद्धति राम्रो हो भनेर प्रमाणित गर्न सक्दैनन् । यो पद्धति आउँदा जनताको समर्थन थियो, अब त्यो समर्थन जनताको अविश्वासमा परिणत भएको छ । यो पद्धति ठूला पार्टीको जबरजस्तीमा चलिरहेको छ, तिनको राज्यसंयन्त्र दुरुपयोगमा चलिरहेको छ । जनताको आक्रोशलाई दबाएर यो पद्धति कति दिन चल्छ ? कि त नेताहरुले नैतिक हुन्छौं भनेर कबुल गर्नुप¥यो, व्यवहारमा इमान देखिनुपर्छ, अन्यथा यो पद्धति खिया लागेर झर्नेबाहेक अर्को बिकल्प छैन । प्रश्न के हो भने देश र जनताले कति महगो मूल्य चुकाउनु पर्ने हो ?
यही पद्धतिको जाँतोमा परम्परागत राजतन्त्र पिसिदै गएको छ । कठै पूर्वराजा, पर्व पर्वमा देशको भार उठाउने कुरा गर्छन्, पृथ्वीपथ देखाउँछन्, कोही टेर्दैनन् । पूर्वराजालाई पुर्षाको बिरासत, परम्परा जोगाउने दायित्वको भार छ, मानसिक मार र पारिवारिक भार पनि छ र भारबाट थिचिन्छन् । जनताको जयजयकारबाट उत्साहित हुन्छन्, सत्ता राजनीतिको पूर्वाग्रहको भयबाट मिचिन्छन् । पूर्वराजा बाहिर ननिस्कदा पुर्षाको सराप, निस्कदा पूर्वाग्रहको धराप । पूर्वराजा संवाद, सहमति, सहकार्यको प्रस्ताव गर्छन्, राजनीतिक नेताहरु त्यसलाई कमजोरी ठान्छन् र बेवास्ता गर्छन् । नेपालमा अब राजतन्त्र छैन, ज्ञानेन्द्र राजा नै होइनन् भन्ने भाष्य निर्माण गर्छन् । जनता सुनेर हाँस्छन्, प्रतिकार कसैले गर्दैनन् । पूर्वराजा ज्ञानेन्द्रलाई न गरिखानु, न मरिजानु, कस्तो धर्मसङ्कट ? मार त मार, ह्या मार भनेको यही हो ।
झण्डै २ दशक हुनलाग्यो । देशको बेथितिमा ‘मलाई दुःखी तुल्याएको छ’ भन्नुबाहेक बुढा राजाले गर्न के सक्छन् ? जनताले खोजे यहीँ छु भनेर बस्ने हो, बसेका छन् । जनताले खोजेका छन् तर असंगठित जनतालाई फुटाउ र राज गरको नीति लिएर ठूला दलहरुले हरेक पटक जनबिद्रोह, आन्दोलनलाई दबाइरहेका छ्न । नेपाली जनता, सन्तान त वीरका हुन्, तर अगुवा नेताको अभावमा आक्रोसित हुन्छन् र समयक्रममा चूपचाप बस्छन् । जनतालई कहिले पर्व लाग्छ, कहिले वर्षा लाग्छ, कहिले खेतीको समय हुन्छ, कहिले खेती भित्र्याउने समय । राजतन्त्र पुनस्र्थापना गर्छु भन्ने प्रतिज्ञा गर्नेहरु चक्रव्यूहमा पसेपछि फसिन्छ भन्ने वोध भएरै अभिमन्यूको नियति भोग्न तैयार नभएका हुनसक्छन् । यसकारण त कहिले सत्तामा जान्छन्, कहिले सत्ताधारीसँग कुम जोड्छन् । सत्ताको दमनको मौखिक बिरोध जनाउँछन्, परिणाम आउने गरी केही गर्न सक्दैनन् । राजा, हिन्दुवादी अथवा राजतन्त्रवादी जो हुन्, चक्रव्यूहमा पस्न सकिरहेका छैनन् । चक्रव्यूह तोड्ने तोड श्रीकृष्ण र अर्जुनमा मात्र थियो । वर्तमान राजनीतिको सन्दर्भमा न श्रीकृष्ण कतै देखिन्छन्, न अर्जुन ? शक्ति अग्रसर नभए कसरी पद्धति परिवर्तन हुन्छ ?